बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चुनावको मितिबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल हुँदै

मङ्गलबार, १८ माघ २०७८, १३ : ५७
मङ्गलबार, १८ माघ २०७८

स्थानीय तह निर्वाचनको मिति तय गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल गर्न ३ बजे आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन् ।

आजको छलफलमा आयोगले ऐन कानुन एवं तिथि मितिको विश्लेषण गरेर चुनावको मिति प्रस्ताव गर्नेछ । निर्वाचन आयोगले एकै चरण वा दुई चरणको मिति प्रस्ताव गर्न सक्छ । किनभने यसअघि आयोगले वैशाख १४ र २२ गतेका लागि दुई चरणमा प्रस्ताव गरेको हुनाले अब जेठ मसान्तभित्र दुई चरणमै मिति प्रस्ताव हुन सक्ने स्रोतको भनाइ छ । आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ । 

​सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच सहमति नहुँदा स्थानीय तहको निर्वाचनबारे अन्योल रहँदै आएको थियो । गठबन्धनमा आगामी जेठ महिनाभित्र चुनाव गर्ने सहमति बनेसँगै प्रधानमन्त्री देउवाले मिति घोषणाबारे छलफल गर्नका लागि निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएका हुन् । यसअघि, आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवासँग भेट्नका लागि समय माग्दा भेट पाइरहेका थिएनन् । त्यसपछि आयोगले विज्ञप्ति नै जारी गरेर सरकारमाथि निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुपर्ने भन्दै आयोगले  तत्काल मिति घोषणा गर्न आयोगको सरकारसँग माग थियो ।

सोमबार साँझ नै प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने गरी मिति घोषणा गर्ने सङ्केत गरेका थिए । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप