आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुस्टर डोज खोप दुई करोडभन्दा बढी मात्रा चाहिने सरकारको प्रक्षेपण

४० लाख मात्रा सिनोभ्याक खोप पाइपलाइनमा
मङ्गलबार, १८ माघ २०७८, १२ : ३०
मङ्गलबार, १८ माघ २०७८

सरकारले बुस्टर डोज खोपका लागि थप दुई करोडभन्दा बढी मात्रा चाहिने प्रारम्भिक प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप भण्डारण र पाइपलाइनमा रहेको खोपबाहेक बुस्टर डोजका लागि थप खोप दुई करोड मात्राभन्दा बढी चाहिने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रामा खोप लगाएका सबैजनालाई बुस्टर डोज दिने तयारी स्वरूप सो प्रक्षेपण गरेको हो ।

यद्यपि सरकारले बुस्टर डोज खोप खरिद प्रक्रिया भने अगाडि बढाएको छैन । विभागका एक कर्मचारीले भने, “बुस्टर डोज खोपका लागि अनुदानमा कति मात्रा प्राप्त गर्न सक्छौँ, त्यसबारेमा पहिला निर्क्योल गर्छौं । अनुदानबाट प्राप्त खोपले नपुग्ने अवस्था भएमा कति खरिद गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ ।’  

सरकारले माघ ४ गतेदेखि अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्ति, ६० वर्षमाथिका र दीर्घरोगीलाई बुस्टर डोज खोप दिन सुरु गरिसकेको छ । बुस्टर डोज खोप दिँदा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन सुरु गरेको छ । मन्त्रालयका अनुसार केही ठाउँमा अभियान सुरु भइरहे पनि अबको एक सातापछि सबै खोप केन्द्रबाट प्राथमिकतामा पर्नेले बुस्टर डोज सक्छन् ।

चैत मसान्तसम्ममा १८ वर्षभन्दा माथिका पूर्ण जनसङ्ख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ । भण्डारण र पाइपलाइनमा रहेको खोपले लक्षित समूहलाई पुग्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए । बुस्टर डोज दिनका लागि पाइपलाइनमा रहेका बाहेक थप खोपको आवश्यक पर्ने भएकाले बुस्टर डोज खोपका लागि आवश्यक तयारीमा जुटिरहेको प्रमुख डा. चौरसियाको भनाइ छ ।

भेरोसेल खोपको ६ लाख मात्रा अझै मौज्दात

स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाएका ६० वर्ष नाघेका र दीर्घरोगीलाई बुस्टर डोज लगाउँदामा पहिला लगाएकै खोप लगाउन सुझाव दिएको थियो । तर काठमाडौँ उपत्यकामा ६० वर्ष उमेर पुगेका र दीर्घरोगी बुस्टर डोज खोप दुई दिनसम्म लगाए पनि तेस्रो दिनबाट पाएनन् । मन्त्रालयले भण्डारणमा कति खोप छ भन्ने आकलन नगरीकन दुवै मात्रा जुन खोप लगाएको त्यही खोप लगाउन निर्देशन दिँदा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम दुई दिनसम्म मात्रै चल्यो ।

यद्यपि भेरोसेल ६ लाख मात्रा मौज्दात रहेको प्रमुख डा. चौरसियाले बताए । सो खोप पहिलो मात्रा भेरोसेल लगाएकाहरूलाई दोस्रो मात्रा दिइनेछ । हालसम्म भेरोसेल खोप पाइपलाइनमा नभएको समेत उनले बताए ।

चीन सरकारको सहयोगमा ४० लाख मात्रा सिनोभ्याक खोप पाइपलाइनमा रहेको उनले बताए । “सिनोभ्याक खोप चीन सरकारको सहयोगमा प्राप्त गर्दैछौँ,” उनले भने, “अब खोप आउनेबारे चाँडै नै फाइनल हुँदैछ, सिनोभ्याक खोप आएपछि भेरोसेल दुवै मात्रा लगाएकाले बुस्टर डोज लगाए पनि हुन्छ ।”

खोप मौज्दात कति छ ?

कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहँदा केन्द्र, प्रदेश, जिल्ला लगायतका भण्डारण केन्द्रमा खोप मौज्दात रहेको छ । प्रमुख डा. चौरसियाका अनुसार सबै भण्डारण केन्द्रमा गरी हालसम्म भेरोसेल ६ लाख मात्रा मौज्दात छ । कोभिसिल्ड ३० लाख ७१ हजार मात्रा मौज्दात रहेको छ भने मोडर्ना १५ लाख ८ हजार ४०० मात्रा रहेको छ । यस्तै फाइजर ३ तीन लाख ५३ हजार मात्रा मौज्दात छ भने जोन्सोन ५ लाख २७ हजार ७९५ भण्डारणमा मौज्दात छ । एस्ट्राजेनिका १२ लाख २५ हजार ४०० मात्रा खोप मौज्दात रहेको छ ।  

पाइपलाइनमा खोप

चीन सरकारको सहयोगमा सिनोभ्याक ४० लाख मात्रा पाइपलाइनमा छ । यस्तै बेलायत सरकारको सहयोगमा २१ मात्रा एस्ट्राजेनिका र मोडर्र्ना १ लाख ४० हजार मात्रा खोप आउने प्रक्रियामा रहेको प्रमुख डा. चौरसियाले बताए । यसैगरी पाइपलाइनमा रहेको ६२ लाख फाइजर खोपलाई ८४ लाख मात्रा पु¥याएर ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने निर्णय सरकारले गरिसकेको छ । ती बालबालिकालाई अबको दुई महिनाभित्र खोप दिन सुरु गरिने बताइएको छ ।  १२ देखि १८ वर्ष समूहका बालबालिकालाई ६२ लाख १९ हजार मात्रा फाइजर खोप कोभ्याक्स सुविधामार्फत आउने भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप