सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सुटिङ सेटमा करिष्मासँग आठ मिनेट : ‘२२ वर्षमा विधवा बन्नुभएकी आमा सम्झिरहेकी छु’

शुक्रबार, २१ माघ २०७८, १३ : ४९
शुक्रबार, २१ माघ २०७८

केही दिनअघि, काठमाडौँको पक्नाजोल स्थित होटेल ‘मुन लाइट’मा एक्सन कटमा व्यस्त थिए, वरिष्ठ कलाकार सरोज खनाल । उनलाई साथ दिइरहेका थिए छायाकार गौरीशङ्कर धुजु । ‘साहित्यकार स्वप्निल निरभको लेखनमा रहेको चलचित्र ‘बगान’ निर्माण गरिरहेका छौँ,’ रातोपाटी टिमसँगको अनौपचारिक कुराकानीमा चलचित्रका निर्माता सुरेश वाग्लेले जानकारी दिए ।

वरिष्ठ कलाकार नीर शाह, निर्देशक खनाल स्वयम्, करिष्मा मानन्धर, प्रमिला कार्की लगायतको अभिनय रहेको चलचित्रलाई काठमाडौँका केही स्थानमा र पोखरामा समेत छायाङ्कन सकेर पुनः काठमाडौँ फर्किएको रहेछ निर्माण टीम ।

छायाङ्कन स्थलमा मेकअपमा व्यस्त थिइन् अभिनेत्री करिष्मा मानन्धर । परबाट निर्देशक खनाल भन्दै थिए ‘आर्टीष्ट रेडी’ ? त्यही हतारोका बीचमा करिष्मासँग रातोपाटीका लागि मनोज न्यौपानेले गरेको संवाद :

यो कस्तो फिल्म हो ?

यो एउटा महिला सशक्तीकरणसम्बन्धी कथामा रहेर निर्माण गरिएको चलचित्र हो । हाम्रो समाजमा अझै पनि यस्तो परिस्थितिमा झेलिएर बसेका महिला पात्रहरू हुनुहुन्छ जो, परम्परागत र सामाजिक संस्कारमा बाँधिएर बस्नु परेको छ, उहाँहरूको कथा हो । 

वरिष्ठ कलाकार सरोज खनालको एक्सन कटमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

को–स्टारको हिसाबमा सरोजजीसँग काम गरेकै हो । अत्यन्तै कम्फरटेवल हुनुहुन्छ नै । निर्देशकको हिसाबले काम गर्दा झनै राम्रो लाग्यो । उहाँ एउटा कलाकार भएको नाताले सानो सानो कुरामा ध्यान दिने, हामी कलाकारबाट अझ राम्रो कसरी गराउन सकिन्छ भनेर पनि उहाँलाई थाहा छ । त्यसैले पनि काम निकै राम्रो भएको छ । अझ मलाई त म चलचित्रको लागि काम गरिरहेकी छु जस्तो पनि लागेको छैन । एउटा परिवार भित्र एउटा राम्रो काम गरिरहेकी छु जस्तो अनुभूत भइरहेको छ । 

सरोज खनाललाई एउटा कलाकार अनि निर्देशक हुँदा के फरक पाउनुभयो ?

लाग्छ, सरोजजीले निर्देशकीय पाटोमा मज्जासँग हात हाल्दा हुन्छ । किनकि, नयाँ वा पढेर आएर गर्नु भन्दा उहाँसँग धेरै नै अनुभव छ । एउटा भिजन पनि छ । त्यसैले पनि उहाँले निर्देशन गर्नुपर्छ जस्तो लाग्छ । 

फिल्ममा रहेको क्यारेक्टर खुलाउन मिल्छ ?

एउटी एकल (विधवा) महिलाको पात्र निर्वाह गर्दैछु । यो पात्रमा मेरी आमालाई पनि सम्झिरहेकी छु । कारण, उहाँ २२ वर्षमा एकल (विधवा) हुनु भएको थियो । एउटी महिला, कलिलो उमेरमा भएको विवाह पछि आफ्नो श्रीमान् गुमाउन पुग्छिन् । उनी आम्दानीको हिसाबमा आत्मनिर्भर हुँदिनन् र पढाइका हिसाबमा पनि उनी सक्षम हुन्नन् । 

अब, समाजमा उनलाई कसरी हेरिन्छ ? उनले आफूले आफूलाई अब्बल बनाउन के गर्नुपर्छ भन्ने उदाहरण फिल्ममा देखाइँदैछ । एक किसिमले क्रान्तिकारी महिलापात्रलाई फिल्ममा हेर्न सकिन्छ । 

अनि कताकता यो पात्रमा म आफैलाई पनि महसुस गरिरहेकी छु । किनकि विवाहको समय अनि ढिला गरी पढेको मेरो अनुभवका किस्सा कताकता यहाँ मिसिएका छन् ।

कोभिडको यो असहज परिस्थितिमा कसरी काम गरिराख्नु भएको त ?

परिस्थिति असहज नै छ । बीचमा बिरामी पनि भइयो । यो रोगबाट धेरै अछुतो रहन सकिएन । अब, त यसलाई आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प पनि रहेन। कोभिडसँगै संघर्ष गर्ने हो, अघि बढ्ने हो । यता, फिल्म उद्योग यसै पनि धराशायी भएको अवस्था छ र यस्तो बेलामा यस किसिमका सानो–सानो टिममा रहेर गर्न सकिने कामले कला क्षेत्रमा ठूलो टेवा पुगेको छ जस्तो लाग्छ । 

हुन त कला अनि सृजना भन्ने विषय साना ठूला हुँदैनन् तर, ठूलो स्क्रिनको विकल्पमा हामी यस्ता प्रोजेक्टमा काम गरिरहेका छौँ । यो निकै राम्रो र महत्त्वपूर्ण सुरुवात हो।

यस्ता प्रोजेक्टले साँच्चै यति ठूलो चलचित्र उद्योगलाई टेवा पुर्‍याउँछ र?

निर्माण टिम सानो भएपनि कला त कला हो नि । हामीले बुझ्नु पर्ने अर्को कुरा के भने, पहिला हाम्रा लागि चलचित्र हल मात्र एउटा माध्यम हुन्थ्यो होला तर, अहिले त्यसका थुप्रै विकल्प छन् । ओटीटीका थुप्रै माध्यम छन् । युट्युब, टिकटक, फेसबुक, नेटफिल्क्स इत्यादी थुप्रै छन् । त्यसैले पनि यस्ता काम हुनपर्छ । 

तपाईं आजभोलि भ्ल्ग बनाउन निकै व्यस्त देखिनुभएको छ, यसको क्रेज बढिरहेको हो ?

खै ! दर्शकहरू घटिरहनु भएको छ । जतिबेला मैले ‘भ्ल्ग’ बनाउन सुरु गरेकी थिएँ, बन्दको प्रभाव थियो । लकडाउन भएर देश नै बन्द हुँदा आफूलाई दिग्दार नहोस् भनेर आफ्ना कुराहरू सेयर गर्थेँ । तर, पछिल्लो समय अध्ययनका लागि समय दिनुपर्ने हुँदा त्यसलाई समय दिन सकिनँ । बीचमा परीक्षा हुँदा यो काम बन्द पनि गरेँ । (हाँस्दै) जब जाँगर लाग्छ अनि म बनाउन थालिहाल्छु ।

सामाजिक विषय वा आफ्नो व्यक्तिगत कुरा बाहेक खासै मसँग विषयवस्तु त केही हुन्न । कतिपय पत्रकार साथीहरूले आलोचना पनि गर्नुभयो तर, हाम्रा कुरा पनि त दर्शकलाई सुनाउनु छ । दर्शकबाट टाढा रहेका बेला आफ्ना भावना पनि त पोख्नु छ नि ! हाम्रो काम पो कलाकारिता हो त, तर हामी पनि त सामान्य मानिस नै हौं नि हैन र ! यही भावले भ्ल्गमा जोडिएकी हुँ ।

पेशाभन्दा पनि व्यक्तिगत रुची भनौँ न हैन ?

हो, म मेरो दर्शक श्रोता, शुभचिन्तक सँग जोडिरहन चाहन्छु । सायद त्यो लोभको परिणाम हो ।

टिकटक पनि चलाउनु हुन्छ ?

(अलि लजाउँदै) टिकटक चाहिँ मलाई त्यति आउँदैन । एकजना कोरियोग्राफर तेन्जु योन्जन हुनुहुन्छ, छोरा भन्छु म। ऊ आएको बेला चाहिँ उसले उकासेर कहिलेकाहीँ बनाउने गर्छु । तर टिकटकमा मेरो क्रेज छैन । मलाई अलि आउँदैन पनि ।

अनि पढाइ चाहिँ के हुँदै छ नि ?

मलाई लाग्छ, ज–जस्ले पूरक परीक्षा दिनु थियो उहाँहरूको परीक्षाफल आउन बाँकी नै छ । त्यसैले अब बिस्तारै सुरु हुन्छ ।

पढाइलाई कहाँसम्म पुर्‍याउने योजनामा हुनुहुन्छ र ?

गरिराख्ने हो । कुनै पनि कुरा निरन्तर गरिरह्यो भने पक्कै एउटा टुङ्गोमा पुग्छ । त्यसैले यही नै गर्छु भन्ने भन्दा पनि गरिराख्छु भन्नेमा मात्र छु । 

तपाईं चलचित्र क्षेत्रकी एक सक्रिय अनि पुरानो कलाकार । धराशायी चलचित्र उद्योगलाई कसरी माथि लैजान सकिन्छ, केही सोच्नु भएको छ ?

चुनौतीहरू धेरै छन् । नीतिगत रूपमा सरकारका तर्फबाट पनि चलचित्र क्षेत्रलाई त्यति ठूलो सहयोग छैन । पहिले मनोरञ्जन कर फिर्ताको विषय थियो । त्यसले राहत पक्कै दिएको थियो जस्तो लाग्छ । 

अब, अहिले यो कोरोनाका कहरले हलहरू बन्द भए, चलचित्र निर्माण हुन सकेका छैनन् । फेरि ओटीटी प्लेटर्फमको प्रयोग बढ्दै गइरहेको छ । नेटफ्ल्किस, अमेजनलगायतमा दर्शकहरूको भीड बढ्न थाल्यो। तर, हाम्रो देशमा, हाम्रो फिल्मका लागि भने त्यसको सहज पहुँच पुगिरहेको छैन । यसतर्फ नीतिगत रूपमा हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ । 

किनकि बेलाबेला डर लाग्छ, डिजिटल दुनियाँको लहरले दर्शक हलमा जाने ट्रेन्ड नै ब्रेक हुने हो कि! तर हामीले आशा मार्नु हुँदैन । हामी फेरि महामारीलाई जितेर उठ्ने छौँ । आशा बाहेक सायद अरू केही छैन आजको अवस्थामा ।

अन्त्यमा केही ? 

सानो सानो टिममा रहेर थुप्रै फिल्महरू बनिरहेका छन् । हरेक चलचित्रमा केही केही सन्देश हुन्छ नै । त्यसैले कुनै  न कुनै माध्यमबाट चलचित्र हेर्ने गरौँ । हाम्रो यो ‘बगान’ चलचित्र पनि हेर्नुहोस् । आफ्नो ख्याल राख्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप