बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल–भारत सम्झौता सम्पन्न

मङ्गलबार, १८ माघ २०७८, १७ : ३९
मङ्गलबार, १८ माघ २०७८

महाकाली नदीमा पुल निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताइन् । त्यस अवसरमा उनले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पु¥याउने विश्वास समेत व्यक्त गरिन् । 

मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरुसँग आग्रह गरिन् ।  

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक रहेको बताए । उनले भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेको उल्लेख गर्दै उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । 

राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने विश्वास लिएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप