शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी सम्झौताको विरोधमा माघ २६ गते राजधानीमा जनप्रदर्शन

शनिबार, २२ माघ २०७८, २० : २८
शनिबार, २२ माघ २०७८

एमसीसी सम्झौता विरोधी विभिन्न राजनीतिक पार्टी र मोर्चाले माघ २६ गते राजधानीमा बृहत जनप्रदर्शन गर्ने भएका छन्  । राजधानीमा शनिबार आयोजित २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकले २६ माघको जनप्रदर्शनका विषयमा २४ माघमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने निर्णय समेत गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा भएको बैठकले ४ बुँदे निर्णय समेत गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरु : 
प्रेस–वक्तब्य
देहायमा उल्लेखित एम्.सी.सी.–सम्झौता बिरोधी राजनीतिक पार्टी, मोर्चा, अभियान र संगठनहरु तथा अन्य आमन्त्रित व्यक्तिहरुको संयुक्त बैठक रुद्रनगर (रातोपुल) काठमाडौंमा नेकपा (माले) का महासचिव सी.पी.मैनालीको अध्यक्षतामा सफलताका साथ सम्पन्न भयो । बैठकका महत्वपूर्ण निर्णयहरुलाई यस वक्तव्यबाट सार्वजनिक गरिएको छ :

(१) एम.सी.सी.–सम्झौतालाई संसदको हिउँदे अधिवेशनद्वारा अनुमोदित गराउनको निम्ति प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताधारी गठबन्धनभित्र चर्को दवाव दिइरहेका छन् । गठबन्धनका अन्य दलहरु त्यसका अघि झुक्न सक्ने र प्रधानमन्त्रीले आफ्ना शर्तहरुलाई मानेको खण्डमा प्रमुख प्रतिपक्षी पार्टी नेकपा (एमाले) ले पनि एम.सी.सी–सम्झौतालाई समर्थन गर्न सक्ने संभावना बढेको सन्दर्भमा उक्त सम्झौता बिरोधी जनमत र जनशक्तिलाई सशक्त र ब्यापक बनाउँदै त्यसको खारेजीको निम्ति संयुक्त बैठकका सहभागी दलहरुले यही माघ २६ गते काठमाडौंमा विशाल विरोधसभा र जनसभा गर्ने निर्णय गरेका छन् । 

(२) यसअघि नै उक्त दिन एम.सी.सी.बिरुद्ध प्रदर्शन र जनसभा गर्ने निर्णय गरिसकेका अन्य दल–समूह र दलका कार्यक्रमहरुसँग एकता र तालमेल मिलाउनको निम्ति बैठकले सी.पी.मैनालीको संयोजकत्वमा एउटा नौ सदस्यीय कार्यदलको गठन गरेको छ । यस कार्यदलले एम.सी.सी.सम्झौताको विरोध गर्ने अन्य संगठन र ब्यक्तिहरुलाई समेत २६ गते माघको विरोध प्रदर्शन र जनसभामा सहभागी गराउने गृहकार्य समेत गर्नेछ । यसले सहभागी दलहरुको सकृय सहयोगमा उक्त कार्यक्रमहरुको ब्यवस्थापन सम्बन्धी कार्यहरु पनि गर्नेछ ।

(३) संयुक्त बैठकले देशका संभव सवै प्रदेश–राजधानीहरु र जिल्लाहरुमा एम.सी.सी–सम्झौताको विरुद्धमा यस वैठकका सभागी पार्टी, मोर्चा, अभियान तथा संगठनले त्यहाँस्थित अन्य एम.सी.सी–सम्झौता विरोधी शक्तिहरुलाई समेत समेट्दै विविध कार्यक्रम गरुन् भनी निर्देशन गरेको छ ।

(४) एम.सी.सी–सम्झौताको भण्डाफोर गर्दै र त्यस बिरोधी २६ माघको जनप्रदर्शन तथा जनसभामा ब्यापक रुपमा सरिक हुनको निम्ति जनता समक्ष अपील गर्दै एम.सी.सी.–सम्झौता बिरुद्ध संयुक्त जनान्दोलनको तर्फवाट यही माघ २४ गते पत्रकार सम्मेलन गरिनेछ । धन्यवाद !

२२ माघ २०७८/काठमाडौं ।
           सी.पी.मैनाली
    महासचिव, नेकपा (माले)
       (बैठकको तर्फबाट)

बैठकमा सहभागी दलहरु
१. नेपाल कम्युनिष्ट पार्टी, २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. नेपालका लागि नेपाली पार्टी, ५. नेकपा (संयुक्त), ६. त्रिमूल नेपाल पार्टी,  ७. जनसमाजवादी पार्टी नेपाल, ८. नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), ९.नेकपा (मालेमा केन्द्र), १०. उन्नत लोकतान्त्रिक पार्टी, ११. देशभक्त जनगणतान्त्रिक मोर्चा, १२. राष्ट्रिय जागरण मंच,  १३. संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, १४. नेपालवाद पार्टी, १५. नेकपा (समाजवादी), १६. माओवादी कम्युनिष्ट पार्टी, नेपाल, १७. राष्ट्रिय जनमोर्चा केन्द्रीय संयोजन समिति, १८. एम.सी.सी.विरोधी अभियान, १९. पुष्पलाल अध्ययन समाज, २०. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, २१. एम.सी.सी.खारेज अभियान, २२. जन समाजवादी मंच, नेपाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप