शहरबाट गाउँ फर्केर भैंसी पालन
गाउँ छाडेर शहरमा उकुस–मुकुस बनेर बसेका मानिसहरु कोरोना संक्रमणको पहिलो लहरदेखि नै धमाधम गाउँमै फर्किन थालेका छन् । ती मध्येका एक हुन् धुर्कोट गाउँपालिका–६ का मेघनाथ अर्याल । उनी कोरियाको वैदेशिक रोजगारपछि ३० वर्षसम्म स–परिवार बुटवल बस्दै आएका थिए ।
कोरोना संक्रमणको पहिलो लहरमा जब रुपन्देहीमा लकडाउन गरियो तब अर्याल परिवार गाउँ फर्कियो । लकडाउनको खाली समयमा अर्यालले गाउँमै बस्ने योजना बनाए । सोही अनुरुप झण्डै एक करोड खर्चेर गाउँ मै दुई तले आकर्षक र सुविधा सम्पन्न पक्की घर बनाए ।
त्यति नै खर्चेर उनले भैंसी गोठ निर्माण गरे । घर गोठ निर्माण सम्पन्न भइसकेपछि भारतको हरियाणामा पुगेर उनले एक राँगो सहित उन्नत जातका १४ वटा भैंसी किनेर ल्याए । ढुवानीसहित प्रति भैंसी २ लाखका दरले खरिद गरेर ल्याएका अर्यालको गोठमा अहिले सानो ठुला गरी २१ वटा भैंसी छन् । तीमध्ये लैना भैंसीमात्रै ११ वटा छन् । ती भैँसीबाट दैनिक ६५ लिटर दुध उत्पादन गरी उनले छिमेकी चौरासी, फुलबारी बजार, सिमलटारी र सदरमुकाम तम्घाससम्मको बजारमा पुर्याउने गरेका छन् ।
‘बुटवलमा छँदा बिहानै उठेर मर्निङ वाक नगरी हुन्नथ्यो,’ झिसमिसेमा उठेर भैंसीलाई कुँडो पकाउँदै गरेका अर्यालले भने, ‘यहाँ त के को मर्निङ वाक ? भैंसी गोठकै कामले पसिना कढाउँछ ।’ भैंसी गोठको गोबर–सोत्तर सफा गरिसकेपछि अर्याल भान्छा कोठामा फर्किएर मोही पार्ने काममा लाग्छन् । उनले दूधका अलावा घिउ पनि बेच्न थालेका छन् । भविष्यमा दूधबाट बन्ने सबै परिकार उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए ।
उनले ५ जना कामदार राखेका छन् । उनीहरुले ११ वटा भैंसी दुहेर सक्छन् । अर्यालले दैनिक आफ्नै कारमा दुध राखेर डेरीसम्म लैजान्छन् ।
अर्यालको घर र भैंसी गोठको बिचमा विशाल फाँट छ । उनले त्यस फाँटमा सय मुरी धान फलाउँछन् । त्यही खेतको पराल उनले आफ्ना भैंसीका लागि खुवाउने गरेका छन् । अर्यालले कृषि तथा पशुपन्छी बहुउद्देश्यीय फार्म दर्ता गरेर गोठको दोश्रो तलामा कुखरा पालन र बाख्रा पालन गर्ने उद्देश्य पनि लिएका छन् ।
उनले केही कोठालाई अट्याच बाथरुम सहितको सुविधा सम्पन्न बनाई रिसोर्ट समेत सञ्चालन गर्ने सोच बनाएका छन् । उनकी श्रीमती तारा अर्याल भन्छिन्, ‘शहरको बसाईभन्दा यहाँ कयौं गुना आनन्द मिलेको छ ।’ तरकारीदेखि सबैखाले उत्पादन घर मै हुने गरेको उनले सुनाइन् ।
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले अर्याललाई उदाहरणीय व्यक्तिको संज्ञा दिए । ‘उहाँले गाउँबाट बाहिरनेलाई ठुलो सन्देश दिनु भएको छ, गर्न सके गाउँमै सबैथोक छ र गाउँ नै स्वर्ग हो भन्ने उदाहरण दिनु हुने उहाँलाई गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने छ,’ पोखरेलले भने ।
अर्यालका अनुसार कोभिड महामारीले नै उनीहरुलाई गाउँमा फर्काएको हो । ‘गाउँमा जस्तो आनन्द र स्वास्थ्यवर्द्धक खानपिन शहरमा हुँदो रहेनछ,’ अर्यालले भने ।
उनले कृषि र पशुपन्छी पालनलाई ठुलै उद्योगका रुपमा विकास गरेर विदेश जान चाहने मनहरुलाई गाउँमै खिच्ने उद्देश्य लिएको बताउँछन् । उनी भन्छन्, ‘यस गाउँका युवालाई विदेश नजान मेरो आग्रह छ, आउनुहोस् मिलेर कृषि, पशुपालन गरौं, लगानी गर्न सक्नु हुन्न भने रोजगारीको ग्यारेन्टी म दिन्छु, विदेशमा गर्ने दुःख, मेहनत यहीँ गर्नुस्, विदेशमा हुने कमाई गाउँमै हुनेछ ।’
उनले पिता पुर्खाले प्रयोग गर्ने गरेका मधुस (सन्दुक) ठेका–ठेकी, पुराना घैंटा, मटिया, माना, पाथी लगायतका परम्परागत घरायसी सामग्री संग्रहालयमा रुपमा सजाएर राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि ब्युँतियो पहिचानको आन्दोलन, तर देखिएन उत्साह !
-
१२ बजे १२ समाचार : दुई महिना नबित्दै धरहरा बन्ददेखि रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी जारीसम्म
-
कोशी प्रदेशमा ९ पदका लागि ७७ जनाको उम्मेदवारी
-
अध्यक्ष नेपाल र रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेईबीच भेटवार्ता
-
लुम्बिनीमा उपनिर्वाचन : रुकुममा कांग्रेसको चुनाव चिन्ह लिएर एमाले उम्मेदवार मैदानमा
-
दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक