शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपामा राजेन्द्रले बढाए शक्ति, कमल थापा फरक बाटो रोज्दै !

थापा पक्ष भन्छ–लिङ्देनका कारण पार्टी दुर्घटनातर्फ उन्मुख
बिहीबार, २० माघ २०७८, १२ : १६
बिहीबार, २० माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीभित्र विभाजनको रेखा कोरिँदै गएको छ । मङ्सिर दोस्रो साता सम्पन्न पार्टी महाधिवेशनमा पराजित कमल थापाले निर्मल निवासको हस्तक्षेपका कारण आफूले हार बेहोर्नुपरेको दाबी गर्दै आएका छन् ।

उनले यो विषयलाई पार्टीले छानबिनको विषय बनाउनुपर्ने निरन्तर माग अघि सार्दै आए पनि अध्यक्ष लिङ्देनले अहिलेसम्म सुनुवाइ गरेका छैनन् । बरु अध्यक्ष लिङ्देनले पार्टीमा आफ्नो शक्ति बढाउँदै लगेका छन् । महाधिवेशनमा पदाधिकारीमै अल्पमतमा परेका लिङ्देनले मनोनयनपछि भने आफ्नो पक्षमा स्पष्ट बहुमत पुर्‍याएका छन् । यस्तै केन्द्रीय समितिमा पनि लिङ्देनकै बहुमत देखिएको छ । कुनैबेला पार्टीमा शक्तिशाली अध्यक्ष रहेका कमल थापा अहिले केन्द्रीय समितिदेखि पार्टीका कुनै पनि बैठकमा सहभागी नहुने अवस्था बनेको छ । अध्यक्ष लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे छानबिन थालेपछि मात्रै पार्टीको बैठकमा सहभागी हुने थापाले बताउँदै आएका छन् ।

थापाले यसबारे ध्यानाकर्षण गराउँदै लिङ्देनलाई दुई पटक पत्र नै पठाइसकेका छन् । पहिलो पत्र मङ्सिर २७ मा लेखेका थापाले दोस्रो पत्र केही दिनअघि अर्थात् माघ १६ गते लेखेका हुन् । महाधिवेशनपछि असन्तुष्ट बनेका थापाले निरन्तर निर्मल निवासको विरोध गर्दै आएका छन् भने आफू सक्रिय राजसंस्थाको पक्षमा पनि नरहेको धारणा सार्वजनिक गर्दै आएका छन् । उनले मङ्सिर १७ को पत्रमा लिङ्देनलाई भनेका थिए, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष छानबिन समिति बनाउनुहोस् । हस्तक्षेपको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाको विषयमा पार्टीभित्र बहस गर्नुहोस् ।’

शत प्रतिशत राजावादी भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य राजनीतिक दल र राजनीतिमा हस्तक्षेप हुँदैन भनेर कसरी विश्वास गर्ने ? थापाको प्रश्न छ ।

थापाको यो आवाज निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा पनि उनीनिकटका केही केन्द्रीय सदस्यले उठाएका थिए । तर लिङ्देनले यसबारे छलफल हुननसक्ने स्पष्ट गरेपछि थापा थप चिढिन पुगेका थिए ।

आफ्नो कुरा सुनुवाइ नभएपछि थापाले माघ १६ गते मङ्सिर १७ कै निरन्तरतामा ध्यानाकर्षण पत्र पठाएर आफूले उठाएका माग सम्बोधन गर्न पुन ध्यानाकर्षण गराएका थिए ।

तर लिङ्देनले भने थापाको प्रस्ताव पहिलो दृष्टिमै अनुपयुक्त भएको जवाफ दिने गरेका छन् । थापाले उठाएको सवालमा छलफल गर्नु भनेको आफू निर्वाचनमा विजयी भएको वैधानिकतामै प्रश्न उठ्ने लिङ्देनको जिकिर छ । ‘त्यो विषयमा छलफल बनाउनु भनेको मैले निर्वाचन जितेको वैधानिकतामा पनि प्रश्न उठ्छ । यो भनेको मैले जितेको ठीक भयो कि भएन भन्ने कुरा नै छलफल गराउने भन्ने हो’, लिङ्देनले रातोपाटीसँग भने, ‘मेरो वैधानिकतामाथि नै प्रश्न उठाउने बाटोको सुरुवात यसबाट हुन्छ । त्यसकारण यस्तो विषयमा छलफल हुन सक्दैन भन्ने मेरो ठहर हो ।’

राजसंस्थाको पक्षधर आफ्नो पार्टीभित्र राजसंस्थाको बारेमा नकारात्मक सन्देश जानेगरी छलफल नहुने भन्दै सोच्न पनि नसक्ने लिङ्देनको भनाइ छ ।

सम्पर्कमै आउन नचाहेको गुनासो

थापासँग आफूले सम्पर्क गर्न चोहेको भएपनि सम्पर्कमै आउन नचाहेको गुनासो छ । ‘मैले व्यक्तिगतरुपमा प्रत्यक्ष रूपमा सम्पर्क गर्न खोज्दा उहाँले सम्पर्क गर्न चाहनुभएको छैन । मैले आजै पनि सम्पर्क गर्न खोजेको थिएँ  मलाई लाग्छ कि हाम्रो सम्पर्क र कुराकानी हुनेछ’, लिङ्देनको भनाइ छ । पार्टीको फोरमबाहिर बसेर टीकाटिप्पणी गर्ने तर पार्टीमा आधिकारिक ठाउँमा थापा छलफलमै नआएको लिङ्देन पक्षका अन्य नेताको भनाई छ ।

विभाजनको भय !

लिङ्देन थापाका माग सम्बोधन गर्न नचाहने र थापा पनि कुनै हालतमा नझुक्ने रणनीति लिएपछि राप्रपा फेरि विभाजनतिर गएको आशङ्का गर्न थालिएको छ । थापाले यसअघि नै राष्ट्रिय एकता अभियान पुस २७ गतेदेखि सञ्चालनको तयारी गरेका थिए । तर, कोरोनाको कारण देखाउँदै तत्कालका लागि त्यो अभियान स्थगित गर्न पुगेका थिए । कोरोना महामारी कम भएपछि अभियान सञ्चालन गर्ने उनको तयारी छ । थापाले उक्त अभियान नयाँ पार्टी निर्माणको होमवर्क अनुसार सञ्चालन गर्न लागेको दुवै पक्षको बुझाइ छ ।

तर लिङ्देन भने थापा वार्ता र संवादमा आउनुको विकल्प नभएको दाबी गर्छन् । उनले थापाले पार्टीलाई हानी हुने बाटो तय नगर्ने विश्वास व्यक्त गर्दै लिङ्देन भन्छन्, ‘उहाँले जुन पत्र र अरू दृष्टिकोणहरु निर्माण गरिराख्नुभएको छ, कतै त्यस्तो (विभाजन) हो कि भनेर कहिलेकाहीँ हामीलाई पनि आशङ्का पैदा हुन्छ । तर, त्यस्तो भयो भने पार्टीलाई मात्रै नोक्सान हुँदैन, सबैभन्दा धेरै नोक्सान उहाँलाई हुनेछ । त्यसकारण त्यस्तो काम गर्नुहुँदैन भनेर उहाँको शुभेच्छुकको हिसावले व्यक्तिगत र पार्टी अध्यक्षको हिसावले सबै प्रकारको पहल र प्रयास रहन्छ ।’

थापा निकट बर्तौला भन्छन्– पार्टी दुर्घटनातर्फ उन्मुख छ

थापा निकट केन्द्रीय सदस्य राजेन्द्र बर्तौलाले आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । पहिलेदेखि नै अभियानको तयारीमा भएपनि कोरोनाको कारण रोकिएको र अब छिट्टै अभियान सञ्चालन गरिने उनको भनाइ छ । बर्तौलाले अभियान नै सुरु नभएपनि केही दिनमै थापाको पुनः सक्रियता हुने पनि बताए ।

‘स्वास्थ्यमा समस्या थियो, निको पनि भइसक्नु भएको छ । अब देश दौडाहा हुन्छ’, उनले भने, ‘अभियान सञ्चालन गर्नेबारे पनि एक दुई दिनमा बैठक बसेर कसरी अघि बढ्ने भन्नेबारे निष्कर्ष निकालिन्छ । अभियानमा केन्द्रीय कमिटीदेखि पदाधिकारीसम्मका निर्वाचितलाई सहभागी नगर्ने भन्नेबारे पनि छलफल भइसकेको छ ।’ विभिन्न मोडलमा प्रस्ताव भएको र त्यसैमा छलफल गरेर टुङ्गोमा पुगिने उनको भनाइ छ ।

अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीमा जुन ढंगले अघि बढिरहेका छन् त्यसले पार्टीलाई दुर्घटनातिर उन्मुख गराइसकेको बर्तौलाको भनाइ छ । ‘सुरुदेखिनै पार्टीमा मनोनयन उपयुक्त ढंगले भएको छैन । भौगोलिक, समानुपातिक सबै ढंगले यो निर्णय एकाङ्की छन्’, उनले भने, ‘अध्यक्षले भन्ने एउटा र गर्ने अर्को गरिरहेको भइरहेको छ । यसले पार्टीलाई दुर्घटनातिर उन्मुख गराइरहेको छ ।’ लिङ्देन साँघुरो घेराबाट अघि बढेकाले पार्टी दीर्घकालीन हित नगर्ने र समस्या जन्माउने बर्तौलाको दाबी छ । मनोनयनबाट पदाधिकारीमा ल्याइएका धेरैजसो अहिलेको चुनौतीलाई चिर्न सक्ने र जनाधार भएकाहरू नभएको भन्दै उनले भने, ‘उहाँले आफ्नो भजनमण्डली तयार गर्नुभएको छ । पार्टी मिलाउने जिम्मेवारी नेतृत्वको हो । मिलाउन सक्नुपर्छ, सबैलाई विश्वासमा ल्याउन सक्नुपर्छ ।’

पदाधिकारीमा को कता ?

राप्रपाको निर्वाचनबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की र ध्रुवबहादुर प्रधान निर्वाचित भएका थिए । जसमा थापा पक्षका प्रधान र तामाङ छन् । यस्तै महामन्त्रीमा धवल शमशेर राणा, भुवन पाठक र कुन्ती शाही निर्वाचित हुँदा धवलमात्रै राजेन्द्र पक्षका हुन् । त्यतिबेल पदाधिकारीमा अल्पमतमा रहेका लिङ्देनले यही साता २४ जनालाई मनोनयन गरेर बहुमत जुटाउन सफल भए ।

हुन त अध्यक्ष  लिङ्देनले विधान बमोजिम नै उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्री पदमा २४ जनालाई मनोनीत गरेका हुन् । जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनीत भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनीत भएका छन् ।  यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुन सुन्दर लावती र गोपाल दाहाल मनोनीत हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनीत भएका छन् ।

यस्तै सहमहामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनीत हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राई मनोनीत भएका छन् । मनोनीत भएका मध्ये अधिकांश कमल थापाको विरोधी खेमाका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप