बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दूधको मूल्य वृद्धि हुँदा अरू के–के को मूल्य बढ्छ ?

दूधको समर्थन मूल्य बढ्दा किसानलाई फाइदा, उपभोक्ता मारमा
बिहीबार, २० माघ २०७८, ०६ : ५४
बिहीबार, २० माघ २०७८

सरकारले मन्त्रीपरिषद्को बैठकबाट दूधको समर्थन मूल्य बढाएको छ । यसअघि, प्रतिलिटर मूल्य ४९.५२ रुपैयाँ कायम दूधको मूल्य ६.५२ रुपैयाँ अर्थात् १३.१७ प्रतिशतले बढेर ५६.०४ रुपैयाँ पुगेको छ । यद्यपि, किसानले पाउने मूल्य तोकिए पनि अहिलेसम्म उपभोक्ताले किन्ने मूल्य तोकिएको छैन । यसअघि प्रतिलिटर ७६ रुपैयाँ कायम दूधको उपभोक्ताले किन्ने मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ पुर्‍याउने तयारी भइरहेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा किसानहरूले दुई महिना अघि दूधको उत्पादन लागत बढ्दा मूल्य बढाउन पर्ने माग राखेका थिए । दूध उत्पादक किसानले मूल्य बढाउनुपर्ने माग राखेपछि कृषि मन्त्री महिन्द्राराय यादवले ९ सदस्य अध्ययन समिति बनाए । राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा पशुसेवा विभाग, डेरी उद्योग एसोसिएसन, नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान, उपभोक्ता मञ्च, कृषि मन्त्रालय र किसानसहितको समिति बनेको थियो ।

उक्त समितिले करिब एक महिना लगाएर सात वटै प्रदेशका २७ जिल्लामा स्थलगत अध्ययन गरेर दूधको उत्पादन लागतसहितको प्रतिवेदन तयार गर्‍यो । उक्त प्रतिवेदनमा दूधको उत्पादन लागत प्रतिलिटर ५७.१४ रुपैयाँ देखाएको थियो । तर, सरकारले मन्त्रीपरिषद्को बैठकबाट प्रतिलिटर ५६.०४ रुपैयाँ तोकेको हो ।

कच्चा दूधको मूल्य बढेपछि दूधबाट बन्ने सबैजसो दुग्धजन्य पदार्थको मूल्य समेत बढ्ने नेपाल डेरी एसोसिएसनले जानकारी दिएको छ । कच्चा दूधको मूल्य बढ्नासाथ प्रशोधित दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्ने एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । उनले किसानलाई तिनुपर्ने कच्चा दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ हुँदा त्यसमा थप ३० रुपैयाँ हाराहारी सङ्कलन तथा प्रशोधन लागत जोडिँदा मूल्य प्रतिलिटर ८६ रुपैयाँ हुन आउँछ । उनका अनुसार यसअघि प्रतिलिटर ७६ रुपैयाँ पर्ने दूध १० रुपैयाँ बढेर ८६ रुपैयाँ पुग्ने भएको हो ।

गोठदेखि ओठसम्म – छ वटा चरण

किसान गाई र भैँसीबाट दूध उत्पादन गरेदेखि उपभोक्ताको घरसम्म आइपुग्न ६ वटा चरण पार गर्नुपर्ने हुन्छ । किसानले गोठबाट दूध दुहेपछि उपभोक्ताको घरसम्म आइपुग्न विभिन्न ६ चरण पार गर्नुपर्ने हुन्छ । किसानले दूध दुहेपछि स्थानीय संकलन केन्द्रलाई दिन्छन् र स्थानीय संकलन केन्द्रले सहकारीमा लग्छन् । 

यस्तै, दूध सङ्कलन गर्ने सहकारीले उद्योगसम्म पुर्‍याउँछन् र उद्योगबाट उपभोग गर्न योग्य वस्तु बनेपछि थोक बिक्रेतालाई दिन्छन् । र, थोक व्यापारीले खुद्रा व्यापारीलाई दिएपछि उपभोक्ताले बल्ल दूध र दुग्धजन्य वस्तु किन्न पाउँछन् । यसरी, किसानबाट उत्पादित दूध र दुग्धजन्य वस्तु उपभोग योग्य बन्न विभिन्न ६ चरण पार हुनुपर्छ । गोठमा उत्पादित दूध ओठसम्म आइपुग्दा उत्पादन लागतभन्दा कम्तीमा प्रतिलिटर ३० रुपैयाँ लागत जोडिने एसोसिएसनका अध्यक्ष सापकोटाले बताए ।

‘किसानको गोठमा उत्पादित दूध स्थानीय सङ्कलन केन्द्र र सहकारी बिना उद्योगसम्म ल्याउन सकिँदैन,’ उनले भने, ‘उनीहरू विना उद्योगसम्म दूध ल्याउन समस्या पर्छ ।’ खासगरी, उद्योगी आफैँ किसानको गोठसम्म दूध खोज्न जाँदैनन् भने किसानका पहुँच उद्योगसम्म हुँदैन । सोही कारण, सङ्कलन केन्द्र र सहकारी केन्द्र चाहिने अध्यक्ष सापकोटाले बताए । यस्तै, उत्पादित दूध उद्योगसम्म ल्याउँदा लाग्ने ढुवानी खर्च जोडिँदा गोठबाट ओठसम्म आइपुग्दा ३० रुपैयाँ लागत जोडिने एसोसिएसनले जनाएको छ ।

मूल्य बढे पनि खुसी छैनन् किसान

मन्त्रालयले गठन गरेको ९ सदस्यीय समितिले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा प्रतिलिटर कच्चा दूधको उत्पादन लागत मूल्य ५७.१४ रुपैयाँ देखिएको थियो । किसानले दूधको मूल्य बढाउन गरेको आग्रहमा मन्त्री यादव सकारात्मक बन्दा मूल्य आफूहरू अनुकूल हुने गरी बढ्नेमा किसान ढुक्क थिए । तर, यसअघि, मन्त्रीस्तरीय निर्णय बाटै बढ्दै आएको दूधको समर्थन मूल्य यसपटक मन्त्रीपरिषद्को बैठकमा पुग्यो । यस्तै, मन्त्रीपरिषद् बैठकले अध्ययन प्रतिवेदनले देखाएको मूल्यभन्दा २ रुपैयाँ घटेर मूल्य निर्धारण गर्‍यो ।

यसबाट, किसानलाई प्रत्यक्ष फाइदा नहुने एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए । उनले आफैँले गठन गरेको समितिको अध्ययन प्रतिवेदनलाई लत्याउँदै निर्णय गर्न मन्त्रीपरिषद्मा लगेर लागतभन्दा कम मूल्य तोकेपछि किसान खुसी नभएको बताए । विगत तीन वर्षदेखि स्थिर रहेको दूधको मूल्य प्रतिलिटर १३.१७ प्रतिशतसम्म बढ्नु स्वाभाविक भएको उनको भनाई छ ।

‘प्रत्येक वर्ष सबैजसो उपभोग्य वस्तुको मूल्य बढ्छ । तरकारीको मूल्य दिनदिनै उच्च दाममा बढिरहेको हुन्छ,’ भने, ‘तर, दूधको मूल्य तीन वर्षदेखि नबढी बसेको थियो । यतिबेला बढ्नु स्वाभाविक हो ।’ सरकारले उत्पादन लागत नै घटाउने गरी कार्ययोजना अगाडी सारेर लागत घटाएमा मूल्य बढाउनु नपर्ने तर सबैजसो वस्तुको मूल्य बढ्ने र दूधको मूल्य नबढाउने भन्नु स्वाभाविक नहुने उनले बताए ।

३० अर्ब लगानी, पाँच लाख परिवार
नेपाल डेरी एसोसिएसनले नेपालमा करिब ५ लाख जनशक्ति दूध उत्पादन व्यवसायमा लागेको बताएको छ । देशभरका उक्त जनसङ्ख्या दूध उत्पादनमा लागेको एसोसिएसनले जानकारी दिएको हो । नेपाली किसानले उत्पादन गरेको दूधले कुल मागको ८० प्रतिशत हिस्सा नेपाली उत्पादनले ओगट्दै आएको छ । यस्तै, बाँकी २० प्रतिशत माग भने भारतबाट आपूर्ति हुँदै आएको छ । यस्तै, थप ३० हजार जनाले दुग्धजन्य उद्योगमा रोजगारी पाइरहेका छन् ।

नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्यांक एसोसिएसनले सङ्कलन गरेको छ । त्यसमध्ये ३२ लाख लिटर दूध बिक्रीका लागि बजारसम्म आइपुग्ने गरेको छ । बाँकी ३० लाख लिटर दूध घरेलु प्रयोजनमै खपत हुने गर्छ । उक्त ३० लाख लिटर दूध समेत बजारमा बिक्रीका लागि आएमा दूध उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर बन्ने एसोसिएसनका महासचिव दाहालले बताए ।

नेपालको दुग्धजन्य व्यवसायमा करिब ३० अर्ब रुपैयाँ लगानी भएको छ भने कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा दूध तथा दुग्धजन्य व्यवसायको ९ प्रतिशत योगदान रहेको अध्यक्ष सापकोटाले बताए । उनले नेपालको जीडीपीमा धानपछि सबैभन्दा बढी योगदान दिने कृषि पेसा दूध तथा दुग्धजन्य व्यवसाय भएको समेत बताए ।

दूधको मूल्य वृद्धि हुँदा के–केको मूल्य बढ्छ ?
मन्त्रीपरिषद्को निर्णयबाट १३.१७ प्रतिशतले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेसँगै अन्य दुग्धजन्य वस्तुको समेत मूल्य बढ्ने भएको छ । कच्चा दूधबाट प्रशोधित दूधसहित पनिर, चिज, आइसक्रिम, घ्यू, मिठाइ, खुवा, दही, मही र बटर लगायत दर्जनौँ तयारी वस्तु बन्छ । कच्चा दूधको मूल्य बढ्दा यी वस्तुको मूल्य स्वभाविक रूपमा उकालो लाग्ने एसोसिएसनका महासचिव दाहाल बताउँछन् ।

हाल पनिरको मूल्य प्रतिकिलो ७००, घ्यूको प्रतिकिलो ११००, चिज÷मिठाइको प्रतिकिलो एक हजार, बटरको प्रतिकिलो ९०० रुपैयाँ छ । यस्तै, दही प्रतिलिटर ११० (नर्मल), दही प्रतिलिटर १५० (स्पेसल) र मही प्रतिलिटर ६० रुपैयाँ छ । दूधको मूल्य बढेपछि दूधबाटै बन्ने यी वस्तुको मूल्य बढ्ने एसोसिएसनले बताएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप