बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व सिमसार दिवस : अस्तित्वको संकटमा घैलाताल

बुधबार, १९ माघ २०७८, १८ : ०४
बुधबार, १९ माघ २०७८

आज फेब्रुअरी २, विश्व सिमसार दिवस । हाम्रो देशमा प्रकृतिले दिएका तालतलैया, ढाप, नदीनाला, पोखरीको संख्या उल्लेखनीय छ । कतिपय यी तालतलैयालाई अन्र्तराष्ट्रिय स्तरमानै पहिचान मिलेको छ, जसलाई रामसार कन्भेन्सन कार्यालयमाअनुसूचित गरिसकिएको छ । यी तालतलैया, सिमसार, नदीहरुमा आश्रित आदिवासी, विपन्न वर्गहरुको जीविकोपार्जन पनि सँगसँगै जोखिमयुक्त बन्दै गइरहेको छ । 

सामान्यतया सिमसार भन्नाले ओसिलो, दलदले, धाप, ढाव, चिसो रहिरहने आदिलाई वुझाउँछ, जहाँ समान्यतया सदैव चिसोपना हुनुका साथै त्यसमा आश्रित जीव तथा वनस्पतिहरुको अस्तित्व रहिरहन्छ । सन् १९७१ मा ईरानको रामसार क्षेत्रमा गरिएको सिमसार सम्बन्धि अन्र्तराष्ट्रिय महासन्धिले तालतलैयालाई पनि सिमसारका रुपमा समेटेको छ । यस लेखमा चितवनस्थित घैलातालको बारेमा चर्चा गरिएको छ ।

संकटोन्मुख घैलाताल 
एकसिंगे गैडाकालागि विश्वमै प्रख्यात चितवन राष्ट्रियनिकुन्जको मुखैमा रहेको ऐतिहासिक घैलाताल वातावरणीय, सामाजिक तथा सांस्कृकितरुपमा मात्रै नभई आर्थिक, पर्यटकीय तथा जीविकोपार्जनका हिसाबलेपनि उत्तिनै महत्व राख्दछ । विगतका वर्षहरुमा यसक्षेत्रका वरिपरि अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट खुलेकाछन् । चौधरी ग्रुपअन्र्तगतको होटल ताज सेराई  यसको ज्वलन्त उदाहरण हो । 

केरुङ्गा मध्यवर्ती क्षेत्रअन्र्तगत घैलाघारी सामुदायिकबनभित्र अवस्थित घैलातालको वर्तमान अवस्थादयनीयछ । घैलाताल भरतपुर महानगरपालिका–२३ अन्र्तगत कसरा चोकवाट करिव आधा किलोमिटर दक्षिणतर्फ घैलाघारी सामुदायिकवनक्षेत्र भित्र छ ।

घैलातालबारे एक किम्वदन्ती छ। जसअनुसार परापूर्वकालमा भक्तजनहरुले तालमा नुहाई शुद्धसफासुग्घर भएर वरदान माग गर्दा डुङ्गामा पूजासामग्रीसहित खाना पकाउने, भाँडा प्रकट हुने र पूजाआजा सकिएपछि उक्त सामग्री पुनः डुङ्गामा शुद्धबनाई छाडी दिंदासमानसहित डुङ्गासमेत गायव हुनेगरेकोथियो । तर कालन्तरमा कुनै भक्तजनले डाडु लुकाएका कारण उक्त डुङ्गा प्रकटहुन छाडेको भन्ने पौराणिक भनाई छ । 

तत्कालीन केरुङ्गा मध्यवर्तीक्षेत्र उपभोक्ता समितिका अध्यक्ष सनवहादुर तामाङ्गका अनुसारविसं २०१२ सालतिर चितवनमा नयाँबसोवासहुनुभन्दा अगाडि हाल तालरहेको स्थानमा नदीको बहावथियो । पछि नदीको धार परिवर्तन भईपुरानो बहाव क्षेत्रजति जलाशयमा रुपान्तरित भई घैलाको स्वरुप लिएकाले  घैलाताल नाम रहन गएको हो । 

घैलाताल पुग्न सहज छ । भरतपुरबाट कसरा, माडी ठोरी, सुवर्णपुर पर्सा जोड्ने हुलाकी सडकले यस तालको पश्चिमतर्फको भागलाई सिउँदो चिरेजस्तै चिरेर गएको छ । कसरा चोकवाट करिव आधा किलोमिटर अगाडि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यालय छ । त्यसकै समिपमा तालको दुवै तर्फको भाग अवलोकन गर्न सकिन्छ । तालको पुरै स्वरुप हेर्न भने जंगल भिल्ला रिसोर्ट रहेको स्थानसम्म पुग्नुपर्ने हुन्छ ।

स्थानीयहरुको भनाइमा २०२६ सालतिर नापी हुँदा, यस तालको उत्तरतर्फ मलिलो धान खेती हुने नम्वरी जमिन रहेको र दक्षिणपट्टि घना वन जंगल (हालको राष्ट्रिय निकुन्ज) रहेको थियो । त्यसताका घैला तालमा विभिन्न प्रजातिका माछा, कछुवा मगरगोहीलगायत सरिसृपहरुको वसोवास रहेको थियो । तालतर्फ विचरणगर्न आउने चित्तल, वँदेल रतुवाले स्थानीयका बाख्रा, कुकुर लगायत मार्ने गरेको बताउँछन् यहाँका बुढापाकाहरु । 

कतै ४० देखि ५० मिटरसम्म साँघुरिएको, करिव ४ सय मिटर लम्बाइमा फैलिएको,६ मिटर गहिराइ अनुमान गरिएको घैलातालको अस्तित्वको  संकट तब सुरु भयो, जब २०३६ सालको चुनाव आयो । जनमत संग्रहमा सारा प्रशासन होमिएको मौका छोपी तालको दक्षिण तर्फको धेरै भूभागमा अतिक्रमण सँगै खेतीपाती अनि बसोवास गरियो । जसले गर्दा तालसँगको राष्ट्रिय निकुञ्जको सामिप्यता विखण्डित भयो । त्यस्तै, २०५९ सालमा आएको वाढीले धेरै जनधनको मात्रै नोक्सानी गरेन, अपितु तालको स्वरूपलाई नै पूर्ण संकटमा पारिदियो । 

घैलातालबारे एक किम्वदन्ती छ । जसअनुसार परापूर्वकालमा भक्तजनहरुले तालमा नुहाई शुद्ध सफासुग्घर भएर वरदान माग गर्दा डुङ्गामा पूजा सामग्रीसहित खाना पकाउने, भाँडा प्रकट हुने र पूजाआजा सकिएपछि उक्त सामग्री पुनः डुङ्गामा शुद्ध बनाई छाडी दिँदा सामानसहित डुङ्गासमेत गायव हुने गरेको थियो । तर कालन्तरमा कुनै भक्तजनले डाडु लुकाएका कारण उक्त डुङ्गा प्रकट हुन छाडेको भन्ने पौराणिक भनाई छ । 

अहिले वरपर खेती गरिरहेका स्थानीय र घैलाताल बीचको वैधानिक सिमाना पहिल्याउन समेत अप्ठेरो भएको कुरा स्थानीय जनप्रतिनिधिहरु बताउँछन्। तालको वरपर गरिने खनजोत, लघुपम्प सिँचाइ अनि खेतका आली,ढिस्को भत्केर बर्षातको भलसँगै खाल्डो पुरिदै जाने, लेउझ्याउ, जलकुम्भी, करौते झार, पटेर बाक्लिदैै जाने, थिग्रेटो जम्नगई यसको सिमाना झनझन संकटमा परिरहेको छ ।

हाल घैलातालको पूर्व तर्फको भाग राप्ती नदीसँग जोडिएको छ, त्यसमा बाँध वनाइ बाढी रोक्ने, सिँचाई गर्ने गरिएको छ । यदि २०५९ सालको जस्तो बाढी आएमा तालको दुवैतर्फको तल्लो तटीय क्षेत्र वरपरको वनजंगल र मानवीय वस्तीमा अत्यधिक असर पर्ने भन्छन्,घैलाघारी सामुदायिक वनका पदाधिकारीहरु । 

जीविकोपार्जनका लागि अवसर 
यहाँस्थित सामुदायिक वनमा चरिचरण पूर्णरुपमा नियन्त्रित छ । घाँस, चरण क्षेत्र, सोत्तर, दाउरा तथा स्याउला आदिले स्थानीय विपन्न पशुपालक किसानलाई केही अवसर त दिएको छ । तर, तालको वरिपरि खेर गइरहेको जमिनलाई तालको स्वरुप र प्रणालीमा असर नपर्ने गरीडाले, भूइघाँस, बाँस, निगालो, वेत, कृषि वनको रुपमा उपयोग गरिएमा तालको संरक्षण हुनेछ । साथै जैविक बाँधको कामगर्ने, माटो थिग्रिनवाट जोगाउने,तालभित्रको पानी शुद्धीकरण हुन गई चिसोपन सदावहार रहिरहने हुन्छ ।

विगतमा छाडा चरि चरण,श्रोतको अत्यधिक अनियन्त्रित संकलन गरिएकाले वन्य जीवजन्तुको रोग, घरेलु वस्तुभाउमा र घरेलु वस्तुभाउको रोग जंगली जनावरमा संक्रमित हुने संभावना रहन्थ्यो । तर हाल घैलाघारी सामुदायिक वन केही हदसम्म नियन्त्रित भएको, पर्यटकीय आयआर्जन, माछापालन लगायत गरेको देखिन्छ । तर यसले तालको जैविक जिविधता संरक्षणमा खासै योगदान पुगेको देखिदैन । 

स्थानीय जीविकोपार्जनको दीगो आधार बन्नसक्ने घैलातालको अस्तित्व संरक्षण गरी उत्पादकत्व अभिवृद्धि गर्न सकिएमा कृषि, सिँचाई, पशुपालन, पर्या पर्यटनका साथै वन्यजन्तु, जलचर पशुपंक्षीको संरक्षणमा सहयोगी सावित हुनेछ । 
घैलातालको संरक्षण सम्वर्द्धन
पुरानो घैलातालको तुलनामा अहिले यसको पचास प्रतिशत क्षेत्र मासिएको छ । यद्यपि यसको संरक्षण प्रयास भने नभएको होइन, राष्ट्रियनिकुन्जको सहयोगमा स्थानीय निकाय तथा सामुदायिक वनले बारम्बार वैधानिक सिमाङ्कनको प्रयास गरिरहेका छन् ।

हालका पदाधिकारीहरूको ताल संरक्षण प्रतिको प्रतिवद्धताले अस्तित्व रक्षाका लागि केही पहल हुनसक्ने आशा गर्न त सकिन्छ । तर राजनीतिक संरक्षणले पनि अदृश्य रुपमा मलजल गरिरहेको छ ।राष्ट्रिय निकुञ्जको आकर्षणले जमिनको मुल्य आकासिएको छ । बढ्दो जनघनत्व, यस क्षेत्रलाई भरतपुर महानगरपालिकामा समेटिनु र जमिनको मूल्य बढ्दै जानुले अतिक्रमित जमिन प्राप्तगर्न चुनौती हुने देखिन्छ । 

अबका दिनमा विगतमा गरिएका प्रयास, सिकाई तथा उपलब्धिकै सेरोफेरोमा रहेर संरक्षण योजना बनाइनु पर्दछ । यस तालभित्र पाइने माछा, घोंघी लगायत खानेकुराबाट मात्र स्थानीय आश्रितहरुको जीविकोपार्जन दीगो हुन्छ भन्नेमा मात्रै सीमित रहनु हुँदैन ।

जबसम्म घैलाघारी ताल तथा त्यस क्षेत्र वरिपरि बसोवास गरिरहेका स्थानीय उपभोक्ता वर्गको, समुदायको जीविकोपार्जनका सवाल, प्राथमिकता तथा उनीहरुको जोखिम वहन गर्ने क्षमता जस्ता कुरालाई  घैलाघारी ताल संरक्षण कार्यक्रमको एउटा अभिन्न पाटोका रुपमा समावेश गरिँदैन, तबसम्म सहभागितामूलक ताल संरक्षण र त्यसको औचित्यपूर्ण उपयोग दीगो हुँदैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ताराप्रसाद ज्ञवाली
ताराप्रसाद ज्ञवाली
लेखकबाट थप