शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पुनः जनगणना गर्न सांसदहरुको माग

मङ्गलबार, १८ माघ २०७८, १६ : १६
मङ्गलबार, १८ माघ २०७८

प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर् गणना गर्न समेत माग गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे । उनले काठमाडौँमा सधैँ माइग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए । 

सांसद पाण्डेले भने, ‘अरु जिल्लामा जनसंख्या बढ्ने तर काठमाडौँमा नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्ररी गणना भएन कि या अस्थायी रुपले माइग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरु कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौँमा नभेटेर हो कि ? केही त जष्टिफिकेशन हुनुप¥यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किएकी । नत्र भने यो तथ्य मिलेन । विगतमा त्यो बढेर आउँथ्यो ।’ काँग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन् । 

उनले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् । उनले भनिन्, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन । र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त ? राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन । तथ्यांक आएको छैन । विदेशमा गएकाहरुको गणना छुटेको अवस्था छ । छुटेको जनसंख्यालाई गणना गर्ने के कार्यक्रम छ, योजना छ ? त्यो पनि आउनु प¥यो । र हाम्रो देशको जनसंख्या सही तरीकाले तथ्यांक सहित आउनु प¥यो । मलाई लाग्छ, फेरी पनि पुनर् गणना ग¥यो भने सही तथ्यांक आउँछ ।’ 

यता, केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए । उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए । महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नतिजाको कामलाई विभागले इमान्दारीताका साथ समयमै सम्पन्न गराएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप