बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कविता : म एक पेण्डुलम

शनिबार, २२ माघ २०७८, १३ : २०
शनिबार, २२ माघ २०७८

        
सँगै छोएको थियो
बिहानीको घामले क्षितिज
र, मेरो शिरले आमाको पाउ
करेसा नजिकैको रुखमा भएको
आफ्नो घर छोडेर
निस्किएका थिए एक जोडी ढुकुर
उसै गरी,
सँगै निस्किएको थिएँ
गुँड छोडेर म
उसै गरी,
सँगै निस्किएका थिए
आँखा छाडेर
केही थोपा आँसु ।
आज म
यो ठूलो सहरको घेराभित्रको
सानो डेरामा
घडीको पेण्डुलम झैँ

दायाँ–बायाँ गर्दै
भित्ताको ऐनामा हेरिरहेछु
पखेटा नभएको चराजस्तै
आफ्नो शरीर
गरिरहेछु आमामाथि झुटको खेती
मुटु निचोरेर दिइरहेछु
हरेक प्रश्नहरुको रेडिमेड जवाफ
 ‘सञ्चै छु’
 ‘खाना खाएँ’
मुटु निचोरेरै जोगाउनु छ
मेरो अस्तित्व
गला रोकेरै बनाउनु छ
आफ्नो पहिचान ।
गाडीको बाटो हुँदै
गाउँबाट मेरो नाममा
हरेक महिना आउँछ
पुरानो धानको चामल
र चामलसँगै आउँछ
केही नयाँ नोट
नोटको सङ्ख्याको एउटा सुई घटिरह्यो

मेरो स्वाभिमानको एउटा सुई बढिरह्यो
र, म पेण्डुलम जस्तै भइरहेँ ।
कसैले एउटा सानो बललाई
आफ्ना खुट्टाले निशाना लगाउँदा
लाग्छ, ती खुट्टाहरू मेरा भई दिउन्
सुन्दर कविता लेख्ने कलम मेरो भइदिओस्
चराले गाउने भाका मेरो भैदिओस्
घाम झुल्किएर उज्यालो मेरो भैदियोस्
जुन देखिएर शीतलता मेरो भैदियोस्
इन्द्रेणीमा मेरो रङ सजियोस्
कण कणमा आफ्नो अस्तित्व खोज्दै गर्दा
कोष कोषमा आफ्नो पहिचान खोज्दै गर्दा
म पेण्डुलम बनिरहेछु 
पेण्डुलम सिर्फ पेण्डुलम ।
यदि रोकियो भने घडी, बन्छ पेण्डुलम
घडीले समयलाई चिन्न छोड्छ
समयले घडीलाई बिर्सिन्छ
आजकाल
संसारबाट डाइनोसर हराएजस्तै
मुटुमै बसेको कोही हराएजस्तै
हराइरहेछन्

घडीबाट पेण्डुलम
तैपनि
म एउटा पेण्डुलम
उसैगरी दायाँ बायाँ गरिरहेछु
र, खोजिरहेछु आफ्नो पहिचान
खोजिरहेछु आफ्नो अस्तित्व
बनाइरहेछु जीवनको अर्थ
आधुनिकताले छोप्न नसकेको
म एक पेण्डुलम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप