शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रको स्वार्थले लुम्बिनीमा माओवादी पदाधिकारी चयनमा सकस

फागुनको पहिलो हप्ताभित्र टुङ्ग्याउने तयारी
बिहीबार, २० माघ २०७८, १३ : २६
बिहीबार, २० माघ २०७८

दुई महिनादेखि रोकिएको नेकपा माओवादी लुम्बिनी प्रदेशको पदाधिकारीहरू फागुनको पहिलो हप्ता भित्र टुङ्ग्याउने तयारी गरिएको छ । पदाधिकारीहरूमा धेरै आकाङ्क्षी भएपछि दाङको भालुबाङमा मङ्सिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी मात्रै चयन गरेको थियो । त्यतिबेला सदस्य र शीर्ष नेताहरूको सल्लाहमा पदाधिकारी टुङ्ग्याउने सहमति भएको थियो । तर, दुई महिनासम्म पनि पदाधिकारीको टुङ्गो लगाउन आलोचना सुरु भएको थियो ।

नेताहरूले अब फागुनको पहिलो हप्ताभित्र नै पदाधिकारीको टुङ्गो लगाउने तयारी गरेका । आगामी माघ २७ पार्टीको केन्द्रीय कमिटीको बैठक बस्दै छ । त्यसपछि नेताहरू प्रदेशको पदाधिकारी टुङ्ग्याउने तिर लाग्ने प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले रातोपाटीलाई बताए । प्रदेश अध्यक्षमा उनको नाममा यसअघि नै सहमति जुटेको थियो । 

पार्टीको विधानमा केन्द्रीय समितिमा भएपछि प्रदेशमा बस्ने नमिल्ने उल्लेख भएका कारणले अब प्रदेशमा पदाधिकारीका आकाङ्क्षा राखेका नेताहरूलाई केन्द्रमा लगेर भए पनि व्यवस्थापन गर्ने रणनीति लिइएको बताइएको छ ।  लुम्बिनी प्रदेशबाट धेरै नेताहरू केन्द्रीयस्तरमा नै पकड राख्ने हैसियतका रहेका छन् ।

आफूहरू केन्द्रमा पुगे पनि प्रदेश र जिल्लातिर आफूनिकट व्यक्ति ल्याउन कसरत गरेपछि सहमतिका लागि सकस भएको हो । लुम्बिनीबाट प्रतिनिधित्व कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, चक्रपाणि खनाललगायत शीर्ष नेताहरूबीच पदाधिकारीमा कसलाई राख्ने भन्ने सहमति हुन सकेको छैन । 

अध्यक्षमा प्रस्ताव गरिएका बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत अध्यक्षका रूपमा आएका हुन् । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तीन उपाध्यक्षमा बाँकेका आईपी खरेल, रुकुमकी जुनकुमारी रोका मगर, कपिलवस्तुका रुद्र बन्जाडेले दाबी गरेका छन् । सचिवमा दाङका तुलसीराम पुन, लुमाकान्त न्यौपाने, बर्दियाका दुर्गाबहादुर थारु, रोल्पाका निमकान्त डाँगी, प्युठानका प्रकाश अधिकारीको दाबी छ । सचिवका लागि माओवादी प्रवक्ता महराले तुलसीराम पुनलाई समर्थन गरेको माओवादीभित्र चर्चा छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले  लुमाकान्त न्यौपानेलाई अघि सारेको चर्चा रहेको छ ।  आन्तरिक विवादका कारणले बुटवल उपमहानगरपालिकामा समेत अझैसम्म पदाधिकारीको टुङ्गो लागेको छैन । निर्वाचनका लागि खटिनुपर्ने बेला पदाधिकारीको टुङ्गो नलाग्दा कार्यकर्ता परिचालनमै अलमल भएको माओवादी नेताहरूको भनाइ छ ।

माओवादीको लुम्बिनी प्रदेश कमिटी २ सय ५३ सदस्यीय हुने निर्वाचन समितिले जनाएको छ । ११ जना विभिन्न कलस्टरबाट मनोनीत गरिने जनाइएको छ । माओवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सांसद तुलाराम घर्ती मगर वसन्तले सकेसम्म केन्द्रीय समिति बैठक पछि छिटै  टुङ्ग्याउने  रातोपाटीलाई बताए । उनले भने, ‘सहमतिबाट नभए निर्वाचनको विधिबाट भए पनि टुङ्ग्याउने हो । अब ढिला गर्नु हुँदैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप