बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पदाधिकारी चयन गर्न प्रचण्ड परामर्शमा, को बन्ला महासचिव ?

शुक्रबार, २१ माघ २०७८, १७ : ०९
शुक्रबार, २१ माघ २०७८

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय समिति बैठकअघि पार्टीका केन्द्रीय पदाधिकारी र अन्य कमिटीमा सहमति जुटाउन नेताहरूसँग परामर्श गर्ने भएका छन् । त्यसका लागि प्रचण्डले मुख्य गरी अर्का नेता नारायणकाजी श्रेष्ठसँगको छलफललाई प्राथमिकतामा राखेका छन् । त्यो बाहेक अन्य केन्द्रीय सदस्य र सहयोद्धाहरूसँग राय सुझाव लिइरहेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । उनले सहमतिबाटै पदाधिकारी चयन गर्ने तयारीमा अध्यक्ष प्रचण्ड रहेको भन्दै त्यसको गृहकार्यमा अध्यक्ष प्रचण्ड जुटेको जानकारी पाएको बताए । ‘अहिलेसम्म सहमतिकै लागि प्रयास भइरहेको छ’, सापकोटाले भने, ‘सहमतिबाटै अघि बढ्नुपर्छ भन्ने धेरै केन्द्रीय सदस्यको भनाइ छ, नभए मतदानमा जाने अर्को विकल्प पनि खुला नै छ ।’

प्रचण्डको निजी सचिवालयले पनि सामान्य राय सुझाव लिने क्रम निरन्तर भइरहेपनि ठोस छलफल हुन बाँकी रहेको जनाएको छ । ‘केन्द्रीय समिति बैठक लगायतका विषयमा नेताहरूसँग आजभोलि भित्र नै अध्यक्षले छलफल थाल्ने कुरा बुझिएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए ।  

सो पार्टीको गत पुस १८ गते सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्षमा चयन गरेको थियो । त्यसबेला नेता वर्षमान पुन चीनमा उपचाररत रहेकाले उनी स्वदेश फर्केपछि बस्ने अर्को बैठकले अन्य पदाधिकारी चयन गर्ने माओवादीले घोषणा गरेको थियो । तर, पुस २५ गतेलाई बोलाइएको दोस्रो बैठकमा नेता पुन नफर्किसकेको र कोरोना सङ्क्रमणबाट शीर्ष नेता नै पीडित हुन थालेपछि बैठक सारेर माघ ८ लाई पुर्‍याइएको थियो । उक्त मितिमा समेत बैठक बस्न सकेको थिएन । नेता पुन गत माघ १० गते स्वदेश फर्किसकेका छन् । नेता पुनले स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटे स्वीकार्ने र मतदान भए आफूले महासचिवमा उम्मेदवारी दिने बताइसकेका छन् ।

महाधिवेशनयता कोरोना, चुनाव, एमसीसी लगायतले पार्टी संगठनमा खासै समय दिन नपाएका प्रचण्डले अबको केही दिन पार्टीलाई समय दिन लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो  । ती  मध्येबाट माओवादीले अध्यक्ष, वरिष्ठसहित ७ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्षसहित १५ सदस्यीय रहने व्यवस्था छ । केन्द्रीय पदाधिकारी, स्थायी समिति, र पोलिटब्युराे  गठन गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई छ ।

नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आगामी बैठकमार्फत केन्द्रीय पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युराे कमिटि गठन हुने जानकारी दिए । उनले बैठकको तयारी भइरहेको भन्दै कोरोना सङ्क्रमणलाई ख्याल गरेर बैठक बस्ने बताए ।

‘बैठकको तयारी भइरहेको छ । तर कोभिडको अवस्था के रहन्छ, त्यसमा पनि भर पर्न सक्छ’, कार्यालय सचिव ढकालले भने, ‘एकातिर कोभिड सङ्क्रमण अर्कोतिर सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने प्रावधान तोकेकाले त्यसलाई समेत मध्यनजर गर्नुपर्ने अवस्था छ । फेरि हाम्रो पार्टी त सत्तारुढ नै भएकाले मापदण्ड उल्लङ्घन गर्न पनि मिलेन ।’

ढकालले कोरोना सङ्क्रमणलाई मध्यनजर गरेर बैठक केही दिन पर सर्न सक्ने आङ्कलन गरे पनि अर्का नेता शक्ति बस्नेतले माघ २७ मै बैठक बस्ने दाबी गरे ।

‘अहिलेसम्म सर्ने वा स्थगित हुने कुनै सूचना छैन’, बस्नेतले शुक्रबार रातोपाटीसँग भने, ‘अझै एकसाता जति समय छ त्यसबेलासम्म कोरोना पनि घट्ला ।’

महासचिवमा पुन र शर्मा कसले मार्लान् बाजी ?

नेकपा माओवादी केन्द्रमा महासचिव पदका लागि दुई जना बलिया दाबेदार देखिएका छन् । सुरुमा महासचिवको आकाङ्क्षीमा धेरै नेताहरू देखिए पनि पछिल्लो समय खासगरी वर्षमान पुन र जनार्दन शर्मा महासचिवको दावेदारीबाट पछि हटेका छैनन् । महासचिवमा दाबी गरिरहेका पुन र शर्मा अध्यक्ष प्रचण्डका विस्वासपात्र समेत मानिन्छन् । दुवैलाई सहमतिमा ल्यउन प्रचण्डले प्रयास गरिरहेका छन् । तर दुवै नेता आफ्नो अडानबाट पछि हटिनसकेकाले उनीहरुलाई मनाउने प्रयास जारी रहेको खुमलटार स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड मतदान गर्नुभन्दा सहमतिमै पदाधिकारी र प्याकेजमा स्थायी कमिटी र पोलिटब्युरो चयन गर्न चाहन्छन् । त्यसका लागि उनले नेता नारायणकाजी श्रेष्ठसँग हाइकमाण्डको सहमति गर्नेछन् । ‘सहमतिमै भए राम्रो भन्ने अध्यक्षको बुझाई छ । तर सहमति जुट्नै सकेन भने मतदान हुने त स्वाभाविक भयो तर मेरो बुझाइमा पदाधिकारी सहमतिबाटै चयन हुन्छ’, प्रचण्ड निकट मानिएका नेता शक्ति बस्नेतको भनाइ छ । अर्का एक नेता भन्छन्, ‘पहिला नेकपामा ओली र प्रचण्ड जस्तै हाल माओवादीमा प्रचण्ड र नारायणकाजीको अवस्था छ । त्यसैले पहिलो सहमति नै प्रचण्डले नारायणकाजीबाट जुटाउने प्रयास भइरहेको ।’ ती नेताका अनुसार नारायणकाजीसँग पदाधिकारीसहित अन्य पार्टी कमिटीमा पनि सहमति जुटेमात्रै अघि बढ्ने प्रचण्डको मनसाय देखिन्छ ।  

उपाध्यक्षमा को को ?

नेताहरूलाई व्यवस्थापन गर्नकै लागि विधानमा वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्षको व्यवस्था गरेका माओवादीमा को को उपाध्यक्ष बन्लान् भन्ने चासो पनि बढेको छ । माओवादी नेताहरूका अनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको लगभग निश्चित भए पनि अन्य उपाध्यक्षहरूमा केही टुङ्गो लागेको छैन । यता महासचिवमा पुन र शर्मामध्ये एक जनामात्रै अटाउने भएकाले महासचिवका अर्का दाबेदारले पनि उपाध्यक्षमा बस्नुपर्ने हुन्छ । त्यसमध्ये पुन र शर्मा मध्ये एक जना उपाध्यक्ष हुने लगभग निश्चित छ । त्यसबाहेक नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत गणेश साह, हरिवोल गजुरेल लगायत उपाध्यक्षका दाबेदार मानिन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप