बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओमिक्रोन: सीटी भ्यालु उकालो, गम्भीरता ओरालो !

बुधबार, १९ माघ २०७८, ०६ : ५५
बुधबार, १९ माघ २०७८

लेखकले ओमिक्रोनको प्रभावलाई दुई चरणमा हेर्ने गरेको छ।पहिलो चरणमा यसको प्रभावलाई रोक्ने अथवा नियन्त्रण गर्ने कोसिस गरिने भने, दोस्रो चरणमा सङ्क्रमित भैसकेकाहरू मध्ये जोखिममा भएकाहरू अस्पताल आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर तयारी गर्नु पर्ने भन्ने हो।दुई मध्ये पहिलो चरण ओमिक्रोनले पार गरिसकेको देखिन्छ। तसर्थ सङ्क्रमितहरू अधिकांश घर घरमा बसिरहेको अवस्थामा छन्। स्वास्थ्य मन्त्रालयको भनाइ अनुसार दोस्रो लहरमा भन्दा तुलनात्मक रूपमा अहिले (तेस्रो लहरमा) धेरैलाई आईसीयु तथा भेन्टिलेटरको आवश्यकता परेको छैन। लेखकको सम्पर्कमा रहेका सयौँ सङ्क्रमितहरू ३ देखि ७ दिनसम्ममा स्वास्थ्य लाभ गरेका देखिन्छन्, र बाकीमा पनि ठुलो स्वास्थ्य समस्या भने देखिएको छैन। हाल कोरोना पोजेटिभ देखिएकाहरूको सीटी भ्यालु डेल्टाको लहरमा भन्दा केही बढी देखिने गरेको छ । अर्थात् डेल्टाको तुलनामा ओमिक्रोनको सीटी भ्यालु उकालो लागेको देखिन्छ भने रोगको गम्भीरता तुलनात्मक कम देखिएको छ।

हात हातमा पुग्ने कोरोना पोजेटिभको नतिजासँगै सीटी भ्यालुको अङ्क सम्प्रेषण पनि गरेको हुन्छ। खासगरी, प्रत्येक लक्षित जीनको फरक फरक सीटी भ्यालु उल्लेख गरेको हुन्छ। सीटी भन्नाले "साइकल थ्रेसहोल्ड" भनिएको हो। सामान्यतया सीटी भ्यालुको आधारमा सङ्क्रमितमा भाइरसको भार, गम्भीरता र सङ्क्रमण फैलाउन सक्ने क्षमताको मापन गर्ने गरिन्छ। यो विशेष गरेर उपचारमा संलग्न चिकित्सकलाई सङ्क्रमितको अवस्था, भावी उपचार तथा परामर्शको लागि उपयोगी मान्ने गरिन्छ।सङ्क्रमितको सिटी भ्यालु जति कम भयो त्यति नै भाइरसको भार बढी, सङ्क्रमितमा लक्षण गम्भीर हुनसक्ने र बढी सङ्क्रामक हुनसक्ने अनुमान गरिन्छ । त्यस्तै सिटी भ्यालु बढ्दै गए भाइरसको भार, लक्षणको गम्भीरता र फैलने क्षमता कम हुँदै जाने अनुमान गरिन्छ। तर क्लिनिकल सेटिङ्गमा माथि उल्लेख गरे जस्तो हुबहु हुने भने गर्दैन। अर्थात्, कतिपयमा सिटी भ्यालु कम हुँदा पनि स्वास्थ्यमा जटिलता देखिँदैन भने, सिटी भ्यालु उच्च हुँदा पनि कतिपय सङ्क्रमित जटिल अवस्थामा गएको पनि पाइन्छ। सिटी भ्यालु बाहेक सङ्क्रमितमा रोग प्रतिरोधात्मक क्षमताको अवस्था, उमेर, लिङ्ग, दीर्घरोग तथा खोप लिए/नलिएको अवस्थाले सङ्क्रमणको जटिलता निर्धारण गर्ने गर्दछ।

हाल कोरोनाको तेस्रो लहरको कारक ओमिक्रोनलाई मानिन्छ। यो अघिल्लो भेरिएन्ट डेल्टा भन्दा तीव्र गतिमा फैलन सक्ने तर जटिलता भने तुलनात्मक कम हुने देखिएको छ। लेखकले हालै सङ्क्रमितहरूको सिटी भ्यालुको विश्लेषण गरेको थियो। अधिकांश सङ्क्रमितहरूको सिटी भ्यालु अघिल्लो भेरिएन्टको भन्दा बढी/उच्च देखिएको छ। सबैभन्दा धेरै सङ्क्रमितहरूमा सिटी भ्यालु २० देखि ३० को बीचमा देखिने गरेको पाइन्छ, भने त्यसपछि सिटी भ्यालु ३० भन्दा माथि धेरैमा देखिएको छ।झन्डै ६ देखि २० प्रतिशतमा मात्र सीटी भ्यालु २० भन्दा मुनि देखिने गरेको छ। अर्थात्, ओमिक्रोन लहरमा २० प्रतिशत भन्दा कम सङ्क्रमितमा मात्र सीटी भ्यालु कम देखिएको वा भाइरल लोड बढी देखिएको छ। तर डेल्टामा भने अधिकांश संक्रमितमा सीटी भ्यालु २० भन्दा कम देखिने गरेको थियो। अमेरिकाको सिडीसीले गरेको अनुसन्धानले पनि डेल्टा सङ्क्रमितमा सीटी भ्यालु कम देखिएको नतिजा प्रकाशित गरेको थियो। सीटी भ्यालुमा देखिएको फरक नतिजाले पनि ओमिक्रोन र डेल्टा बीचमा गम्भीरता/मृत्युदरमा फरक देखिएको हुन सक्दछ। तर बहु-दीर्घ रोग भएका ज्येष्ठ नागरिकहरूमा भने सीटी भ्यालु २० भन्दा कम नभएता पनि जटिल अवस्थामा पुग्ने वा मृत्युवरण गर्नु परेको ओमिक्रोन लहरमा देखिएको वा देखिँदैछ। यसले सीटी भ्यालु मात्र नभएर सङ्क्रमितको उमेर तथा स्वास्थ्य अवस्थाले पनि सक्रमितको गम्भीरता निर्धारण गर्ने देखाएको प्रष्ट हुन्छ। वास्तवमा, ओमिक्रोनले पहिलो लहरमा दीर्घ रोग भएका ज्येष्ठ नागरिकहरू पारेको प्रभावको सम्झना गराएको देखिन्छ। तसर्थ, हाल अधिकांश मानिसहरू सङ्क्रमित भएका र होम आइसोलेसन रहँदै गर्दा बहु-दीर्घ रोग भएका ज्येष्ठ नागरिकहरूका स्वास्थ्य अवस्थाको बारेमा परिवारका अरू सदस्यहरूले ध्यान दिनु पर्ने देखिन्छ।

 


 

सीटी भ्यालु सामान्यतया स्वाब लिएको तरिका, ठाउँ (घाटी वा नाकबाट), सङ्क्रमण भएको समय र पीसीआर गर्दाको प्रक्रियामा भर पर्ने गर्दछ। तसर्थ कहिले काहिँ पीसीआर गर्दा फरक ठाउँमा फरक भ्यालु देखिने पनि गर्दछ। सीटी भ्यालुलाई धेरैले आ-आफ्नै तरिकाले व्याख्या गर्ने र सर्ने/नसर्ने अनुमान गरेर आइसोलेशन वा अलग्गै नबसी जनस्वास्थ्यका मापदण्डहरूको समेत बेवास्ता गर्ने गरेको पाइन्छ। सीटी भ्यालुले सार्न सक्ने वा नसक्ने अनुमान गर्न सकिने भएपनि यकिन/ठोकुवा गर्न सकिँदैन। तसर्थ पीसीआर पोजेटिभ देखिए चिकित्सकको सल्लाह लिनु उचित हुनेछ। 

अन्तमा, ओमिक्रोनको लहरमा अधिकांश सङ्क्रमितमा डेल्टाको प्रभावमा जस्तो जटिल अवस्था देखिएन। ओमिक्रोनमा देखिएको यस्तो फरक नरम अवस्थाको कारण थाहा पाउने उद्देश्यले लेखकले सीटी भ्यालुको विश्लेषण गर्ने प्रयास गरेको थियो। चाखलाग्दो कुरा के पायो भने, समग्रमा सङ्क्रमितहरूको सीटी भ्यालु डेल्टाको तुलनामा ओमिक्रोनमा उकालो लागेको देखियो अर्थात् भाइरसको भार डेल्टा सङ्क्रमितमा भन्दा कम देखियो। तर, दीर्घ रोग भएका ज्येष्ठ नागरिकहरू सङ्क्रमित भई त्यति नै सीटी भ्यालु देखिए पनि जटिल अवस्था सिर्जना हुने र अझ मृत्यु हुने जोखिम समेत देखियो। तसर्थ, स्वास्थ्य समस्या नभएका ६० वर्ष मुनिका अधिकांशमा (सीटी भ्यालु २० भन्दा माथि) ओमिक्रोनले सङ्क्रमण गर्दै गर्दा खासै कडा/गम्भीर स्वास्थ्य चुनौतीको सामना गर्नु परेको नदेखिएता पनि ओमिक्रोन घर घरमा पुगेको र परिवारका अधिकांश सदस्यहरू सङ्क्रमित हुँदै गर्दा दीर्घ रोगी र त्यसमा पनि खोपको पूर्ण मात्रा नलगाएका ज्येष्ठ नागरिकहरूको लागि भने आगामी केही दिन सकसपूर्ण तथा उच्च स्वास्थ्य जोखिममा रहनेछन्।

डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप