बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

दिल्लीमा ४८ दिनदेखि बन्धक महिलाको उद्धार

विदेश पठाइदिन्छु भन्दै लिइएको थियो २ लाख २० हजार
शनिबार, २२ माघ २०७८, ०६ : ५२
शनिबार, २२ माघ २०७८

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको उद्धार गरिएको हो । 

मोरङ स्थायी घर भएकी महिलालाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै मोरङ र दिल्लीमा रहेका दलालले उनलाई दिल्ली पुराएका थिए । महिलासँग दुई लाख २० हजार रकम लिए पनि उनलाई विदेश नपठाइ दिल्लीकै एक घरको कोठामा बन्धक बनाइएको थियो । महिलाका आफन्तले उद्धारका लागि आग्रह गरेपछि उनको बिहीबार उद्धार गरिएको हो । यतिबेला महिलाको स्वास्थ्य परीक्षण लगायत कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दिल्लीस्थित नेपाली दूतावासले बताएको छ । 

मोरङकी सुष्मा यसरी पुगिन् दिल्लीसम्म 
मोरङकी सुष्मा निरौला (नाम परिवर्तन) एकल महिला हुन् । श्रीमानसँग सम्बन्ध विच्छेद गरी एक छोरीसँग माइतीमै बस्दै आएकी सुष्मा बेरोजगार थिइन् । कहिलेकाहीँ तरकारी तथा सरसामान किन्न उनी हटियामा जाने गर्थिन् । त्यसै क्रममा सुष्माको भेट भयो, चौधरी दिदीसँग । 

सुष्मालाई ती महिलाको पूरा नामसमेत थाहा थिएन । सुष्माले उनलाई चिनेको चौधरी दिदीकै नामले हो । बारम्बारको भेटघाटका क्रममा सुष्माले चौधरी दिदीसँग कतै काम गर्न पाए पनि हुन्थ्यो भन्ने कुरा राखिन् । चौधरी दिदीले नेपालमा भन्दा पनि विदेशमा गएर काम गरे धेरै पैसा कमाउने आश्वासन दिइन् । अनि सुष्माले पनि राम्रो आम्दानी हुने देशमा काम पाए जाने चौधरी दिदीलाई सुनाइन् । 

चौधरी दिदीले दिल्लीमा एकजना आफ्नो चिनजानको व्यक्ति भएको र उनले दुबई पठाउने गरेको भन्दै सुष्मालाई दिल्लीमा रहेका नेपाली दलाल शम्भुको सम्पर्क नम्बर दिइन् । 

सुष्मालाई शम्भुको पुरा नाम र थरसमेत थाहा थिएन । तर शम्भुसँगको कुराकानीपछि एक लाख रुपैयाँले दुबई जान पाउने र राम्रो आम्दानी हुने कुरामा सुष्मालाई विश्वस्त पारियो । अनि एक लाख रुपैयाँ लिएर दिल्ली आउन सुष्मालाई भनियो । 

एक छोरीकी आमा सुष्मा वैदेशिक रोजगारीका लागि दुबई जान तयार भइन् । तर एकल महिला एक्लै एक लाख रुपैयाँ बोकेर दिल्ली जान अप्ठेरो हुने भएपछि उनले नेपालमै कसैलाई एक लाख रुपैयाँ बुझाउने कुरा गरिन् । त्यसपछि दिल्लीमा रहेका शम्भुले मोरङकै बैंकमा खाता रहेको उर्गेन भन्ने व्यक्तिको नाम र बैङ्क खाता नम्बर दिए । सुष्माले उर्गेनको नाममा एक लाख रुपैयाँ डिपोजिट गरिन् र पुस २ गते दिल्ली लागिन् ।

शम्भुले ६ दिनमा दुबई उडाइदिन्छु भनेर बोलाए पनि सुष्मालाई ५ दिनमा दुबई पठाएनन् । बरु थप एक लाख २० हजार रुपैयाँ मागे । सुष्माले नेपालमै रहेका आफन्तमार्फत थप एक लाख २० हजार रुपैयाँ उर्गेनको बैङ्क खातामा डिपोजिट गरिदिइन् । 

तर दुई लाख २० हजार रुपैयाँ डिपोजिट गरे पनि शम्भुले सुष्मालाई दुबई पठाएनन् । कहिले के त कहिले के भनेर सुष्मालाई झुलाइरहे । बरु करिब १५ दिनपछि सुष्मालाई कसैसँग बोल्न नदिई दिल्ली न्यु फ्रेण्डस् कोलोनीको एक घरको तेस्रो तलामा बन्धक बनाएर राखियो । सुष्मालाई बाहिरका मानिससँग बोल्न र कुराकानी गर्न तथा घरबाट बाहिर निस्कनसमेत प्रतिबन्ध लगाइयो । बरु कहिले पठाउने हो भन्दा शम्भुले उल्टै थर्काउन थाल्यो । त्यसपछि त्यही फ्ल्याटमा उर्गेन भन्ने व्यक्ति पनि आएर सुष्मालाई उल्टै धाकधम्की दिँदै आफ्ना केटीहरू एअरपोर्टबाट फिर्ता भएको भन्दै त्यसको रिस सुष्मामाथि पोख्न थाल्यो । शम्भु र उर्गेन भएर आफूमाथि विभिन्न मानसिक यातना दिएको, राम्रोसँग खाना नदिएको र धाकधम्की दिएको सुष्माले उद्धार टोलीसमक्ष बताएकी छिन् । 

यता लामो समयसम्म पनि सुष्मासँग सम्पर्क नभएपछि आफन्तले सुष्माको खोजी गर्न थाले । जसको बैङ्क खातामा रकम डिपोजिट गरिएको हो, उनलाई समेत सम्पर्क गदै सुष्माबारे सोधिखोजी गरियो । ती दलालहरूले दुबई जाने प्रक्रियामा रहेको र छिटै हुने आश्वासन मात्रै दिइरहे । 

यता सुष्मामाथि बारम्बार धम्की र मानसिक यातना दिएपछि सुष्माले टेलिफोनको माध्यमबाट त्यसको जानकारी नेपालमा रहेका आफन्तलाई दिइन् । अनि श्रम मन्त्रालयले खोलेको हटलाइनमा पनि यसबारे उजुरी गरिन् । आफू दिल्लीमा बन्धक भएको भन्दै उद्धारका लागि पहल गरिदिन आग्रह गरेपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सम्बन्धमा सम्पूर्ण विवरण, बन्धक बनाउने व्यक्तिको नाम र ठेगाना दिल्लीस्थित नेपाली दूतावासमा पठाएर तत्काल उद्धार गर्न निर्देशन दिए । श्रम मन्त्रालयबाटै निर्देशन आएपछि दूतावासले उद्धारका लागि पहल गर्‍यो । 

त्यसपछि दिल्लीस्थित दूतावासले महिला तथा बालबालिकाको खोजतलास र उद्धारमा संलग्न संस्था कीन इण्डिया, दिल्ली महिला आयोग र दिल्ली प्रहरीसँग समन्वय गर्दै बिहीबार बिहान सुष्माको उद्धार भयो । बिहीबार बिहान सुष्मा र सुष्मालाई बन्धक बनाउने शम्भु भन्ने व्यक्तिलाई दिल्लीको फ्रेण्डस् कोलोनीको एक घरको तेस्रो तलाबाट उद्धार गरिएको कीन इण्डियाका प्रतिनिधि नवीन जोशीले रातोपाटीलाई बताए । 

प्रारम्भिक अनुसन्धानका क्रममा सुष्मालाई बन्धक बनाउने शम्भु भन्ने व्यक्ति नेपाली दलाल रहेको र निजले उर्गेनको सहयोगमा नेपाली महिलाहरूलाई दिल्लीको बाटो हुँदै विभिन्न देशमा पठाउने गरेको पाइएको छ । यसअघि नै नेपाली दूतावासमा शम्भु र उर्गेनले नक्कली नो अब्जेक्सन लेटर (एनओसी) बनाउने गरेको भन्दै उजुरी परेको र उनीहरु दूतावासको निगरानीमा रहेको दिल्लीस्थित दूतावासले बताएको छ । उनीहरूले नक्कली एनओसी बनाएर दिल्लीको बाटो हुँदै नेपाली महिलाहरूलाई विभिन्न खाडी मुलुकमा पठाउने गरेको पाइएको छ । 

३२ वर्षीय सुष्मा यतिबेला दिल्लीस्थित महिला आयोगको संरक्षणमा छिन् । कानुनी प्रक्रिया पूरा गरेर उनलाई नेपाल पठाउने तयारी भइरहेको कीन इण्डियाका प्रतिनिधि नवीन जोशीले बताए । दिल्लीमा नेपाली महिलालाई बन्धक बनाउने शम्भु तथा उर्गेनको विषयमा छानबिन भइरहेको र कानुनी कारबाहीका लागि एफआइआर दर्ता गर्ने प्रक्रियामा रहेको जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप