शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्ड सीईओ रेग्मीले काट्छु भन्दै धम्की दिए : छानबिन समिति संयोजक

रेग्मी भन्छन् : नियोजित र संगठित आक्रमण भयो
शनिबार, २२ माघ २०७८, ०७ : ३७
शनिबार, २२ माघ २०७८

यतिखेर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी निकै विवादित छन् । गत कात्तिक २० गते लन्डनको वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) मा सहभागी भएर स्वदेश फर्कंदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच क्रममा लफडामा परेदेखि विवादित रेग्मीलाई छानबिन समितिले दोषी ठहर गरिसकेको छ । 

छानबिन उपसमितिका संयोजक चन्द्रप्रसाद रिजालले सीईओ रेग्मीले आफूलाई मार्ने र काट्ने धम्की दिएको बताएका छन् । आफ्नो नेतृत्वको उपसमितिले रेग्मीबारे जाँचबुझ गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आक्रोशित रेग्मीले आफूलाई ‘मार्छु, काट्छु, तँलाई देखाइदिन्छु,’ समेत भनेको रिजाल बताउँछन् ।

पर्यटन बोर्डको सीईओ भएपछि डा.रेग्मीले आफ्नो पदीय मर्यादा भुलेको, अवाञ्छित गतिविधिमा लागेको, भ्रष्टाचारमा लिप्त भएको र सुन तस्करीमा समेत नाम जोडिएको आरोप खेपेका छन् । तर, यो आरोप डा.रेग्मी मान्न तयार छैनन् । अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा आफू सीईओ नियुक्त भएकै कारणले अहिले गठबन्धन सरकारले आफूलाई लखेट्ने काम गरेको उनको आरोप छ ।

‘स्वच्छ तरिकाले पारदर्शी रहेर केही गरौं भन्दाभन्दै म माथि निरन्तर आक्रमणहरू भइरहेका छन् । किन यस्तो भइरहेको छ, मैले बुझ्न सकेको छैन । तर, राम्रो काम गर्दागर्दै पनि म माथि एकपछि अर्को यसरी नियोजित रूपमै संगठित आक्रमण भइरहनुलाई भने मैले राजनीति कारण बुझेको छु,’ डा.रेग्मीको भनाइ छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले र पूर्वमन्त्री योगेश भट्टराईबीच नै टकराव चलिरहेका बेला सीईओ रेग्मीप्रति समेत आले आक्रमक रहँदै आएका छन् । मन्त्री आलेले सार्वजनिक फोरमहरूमा नै रेग्मीप्रति कडा कटाक्ष गर्ने गरेका छन् । 

गत पुस १६ गते पर्यटन बोर्डको २३औं स्थापना दिवस कार्यक्रममा पुगेका मन्त्री आलेले सीईओ रेग्मीलाई ‘साँढे’सम्म भन्न भ्याए । रेग्मी स्वेच्छाचारी र घमण्डी भएको भन्दै मन्त्री आलेले उनीबाट पर्यटन बोर्ड चल्न नसक्ने बताए । 

तर, विमानस्थल विवादमा निलम्बनमा परेका सीईओ रेग्मी सोही दिन सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर बोर्डमा हाजिर हुन पुगेका थिए । यसले थप आक्रोशित बन्न पुगेका मन्त्री आले र सीईओ रेग्मी बीचको दूरि थप बढ्दै गयो । जुन विवाद एकपछि अर्को गर्दै झनै झाङ्गिएको छ ।

कसरी शुरू भयो आले र रेग्मीबीच टकराव ?

गत कात्तिक १७ गते मन्त्री आलेसँगै सीईओ रेग्मीलगायत केही निजी क्षेत्रका प्रतिनिधिहरू वर्ल्ड ट्राभल मार्ट (डब्लूटीएम) कार्यक्रममा सहभागी हुन लन्डन गएका थिए । उक्त कार्यक्रममा आफू जान नचाहँदा नचाहँदै पनि बोर्ड सीईओ रेग्मीले जबरजस्ती लगेको मन्त्री आलेको आरोप छ । उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेर गएपनि त्यहाँ आफूले बोल्न नपाएकोप्रति उनले आक्रोश व्यक्त गरे । रेग्मीले नै आफूलाई बोल्नु नपर्ने भन्दै झुक्याएको आलेको आरोप छ ।  

सोही कार्यक्रमबाट फर्किदै गर्दा सीईओ रेग्मी र त्रिभुवन विमानस्थलका कर्मचारीसँग लफडा भयो । रेग्मीले नियम विपरित बढी परिणाममा मदिरा (रक्सी) ल्याएको भन्दै अद्यागमनका कर्मचारीले रोकेपछि उनले थप्पड हाने । जुन, सीसीटीभी फूटेजमा पनि देख्न सकिन्छ । 

त्यसपछि विवादमा तानिएका डा.रेग्मी तर्फ मन्त्रालयको ध्यान तानियो । ड्यूटीमा रहेका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक छानबिन समिति बनायो । घटनाको छानबिन गर्न भन्दै सीईओ रेग्मीलाई निलम्बन गर्‍यो । उक्त घटनामा रेग्मी नै दोषी देखिएपछि उनलाई पाँच हजार रुपैयाँ जरिवाना गरियो । 

सोही घटनाका कारण निलम्बनमा परेका रेग्मीले आफूलाई ऐनविपरीत सरकारले निलम्बन गरेको भन्दै सर्वोच्चमा रिट दायर गरे । पुस १६ गते नै सर्वोच्चले पर्यटन मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्दै रेग्मीलाई तत्काल निलम्बन नगर्न आदेश जारी गर्यो र रेग्मी पुनः बोर्ड फर्किए । त्यसपछि मन्त्री आले र सीईओ रेग्मीबीच टकराव थप बढिरह्यो । 

आर्थिक अनियमिततादेखि सुन तस्करीसम्मका आरोप

विवादित सीईओ रेग्मी पुनः बोर्ड फर्किएसँगै मन्त्रालयले फेरि अर्को छानबिन समिति बनायो । मन्त्री आलेको निर्देशनमा पुस २ गते बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकतत्वमा तीन सदस्यीय जाँचबुझ उपसमिति बन्यो । उक्त उपसमितिको सदस्यहरूमा बोर्डकै सदस्य ङावा ङिमा शेर्पा र मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेल थिए । 

सो उपसमितिले रेग्मीको गलत गतिविधिको छानबिन गरेर माघ १७ गते पर्यटनसचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ । उपसमितिले बुझाएको उक्त प्रतिवेदनमा सीईओ रेग्मीलाई दोषी ठह¥याउन एक दर्जनभन्दा बढी कारण उल्लेख गरेको छ । 

यस्ता छन् दोषी ठहर्‍याउनुको कारण  

–    त्रिभूवन विमानस्थल अध्यागमन विवादमा रेग्मी नै दोषी देखिएको, 
–    आफ्नो काम, कर्तव्य र अधिकार, पदीय मर्यादा भुलेको,
–    बोर्डमा चरम आर्थिक अनियमितता गरेको देखिएको,
–    कर्मचारी कटौती तथा भर्तीमा आफूखुशी चलखेल गरेको र बोर्डलाई नोक्सान पुर्‍याउने काम गरेको,
–    विदेश भ्रमणमा सरकारीसँगै निजी क्षेत्रका प्रतिनिधिहरू लैजाने निश्चित मापदण्ड हुँदाहुँदै नियम मिचेर आफ्ना मानिसलाई मात्र लगेको, 
–    प्रदेश कार्यालय तथा बोर्डको गतिविधि विस्तारमा आफूखुशी निर्णय गरेको,
–    पर्यटन बोर्डको नीतिनियम तथा निर्देशन नमानेको 
–    सुन चोरी पैठारी सम्बन्धी मुद्दामा समेत फसेको आदि ।

‘रेग्मीले मार्छु र काट्छु भन्दै धम्की दिए’ : संयोजक रिजाल

पर्यटन बोर्डका उपाध्यक्षसमेत रहेका जाँचबुझ उपसमितिका संयोजक चन्द्रप्रसाद रिजाल सीईओ रेग्मीबाट आफूलाई धम्की आएको बताउँछन् । आफ्नो नेतृत्वको उपसमितिले जाँचबुझ गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आक्रोशित रेग्मीले आफूलाई मार्छु, काट्छु, तँलाई देखाइदिन्छु भन्दै धम्की दिएको उनले बताए ।

‘उहाँ यतिसम्म आक्रामक हुनुहोला भन्ने मलाई लागेको थिएन । हुन त पहिले नै उहाँले मलाई छानबिन समितिको संयोजक नबस्न भन्नुभएको थियो । तर मैले मानिनँ । सरकारले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मलाई लाग्यो र मैले त्यसै गरे । छानबिनमा पनि उहाँले हामीलाई असहयोग गर्नुभयो ।’ 

संयोजक रिजालले रातोपाटीसँग भने, ‘छानबिन गरिसकेर प्रतिवेदन बुझाएपछि एक्कासी सीईओ म माथि खनिनु भयो । तँलाई म देखाइदिन्छु भन्नुभयो । तँलाई दीर्घ प्रभाव पार्नेगरी मैलेपनि केही गरेर देखाइदिन्छु भन्नुभयो,’ उनले भने । 
तर, आफूले बोर्डमा बसेर अहिलेसम्म त्यस्तो नराम्रो काम नगरेको र अरूले हेरिरहेकाले आफूलाई कुनै समस्या नभएको रिजालले बताए ।

राजनीतिक टकरावकै उपज हो ?
रेग्मीले आफू अघिल्लो सरकारका पालामा नियुक्त भएकाले वर्तमान सरकारले राजनीतिक प्रतिशोध लिएर दुःख दिएको दाबी गरिरहेका छन् । विघटित नेकपा नेतृत्वको पूर्ववर्ती सरकारका पालामा रेग्मी बोर्ड सीईओ पदमा नियुक्त भएका थिए, जतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई थिए । 

आलेसँग टकराव गरिरहेका उनै भट्टराईका पालामा बोर्ड सीईओमा नियुक्त गरिएकाले हालका विभागीयमन्त्री प्रेम आलेले जसरी पनि रेग्मीलाई हटाउन लागि परेको विपक्षीहरूको आरोप छ । 

पूर्वमन्त्री भट्टराई र अहिलेका बहालवालामन्त्री आलेबीच जुन टकराव चलिरहेको छ : यसले पनि रेग्मी विवादमा मलजल भइरहेको जानकारहरू बताउँछन् । ‘तपाई मन्त्री हुँदा पर्यटन बोर्डमा सीईओ नियुक्त रेग्मीविरुद्ध विभिन्न आरोप लागेको छ । उस्तै परे रेग्मी बर्खास्तीमा पर्नेसम्म देखिन्छ । राजनीतिक प्रतिशोध साध्नकै लागि अहिलेको गठबन्धनको सरकारले यस्तो गरिरहेको हो ?’ भनी रातोपाटीले भट्टराईलाई प्रश्न गरेको थियो । 

भट्टराईले भने, ‘यो विषयमा मलाई प्रश्न नै नगर्नुस् । यसबारे मलाई केही भन्नु नै छैन । यो मेरो सरोकारको विषय होइन ।’ निकै आक्रोशित मुद्रामा उत्तर दिएका भट्टराईले अहिले आफू सो स्थानमा नभएको र उक्त मुद्दामा केही बोल्न पनि जरुरी नभएको उत्तर दिए ।

पूर्वसीईओ जोशी भन्छन् : ‘विवादले पर्यटन क्षेत्रलाई थप कमजोर बनाउँदैछ’

मन्त्रालय र बोर्डका उच्च पदस्थबीच भइरहेको टकरावले राम्रो नगरेको पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी बताउँछन् ।

‘अहिले पर्यटन मन्त्रालय र बोर्डबीच जुन टकराव चलिरहेको छ, यसले पक्कै पनि राम्रो गरेको छैन । राजनीतिक मुद्दा होस् या आर्थिक, कुनैपनि कोणबाट यो राम्रो होइन,’ जोशी भन्छन्, ‘अहिलेको कठिन परिस्थितिमा त सरकार र निजी क्षेत्र दुबै मिलेर जानुपर्ने हो । कोभिड–१९ को असर कसरी कम गर्ने र पर्यटन क्षेत्र चलायमान बनाउने भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने हो । तर, यसो भइरहेको छैन ।’

पर्यटन मन्त्रालय र बोर्डबीच बढेको दूरी र अविश्वासको वातावरणले अन्ततः पर्यटन क्षेत्र नै प्रभावित हुने जोशी बताउँछन् । यद्यपि, सीईओबारेको विवाद राजनीतिक नभएर व्यवहारिक भएको आफूलाई लागेको जोशीको भनाइ छ । 

नाकावन्दी र महाभूकम्पको बेलामा समेत आफूले पर्यटन बोर्डको कुशल नेतृत्व गरेको स्मरण गर्दै जोशीले अहिलेका सीईओबाट त्यो अपेक्षित काम हुन नसकेको जिकिर गरे । जोशीले सन् २०१५ डिसेम्बरदेखि २०२० जनवरीसम्म पर्यटन बोर्डको नेतृत्व गरेका थिए ।

यस्तो छ छानबिन समितिको प्रतिवेदन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप