शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी विकास परियोजना मात्र, सत्ता गठबन्धन  जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदैछ : उपमहासचिव ज्ञवाली

बुधबार, १९ माघ २०७८, १८ : २४
बुधबार, १९ माघ २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्तामा रहेका नेताहरूले एमसीसीमार्फत् भूराजनीतिक द्वन्द निम्त्याइरहेको उनले आरोप लगाएका हुन् । 

एमसीसी एउटा विकास परियोजना मात्रै भएको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसद्मा ल्याएर सांसदहरूलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे । उनले भने – ‘एमसीसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसद्को, नेपालको राजनीतिक दलहरूको स्वेच्छिक रोजाइको विषय हो । तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरू भइरहेका छन् । विदेशीको एडभाइस लिने खालका कुराहरू भइराखेका छन् । एउटा विकास परियोजनालाई जानीजानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरू लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसद्मा आउनुपर्छ । र सार्वभौमसत्ता सम्पन्न सांसदहरूले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । संसद्मा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धका कार्यदलहरूको त्यो अँध्यारो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद् अवरोध गरिरहनु बेठिक भएको धारणा राखे । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको उनले बताए । संसद्को गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिए । उनले भने – ‘ तपाईंहरूलाई सभामुखको भूमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइ पाऊँ भनी लेख्ने त व्यवस्था छ नि त संविधानले दिएको । त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म । त्यो व्यवस्थामा तपाईंहरूसँग मत नपुग्ला तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु हार्दा मान्दिनँ भन्न पाइदैनँ नि त । निकास खोज्नुपर्ला नि त ।’

नेता रिजालले वर्तमान सत्ता गठबन्धन सँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप