आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बैतडीमा हिमपात प्रभाव : स्थानीय प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

शनिबार, २२ माघ २०७८, ११ : ०२
शनिबार, २२ माघ २०७८

लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।  बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ ।  

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।  

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकाहरूलाई बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ । यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले  चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो ।  हिमपातले  चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका १ मुस्याचौरका महेश भट्टले बताए ।  उनले भने, “वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ । बाहिर निस्कनै मुस्किल  भएको छ ।”

वर्षासँगै हिमपात भएपछि किसानहरू खुशी भएका छन् । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।  यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र  गत पुसमा पनि हिमपात भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप