‘रामायण भवन’मा सुनिँदैन कीर्तनको गुञ्जन
ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका जनकपुरधामका अधिकांश स्थल राम र सीतासँग जोडिएको छ । तीसँग सम्बन्धित विभिन्न मठ मन्दिर अहिले पनि अस्तित्वमै रहेका छन्, जसमध्ये जनकपुरधामस्थित राम मन्दिर अगाडी र धनुष सागर तलाउको डिलमा स्थित रामायण भवन समेत एक हो । जनकपुरधामको ऐतिहासिक रामायण भवन अहिले भने आफ्नै अस्तित्वको खोजीमा छ ।
धार्मिक परम्पराको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले रामायण भवनमा दुई दशक अघिसम्म संस्कृति भाषाको अध्ययन अध्यापन समेत हुन्थ्यो भने प्रत्येक दिन कीर्तन पनि हुन्थ्यो । राम चरित मानस युवा पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको रामायण भवन अहिले भने संरक्षण अभावमा जीर्ण हुँदै गएको छ । अहिलेका युवालाई त्यहाँ कीर्तन हुन्थ्यो भन्ने नै थाहा छैन ।
रामायण भवनको भित्री भित्तामा रामचरित मानस लेखिएको छ भने सीतारामको विवाहसँग सम्बन्धित तस्बिरहरू पनि कलात्मक ढंगले बनाइएको छ । दुई दशक अघिसम्म रामायण भवन श्रद्धालु भक्तजनको लागि अकार्षणसहित आस्थाको केन्द्रको रूपमा थियो । जनकपुरधाम आउने पर्यटक जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजापाठ गरिसकेपछि रामायण भवनमा समेत पूजा अराधनासहित दर्शन गर्थे भने त्यसलाई विश्राम स्थलको रूपमा समेत लिइन्थ्यो ।
सत्यसाई केन्द्रको प्रवेशपछि ग्रहण
सत्यसाई केन्द्रले रामायण भवनलाई आफ्नो मातहतमा लिएपछि परम्परागत रूपमा हुँदै आएका विभिन्न पूजापाठ, भजन कीर्तनलगायत सम्पूर्ण धार्मिक सांस्कृतिक तथा अध्ययन अध्यापन स्थगित भयो । अहिले सो भवन सर्वसाधारणका लागि समेत खुल्ला छैन ।
सत्यसाई केन्द्रले रामायण भवनमा कब्जा जमाएपछि गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले खाली गराउनका लागि लामो समयसम्म अभियान चलाए, पछि खाली गराउन पनि सफल भए । महासेठले भने, ‘रामायण भवनमाथि सत्यसाई केन्द्रले गरेको कब्जा हटाउन स्थानीय प्रशासनदेखि अदालतमा समेत हारगुहार लगायौँ ।’ पुनरावेदन अदालत अदालतले सत्यसाई केन्द्रलाई भवन खाली गर्न आदेश दिएपछि बल्ल खाली भएको थियो ।
सत्य साई केन्द्रको कब्जाबाट रामायण भवन मुक्त भएपनि उक्त भवन दिनानुदिन जीर्ण हुँदै गएकोमा महासेठ चिन्ता व्यक्त गर्छन् । पुराना ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौतिक संरचनालाई संरक्षणमा मधेस सरकारले समेत बेवास्ता गरेको प्रति स्थानीय युवा सुशील कर्णको गुनासो छ । उनी भन्छन्, ‘यहाँ दर्जनौँ युवा क्लब छन्, तर ती पूजा मेला आदिको समयमा मात्रै सक्रिय देखिन्छन् । जबकि रामायण भवन जस्ता रहेका विभिन्न धरोहरको संरक्षणतर्फ समेत युवा क्लबको ध्यान केन्द्रित हुनुपर्ने हो ।’
रामायण भवनको नाममा अक्षयकोष
त्यसो त रामायण भवनको नाममा काठमाडौँमा अक्षयकोष पनि छ । यस कोषमा ३ करोड ३ लाख रुपैयाँ छ । सो रुपैयाँकै ब्याजबाट पनि रामायण भवनको जीर्णोद्धार गर्न सकिने मञ्चका अध्यक्ष महासेठ बताउँछन् । तर अक्षय कोषमा रहेको उक्त रकमको विषयमा अहिलेसम्म जनकपुरधामवासी समक्ष सार्वजनिक पनि नगरिनुले सो पैसामा समेत अनियमितता भएको हुन सक्ने आरोप उनको छ ।
धनुषाको धारापानीस्थित रामायण भवनको नाममा रहेको ११ बिघा जग्गा बेचेर उक्त अक्षयकोष स्थापना गरिएको थियो । उक्त जग्गा नेपाली सेनाले क्याम्प निर्माणका लागि खरिद गरेको थियो । नेपाली सेनाले सो जग्गा ४ करोड रुपैयाँमा खरिद गरेको थियो । सोही ४ करोड रुपैयाँको अक्षयकोष स्थापना गरिएको थियो । तर अहिले अक्षय कोषमा ३ करोड ३ लाख रुपैयाँ मात्रै रहेको जानकारी दिँदै महासेठले बाँकी ९७ लाख रुपैयाँ अनियमितता भएको आरोप लगाए ।
गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले सो अक्षयकोषको सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको बताए । उनले काठमाडौँमा खाता रहेकाले केन्द्रीय गुठी कार्यालयकै संरक्षणमा सो अक्षयकोष हुन सक्ने अनुमान गरे ।
रामायण भवनको संरक्षण, संवर्द्धनका लागि गुठी संस्थान पनि गम्भीर छैन । राम मन्दिर परिसरभित्रै रहेको गुठी संस्थान जनकपुरधामले बेवास्ता गर्दा लामो समयदेखि सडक व्यवसायीले टिकुली सिन्दूर, चन्दन टीकालगायतका पूजापाठका सामग्री रामायण भवनको भूईतल्लामा बिक्री गर्दै आएका छन् । जबकि त्यहाँ कुनै समय बाहिरबाट आएका श्रद्धालु भक्तजन तथा आगन्तुकको लागि विश्राम स्थल थियो ।
गत आर्थिक वर्षमा रामायण भवनको जीर्णोद्धारका लागि ३० लाख तथा चालु आर्थिक वर्षमा समेत ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । तर उक्त रकम निकासा हुन नसक्दा अझै पनि यसको संरक्षण तथा संवर्द्धन कार्य हुन नसकेको कार्यालय प्रमुख रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुन्छ‚जित्ने कांग्रेसले नै हो : डंगोल (भिडियोसहित)
-
लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै
-
सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घट्यो
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा पेसी
-
‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने
-
बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा