विष्णु मूर्तिः चिकित्सक, डीएसपीदेखि गीतकारसम्म
‘तिमीलाई भुल्न के गाह्रो छ र,
एक मुठी सास रोकिदिए पुग्छ’
संगीतकार सुरेश अधिकारीको संगीत, राज रोकाको स्वर रहेको गीत यस गीतका गीतकार हुन् डा. विष्णु मूर्ति भट्टराई । शल्य चिकित्सामा स्नातकोत्तर (एमएस) गरेका रुपन्देहीका डा. भट्टराई पेसाले चिकित्सकका रुपमा चिनिन्छन् । उनी कुनै समय नेपाल प्रहरीको डिएसपीसम्म रहे । चिकित्सादेखि प्रहरी सेवामा लागेका उनको रुचि भने साहित्य सिर्जनामा छ । उनी राम्रो गीतकार पनि हुन् ।
उनले साहित्यका अन्य विधाभन्दा गीत लेखनमा सन्तुष्टि भेटे र गीत लेखनलाई निरन्तरता दिए । उनलाई गीत लेखनको लागि विशेष समय चाहिँदैन । बस्दा बस्दै, बिरामीको रिपोर्ट हेर्दा हेर्दै या अन्य काम गर्दै गर्दा गीत लेखनको लागि शब्द फुर्यो भने नोट गरिहाल्छन् ।
स्याङ्गजाको पकवादी–५ मा जन्मेका भट्टराई हाल बुटवलको स्थायी बासिन्दा हुन् । बुटवल उपमहानगरपालिका अन्तर्गत फर्साटिकर माध्यमिक विद्यालयबाट २०५४ सालमा एसएलसी गरेका उनी पाल्पाको श्रीनगर हाइयर सेकेन्डरी स्कुलमबाट साईन्स लिएर प्लट टु गरे ।
चिकित्सक बन्ने सपना आफ्नो सँगै परिवारको पनि थियो । यही क्रममा चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सबाट एमबिबिएस अनि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाको एमएस उपाधि हासिल गरे ।
प्रहरीमा मेडिकलतिर एमबिबिएस गरेकालाई इन्सपेक्टर र एमएस गरेकालाई डिएसपीमा सिधै भर्ना हुने प्रावधान रहन्छ । एमएस गरेपछि उनी नेपाल प्रहरीको डिएसपीमा भर्ना भए । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा दुई वर्ष काम गरे । त्यहाँ उनलाई केही अपुग भएजस्तै लाग्यो । अनि केही बर्ष विदेशिए ।
गीतकारको परिचय
उनी सानोमा रामकृष्ण ढकाल, यम बराल लगायतका गीतहरु निकै सुन्थे । जब रेडियो तथा टिभीमा ती गीत बज्थे, त्यसमा उनीहरुको नामसँगै गीतकारको पनि नाम पनि आउँथ्यो । उनले मनमनै सोचेँ, लेख्ने बानी छँदैछ । म पनि गीतकार किन नबन्ने ? त्यसका लागि निरन्तर लेख्नुपर्ने अठोट गरे । यसै क्रममा धेरै गीत रचना भएपछि उनले ‘विजयी मन’ गीत सङ्ग्रह पनि प्रकाशन गरे, जसमा ८८ वटा गीत समेटिएका छन् ।
मानवीय संवेदना, प्रकृतिप्रेम, राष्ट्रिय भाव लगायत पक्ष उनका गीतमा हुन्छन् । उनले मायाप्रेमदेखि बाल गीत पनि लेखेका छन् । उनका १४ वटा गीत रेकर्ड भएका छन् । केही गीतको भिडियोमा उनले आफै पनि अभिनय गरेका छन् ।
उनको ‘हिजोभन्दा पनि धेरै याद आयो तिम्रो आज, के पो हुने होला भोलि सोच्ने गर्छु हरेक साँझ’, सृजन नेपालको संगीत अनि डा सचित शर्मा रुपाखेतीको आवाजमा रेकर्ड भएको छ । यो देशको लागि म परे रगत बगाउँला ज्यानै बाजी राखी मेरो देशलाई बचाउँला भन्ने गीतमा दीपकराज विश्वकर्माको संगीत र राज सिग्देलको स्वर रहेको छ । यस्तै ‘खोजी खोजी मेरो तस्बिर तिमीलाई नि हेर्नु पर्ला’ श्रीधर अधिकारीको संगीत अनि रचना रिमाल र कृष्ण मूर्ति भट्टराईको आवाज रहेको छ ।
कतिपय गीतकार आफै गीत रेकर्ड गराएर लगानी गरिरहेका छन् । आत्मसन्तुष्टिका लागि लेख्ने भएकाले भट्टराई त्यो पथमा छैनन् । ‘पैसा कमाउनको लागि मलाई भगवानले चिकित्सक बनाइदिएका छन् । लेखेका गीत पनि कुनै राम्रा गायक तथा संगीतकारसँग सम्पर्कमा आउँदा ढिलोचाँडो रेकर्ड भइहाल्छ’, उनी भन्छन् ।
चिकित्सक बन्न संघर्षपूर्ण यात्रा
बुवा आमाले डाक्टर बनाउने चाहना गरेपछि प्लस टु पढ्दै गर्दा गाउँघरमा बुढापाकाहरुले भन्ने गरेको ‘ईख नभएको मान्छे र बिख नभएको सर्पको कुनै काम छैन’ भन्ने भनाई सम्झे । रातदिन मेहनत गरेर पढ्न थाले । फलस्वरुप कक्षा ११ र १२ दुबैमा प्रथम भए ।
दाजुमार्फत् एमबीबीएस तयारी कक्षाको बारेमा जानकारी पाएपछि काठमाडौं गए । उनले पढ्ने इन्स्टिच्युटमा प्रत्येक साता आन्तरिक परीक्षा हुन्थ्यो । छात्रवृत्तिमा नै पढ्ने विचार गरी शिक्षा मन्त्रालय तथा विभिन्न दूतावासहरुले दिने छात्रवृत्तिको पढाइको लागि लगातार प्रयास गरे । त्यो बेला चीनतिर पढ्न अलि रकम भए जान मिल्थ्यो तर उतातिर जान मन गरेनन् । त्यसै बीचमा रसियाको लागि एमबीबीएसमा नाम निस्क्यो । तर त्यो बेलातिर रसियामा पढ्नका लागि कम आकर्षण भएको अवस्था थियो । उता जान पनि मनले मानेन ।
सुरुदेखि मेहनत गरेर पढ्दै आएका थिए उनी । निरन्तरको प्रयासपछि पूर्ण छात्रवृत्तिमा नेपालमै पढ्न नाम निकाल्न सफल भए । अनि, भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा एमबीबीएसको अध्ययन सुरु गरे । एमबीबीएसपछि दुई वर्ष चितवनको रत्ननगर र अर्घाखाँचीको ठाडामा काम गरे । पछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाको स्नातकोत्तर तह (एमएस) पनि पूर्ण छात्रवृत्तिमा गरे ।
डिएसपीको दरबन्दीमा नेपाल प्रहरी अस्पतालमा दुई वर्ष काम गरे । प्रहरी अस्पतालमा काम गर्दा त्यही काम गर्ने डा सुजिता भण्डारीसँग विवाह बन्धनमा बाँधिएर क्वार्टरमा बस्थे उनी । प्रहरी अस्पतालका चिकित्सकलाई कुनै भिआइपी आउँदा तथा अन्य बेला पनि हाई अलर्ट राखिन्थ्यो । उनलाई प्रहरी जागिर, ३५–४० हजारको डाक्टरी तलब थोरै लाग्यो । अनि श्रीमान्–श्रीमती दुवैको सल्लाहमा राजीनामा दिएर विदेशिए । माल्दिभ्स बसे । तर नेपालको माया कहाँ छुट्थ्यो र । दुई वर्षपछि नेपाल आए ।
डा. भट्टराई अहिले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा दुई वर्षदेखि आबद्ध छन् । यहाँ घरपायक भएको र सबै दृष्टिकोणले उपयुक्त भएको उनले महसुस गरेका छन् । श्रीमती डा. सुजिता भण्डारी पनि यतै छिन् । बिहानदेखि साँझसम्म बिरामीहरुको सेवामा व्यस्त हुन्छन् । तर, आफ्नो रुचिको गीत लेख्ने बानी छुटाएका भने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)