बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

असई थमन हत्या प्रकरण: प्रदेश सांसदसहित १९ जनाको सम्पत्ति रोक्का

मङ्गलबार, १८ माघ २०७८, २१ : ५९
मङ्गलबार, १८ माघ २०७८

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा महोत्तरी अदालतले हत्यामा संलग्न रहेको आरोपमा मधेस प्रदेशका प्रदेश सांसदसहित १९ जनाको सम्पत्ति रोक्का गरेको छ । महोत्तरी जिल्ला अदालतले असई विकको हत्या आरोपमा प्रदेश सांसद कौशल कुमार यादव सहित१९ जनाको सम्पत्ति रोक्का गरेको हो ।

अदालतले असई विकको हत्या आरोपमा फरार भनिएका प्रतिवादी समेत रहेका प्रदेश सांसद यादव लगायत १९ जनाको सम्पत्ति रोक्का गर्नका लागि प्रेमबहादुर विकले दिएको जाहेरीको आधारमा सो आदेश जारी गरिएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदन जयसवालले जानकारी दिए ।

असई विकको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा प्रदेश सांसद यादव, विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको समेत सम्पत्ति रोक्का गर्न अदालतले आदेश गरेको श्रेस्तेदार जयसवालले बताए ।

अदालतले आदेश दिँदै भनेका छन्, ‘उल्लेखित प्रतिवादीको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको, तर निज प्रतिवादी हालसम्म फरार सूचीमै रहेका देखिएको हुँदा उनीहरूको अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का राख्न  अदालतको आदेशमा भनिएको छ ।’

सो घटनामा संलग्न रहेको आरोपमा मधेस प्रदेशका तत्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा ०७५ साउन २८ मा, जलेश्वर नगरपालिकाका नगर प्रमुख रामशंकर मिश्र र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेशकुमार पाण्डे ०७५ साउन २९ मा अदालतमा हाजिर भई साधारण तारिखमा रिहा भइसकेका छन् ।

मधेस आन्दोलनताका समयमा ०७२ साल भदौ २५ का दिन महोत्तरीका सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत असई विक आन्दोलनको क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि उनी गम्भीर घाइते भएका थिए । आन्दोलनकारीले उनलाई एक्लै देखेपछि जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा कुटपिट गरेका थिए । सो क्रममा प्रहरीले उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा  महोत्तरी गाउँपालिका स्थित सनोखरा गाउँ नजिकै एम्बुलेन्स भित्रै पुनः कुटपिट गरेपछि उनको मृत्यु भएको थियो ।

उनको हत्याको आरोपमा करिब दुई दर्जन आन्दोलनकारीमाथि लगाइएको थियो । असई विकको हत्या आन्दोलनकारीले गरेको भनिए पनि आन्दोलनरत तत्कालीन मधेस केन्द्रित दलले भने जिम्मेवारी लिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप