शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतसँगको व्यापार सहजीकरणमा पहल गर्न राजदूत आचार्यलाई चेम्बरको सुझाव

बुधबार, १९ माघ २०७८, १९ : १५
बुधबार, १९ माघ २०७८

नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धन गर्न भूमिका खेल्न नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भए पनि आर्थिक र व्यावसायिक सम्बन्ध फस्टाउन सकेको छैन । त्यसैले अब निर्यात बढाएर व्यापारिक सम्बन्ध स्थापित गराउन भूमिका खेल्न आग्रह गरेको हो ।

बेलायतका लागि नवनियुक्त राजदूत आचार्यलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरूको पहिचान गर्नुपर्नेमा जोड दिए । बेलायतसँग वार्षिक २ अर्ब हाराहारीमा मात्रै व्यापार भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले जडीबुटी, खानीजन्य वस्तुहरू, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।

व्यापार बढाउनलाई दुई पक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल हुनुपर्नेमा अध्यक्ष मल्लको भनाई छ ।  नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्लो १० वर्षदेखि व्यावसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेको प्रति अध्यक्ष मल्लले राजदूत आचार्यको ध्यानाकर्षण गराए । 

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले हस्तकलाका सामान, पस्मिना, गार्मेन्ट, उलन लगायतका गरी गत वर्ष २ अर्ब ३ करोड रुपैयाँको व्यापार गरेको थियो । बेलायतबाट भने सवारी साधन, केमिकल, मदिरा लगायत २ अर्ब २६ करोड रुपैयाँको आयात गरेको छ ।

अध्यक्ष मल्लले  पूर्वाधार, जलश्रोत, होटल, पर्यटन क्षेत्रमा लगानीको पहल गर्नका लागि पनि आचार्यलाई आग्रह गरे । सुन चाँदीको तयारी गरगहना, जिन्सको पेन्ट लगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना रहेको अध्यक्ष मल्लले बताए । 

जवाफमा राजदूत आचार्यले ब्रेक्जिटपछि बेलायतसँग छुट्टै व्यापारिक सम्बन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताए । बेलायतसँगको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई उच्चस्तरीय आर्थिक सम्बन्धमा परिणत गर्नका लागि आफूले सक्दो पहल गर्ने आचार्यको भनाई छ । उनले आफ्नो कार्यकालको सुरुमै दुई देशका व्यापारीबीचको मिलन गराउने तथा व्यावसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासन समेत दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप