आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महिलालाई बहराइनमा बिक्री गर्ने २० वर्षपछि पक्राउ

मङ्गलबार, १८ माघ २०७८, २१ : ३०
मङ्गलबार, १८ माघ २०७८

मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले महिलालाई अस्पतालमा बिरामीको स्याहारसुसार गर्ने काममा पठाइदिने भनी प्रलोभनमा पारी बहराइन पठाएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विज्ञप्तिमार्फत जनाएको छ । 

ब्यूरोका अनुसार पीडित महिलासँग रु ५० हजार लिई २०५८ मा बहराइन पठाएकामा त्यहाँस्थित हुब्बेल म्यानपावर एजेन्सीका प्रतिनिधिले बहराइनकी महिलाबाट ५०० दिनार लिई राहदानी जफत गरी घरायसी कामका लागि बिक्री गरेको खुल्न आएको छ । घरायसी काममा लगाउन खोज्दा नमानेपछि महिलाले यातनासमेत पाएको जाहेरीलाई उद्धृत गर्दै ब्यूरोले जनाएको छ । केही समयपछि महिलालाई पुनः अर्काे घरमा ५०० दिराम लिएर बिक्री गरेको पीडित महिलाले बताएकी छिन् । 

    सोही क्रममा एक विदेशी नागरिकको सहयोगमा नेपालमा जानकारी प्राप्त भएपछि उनको परिवार र साउदी अरबस्थित नेपाली राजदूतावासको सहयोगमा प्रहरीले २०५९ साउन ५ गते उनलाई नेपाल फर्काउन सफल भएको थियो । उक्त मुद्दामा फरार राईलाई ब्यूरोले पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा सोमबारको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको ब्यूरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप