कथा : बदला
कंगालकोट डाँडोमा समृद्धदेव नाम गरेका एकजना धनी साहु बस्थे । उनी त्यहाँका हर्ताकर्ता थिए । त्यसै डाँडोमा दरिद्रनाथ नाम गरेका अर्का मान्छे पनि बस्थे । दरिद्रनाथ कंगालकोटको आवाज बोल्थे, त्यहाँको एक एक समस्या प्रस्तुत गर्थे । एक किसिमले कंगालकोटका जनताका प्रतिनिधि थिए उनी । समृद्धदेवको साहुगिरीका असल र खराब पक्ष केलाइदिन्थे । वास्तवमा समृद्धदेवको साहुगिरीमा असल पक्ष शिला खोज्नुपर्ने अवस्थामा थियो भने खराब पक्ष यत्रतत्र ।
दरिद्रनाथका आलोचनात्मक कुरा समृद्धदेवलाई निकै बिझाउँथ्यो । नबिझाओस् पनि किन ? कंगालकोटबासीलाई भ्रमको पर्दामा राख्न सफल उनको भ्रमको त्यो पर्दा दरिद्रनाथले बेलाबखत च्यातचुत पारेर उधारिदिन्थे । त्यसैले उनी दरिद्रनाथलाई देख्न सक्दैनथे । खेदो खन्थे, उछित्तो काढ्थे, सत्तोसराप गर्थे । छुद्र छुद्र गाली बर्षाउँथे । दरिद्रनाथसंग भेटै गर्नु नपरोस् जस्तो गर्थे । भेट गर्न समय मिलाए पनि स्थगित गरिदिन्थे । अर्कोतिर दरिद्रनाथ भने समृद्धदेवप्रति वैरभाव राख्दैनथे । समृद्धदेवसँग भेटेर भलाकुसारी गर्न, वादविवाद गर्न खूब रहर गर्थे । समय मिलाउँ भन्थे अनि मिलाएको समयमा कुनै हालतले पनि पुग्थे ।
यत्तिकैमा एकदिन अकस्मात समृद्धदेवले दरिद्रनाथलाई मारिदिए । कंगालकोटवासीहरूलाई सगर्व बताए, ‘मैले दरिद्रनाथलाई मारिदिएँ । किनभने उसले जहिल्यै गाउँको कुभलो मात्र चितायो । सहयोग त परको कुरा, मेरा हरेक काममा भाँजो हाल्यो । मेरो आलोचना मात्र गर्यो । मलाई चैनले बस्नै दिएन । मलाई कंगालकोटको अधिपतिबाट हटाउन खोज्यो ।’
यो हत्याको विरोधमा आवाज उठ्यो । तर मैले ठीक गरें भन्दै त्यो भन्दा चर्को र ठूलो आवाज साहु आफैंले उठाए, उठाउन लगाए ।
....
अचम्म भयो, केही महिना पछि मारिएका दरिद्रनाथ अचानक बाँचेर आए । ‘बाँचेर आइयो, नयाँ जीवन पाइयो’ भन्दै बदलाको भाव दरिद्रनाथले रत्तिभर राखेनन् । दरिद्रनाथ यसरी बाँचेर आएको देखेर समृद्धदेवको सातोपुत्लो उड्यो । उनी आक्रोशमा आए, भयले ग्रस्त भए, चिन्ताले विचलित भए । बदला लिन आउने पो हो कि भनेर काम्न थाले । जिन्दगी यति नै रहेछ भन्दै निक्कै डराए । यति डराए कि राती सुत्दा पलङको एकछेउमा बन्दुक र अर्को छेउमा खड्ग राखेर सुत्न थाले । राती दिसापिसाब लागे कोठाभित्रै कोपराको व्यवस्था गरे । झ्यालढोकाका चुकुल र आग्लोहरू पूरापूर मर्मत गराए । खुल्लै राखिएका झ्यालहरूमा मोटा मोटा फलामका रड राख्न लगाए । दिउँसो पनि उनी आफ्ना शुण्डमुण्ड र चुल्ठेमुन्द्रेहरूबाट घेरिएर खड्ग र बन्दुक बोकेर हिँड्न थाले । कुनै पनि बेला मेरो हत्या हुन सक्छु भन्दै भयभित हुँदै कंगालकोटबासी माझ अलौना विलौना गरे । साहूजीको रातको निद र दिनको भोक दुबै हरायो । उनी एक किसिमका मनोरोगी जस्तै बने ।
एक दिन होइन, दुई दिन होइन, सधैंभरी यसरी भयभित भएर कसरी बाँच्नु ? यही ताल रहिरहे साहुजीले आफू छिट्टै परमधाम हुने आँकलन गरे । उता दरिद्रनाथ भने यो जिन्दगी नाफाको हो भन्दै बाँकी जीवनलाई समाजसेवामा लगाउन थालिसकेका थिए । सदाझैं कंगालकोटका कंगालहरूको आवाज बोल्न थालिसकेका थिए । उनको प्राथमिकता जति बाँचिन्छ, साहुजीसंग बदला लिनुभन्दा कंगालकोटको सेवा गरेरै बाँचौं, अकालमा नमरौं, कालगतिले नै मरौं भन्ने थियो । उनलाई थाहा थिएन कि उनको यो उपस्थिति नै साहुजी प्रतिको ठूलो बदला हो भन्ने कुरा आफूले नचाहँदा नचाहँदै यति ठूलो बदला उनले लिइरहेका थिए, बाँचेर आएका दरिद्रनाथको हरेक गतिविधि समृद्धदेवलाई शंकास्पद लाग्थे । नलाग्ने कारण पनि थिएन । आफैंले हत्या गरेको मान्छे आफ्नै अगाडि सशरीर आएर यसरी प्रस्तुत हुन्छ कि मानौं केही भएकै छैन ।
अब समृद्धदेवको एउटै ध्याउन्न कसरी हुन्छ, दरिद्रनाथलाई फेरि सिध्याउने रहन गयो । दरिद्रनाथलाई नमारी आफू बाँच्ने संभावना देख्दै देखेनन् उनले । फलतm अनेक तिकडम लगाएर समृद्धदेवले दरिद्रनाथको फेरि हत्या गरेर खोलामा फाल्दिए । कंगालकोटका अधिपति, समृद्धशाली साहुजीले यति गर्न गाह्रो थिएन । र, साहुजीको हिसाबमा त अनौठो पनि थिएन, गैरकानूनी त झन छँदै थिएन । किनभने उनको विधिशास्त्र नै विचित्रको थियो ।
फेरि पनि गाउँलेहरूलाई सगर्व बताए कि मैले दरिद्रनाथलाई फेरि मारिदिएँ । अत्याचार भो भन्ने आवाज पहिलाको झैँ उठ्यो । तर जे भएको छ, न्यायसंगत भएको छ भन्दै त्यो भन्दा चर्को आवाज साहुजी आफैंले फेरि पनि उठाए, उठाउन लगाए ।
दरिद्रनाथलाई दोहोर्याएर मारे पनि उनी चैनसँग बस्न भने सकेनन् । रातभरी छट्पटिन्थे, दिनभरी के के हो के के बर्बराउँथे । कहिलेकहिं मैले मारेको होइन, आफैं आत्महत्या गरेको हो दरिद्रेले भन्दिन्थे ।
फेरि अचम्म भयो । दोस्रोचोटी हत्या गरेर फालिएका दरिद्रनाथ फेरि पनि बाँचेर आए । फेरि पनि गाउँमै रहन, बस्न थाले । उनको अन्त जाने ठाउँ पनि थिएन । पहिलेकै जस्तो उनी सामान्य नै देखिए । बदलाको भाव फेरि पनि राखेनन्, देखाएनन् ।
उनी बाँचेर आएको सनसनी खबर गाउँभरी फैलियो । समृद्धदेवको कानमा पनि पुग्यो यो खबर । एकछिन त पत्याउनै गाह्रो भो उनलाई । तर नपत्याई सुखै थिएन, वास्तविकता यही थियो । फेरि उनी असन्तुलित भए । जे मन लाग्यो, त्यही बोल्न थाले । जसलाई मन लाग्यो, त्यसलाई गाली गर्न थाले । दुई दुई पटक आफैंले हत्या गरेर पनि बाँचेका दरिद्रनाथको उपस्थितिले समृद्धदेवलाई बनाउनसम्म विचलित बनायो ।
दुबैलाई संगसंगै राखेर हेर्दा मरेर बाँचेको जस्तो चाहिँ समृद्धदेव देखिन्थे । दरिद्रनाथ चाहिँ स्वस्थ देखिन्थे । समृद्धदेव बेपत्तै असन्तुलित देखिन्थे भने दरिद्रनाथ सामान्य नै देखिन्थे ।
समृद्धदेव दरिद्रनाथको फेरि हत्या गरेर आफैं उनको सद्गति गर्न चाहन्थे ताकी फेरि बाँचेर नआओस् र भयरहित जीवन बाँच्न पाइयोस् । तर अब यो सम्भव थिएन । त्यो शक्ति, क्षमता, तागत उनीसँग थिएन । किनभने उनको साहुगिरी सकिएको थियो । अर्थात् उनको हातबाट कंगालकोटको बागडोर फुत्किइसकेको थियो । हत्या गरिहाले पनि पहिलाको जस्तो उन्मुक्ति पाउने संभावनै थिएन ।
त्यसैले बचेखुचेको शक्ति र सम्पत्तिले समृद्धदेव कसरी हुन्छ दरिद्रनाथलाई दुःख दिन थाले, सताउन थाले, पिरोल्न थाले । ताकी दरिद्रनाथले गाउँ छोडोस् वा आत्महत्या गरोस् अथवा उनलाई नयाँ जिन्दगी वाइयात लागोस् ।
दरिद्रनाथको बाँकी जिन्दगी बेकार हो भनेर प्रमाणित गर्नलाई कुनै कसर बाँकी राखेनन् समृद्धदेवले । त्यही प्रमाणित गर्न समृद्धदेवका शुण्डमुण्ड र चुल्ठेमुन्द्रेहरू दरिद्रनाथको घरमा पुगेर कहिले खाना खान लागेको बेलामा भातको भाँडोमा गोबर मिसाइदिन्थे त कहिले दरिद्रनाथको पानीको पाइप काटिदिन्थे । कहिले खेतमा पानी जाने कुलो भत्काइदिन्थे भने कहिले पाकेको बालीमा चौपाया लगाइदिन्थे । भर्खर रोपेको धान उखेलेर फाल्दिने देखि लिएर ढिकी जाँतोमा मलमुत्र राखिदिने सम्मका हर्क गरे । यस्ता अनेक हर्कत गर्थे अनि भन्थे, ‘देख्यौ त गाउँलेहरू हो । त्यसले बाँच्नुको कुनै अर्थ छ त ?’ दरिद्रनाथ बाँचेर आएको बदला समृद्धदेवले यसरी लिंदै रहे ।
तर दरिद्रनाथ टसको मस भएनन्, सहँदै गए । उनका नजिकका मान्छेहरूले बेलाबेलामा भन्थे, ‘यो समृद्धेलाई तह लगाउनै पर्छ अब त ।’
जवाफमा दरिद्रनाथ भन्थे, ‘दुई दुई चोटी मार्दा त नमरेको म । त्यसले कति दुःख दिन सक्छ, देओस् । के को बदला लिएको हो, लेओस् । हेर्दै जाउँ न । एकदिन त्यो आफैं पतन भएर जानेछ ।’ त्यसैले उनी बदला नलिने सोचमा अडिग रहे, कुनै उजुरबाजुर गरेनन् ।
नभन्दै दरिद्रनाथलाई यसैगरी दुःख दिंदादिंदै, बदला लिंदालिंदै समृद्धदेवको बाँकी शक्ति, सम्पत्ति र विश्वसनीयता पनि स्वाहा भयो । कंगालकोटबासीले उनलाई गन्नै छाडे । तर, यसको उनलाई रत्तिभर परवाह थिएन । यत्तिकैमा उनी असिना विलाएझैं विलाएर गए । ‘कंगालकोटमा समृद्धदेव विलाए झैं नबिलाउनु’ भन्ने टुक्का नै बन्यो, जो अहिले पनि लोकप्रिय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?