बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कान्तिपुर र नागरिक सामुदायिक अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट

चार जना पक्राउ
बुधबार, १९ माघ २०७८, १२ : १६
बुधबार, १९ माघ २०७८

काठमाडौँको तीनकुनेमा सञ्चालित कान्तिपुर अस्पताल र भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालको ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको थाहा भएको छ । कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट ‘नक्कली’ बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

कान्तिपुर अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारी माधव मैनाली र बिचौलिया नगेन्द्रकुमार यादवलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । नागरिक कम्युनिटी अस्पतालको ल्याबका मेनेजर प्रशन्न कुमार झा र बिचौलिया रोशन कुमार छिट्टान पक्राउ परेका छन् ।

कान्तिपुर अस्पतालका ल्याब इन्चार्ज निर्मल गिरी फरार छन् । ल्याबले बिचौलियालाई परिचय पत्र नै बनाएर बजारमा ‘नेगेटिभ’ पीसीआर रिपोर्ट आवश्यक पर्ने ग्राहक खोज्ने गरेको अनुसन्धानबाट थाहा भएको एसएसपी कुँवरले बताए । दुवै अस्पतालको ल्याब प्रहरीले सिल गरेको छ ।

यसरी खुल्यो पोल

माघ ४ मा एकजना महिला स्वीट्जरल्याण्ड जानुपर्ने थियो । तर, पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आएपछि उनी समस्यामा परिन् । त्यसपछि उनी नागरिक सामुदायिक अस्पतालको ल्याबका बिचौलिया रोशन कुमार छिट्टानको सम्पर्कमा पुगिन् । छिट्टानले उनलाई महँगो शुल्क लिएर तत्काल ‘नेगेटिभ’ रिपोर्ट बनाइदिए । उनी जनवरी १८ मा साँझ त्रिभुवन विमानस्थलबाट स्वीट्जरल्याण्ड उडिन् ।

सो सुराक अपराध महाशाखाका अनुसन्धान अधिकृतले पाए । त्यसपछि महाशाखाका प्रहरी नै डिभी परेको हुनाले अमेरिकाको फ्लाइट छ भन्दै नागरिकको ल्याबमा गए । ल्याबले ८ हजार लिएर चाहिएको रिपोर्ट दियो । ‘त्यसपछि ५ जनालाई पठायौँ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘ल्याबले ५ जनाको ४० हजार ठिक पार्नु भनेर स्वाब दिएको केही बेरमा नै फोन गरेर भनेको थियो ।’

कान्तिपुर अस्पतालको ल्याबले चाहिँ प्रतिव्यक्ति ६ हजार लिएर ‘नेगेटिभ’ रिपोर्ट बनाउने गरेको बताउँछन् अपराध महाशाखाका एसपी कृष्ण कोइराला । रातोपाटीसँग कोइरालाले भने–‘फरक मान्छेको स्वाब लिएर र कतिपय अवस्थामा बिचौलिया आफैँले स्वाब दिएर पनि नेगेटिभ रिपोर्ट बनाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’ आरोपीहरू विरुद्ध सङ्क्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप