शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वामदेवले नयाँ पार्टी खोल्लान् ?

मङ्गलबार, १८ माघ २०७८, १२ : १२
मङ्गलबार, १८ माघ २०७८

पार्टी एकता अभियानमा लागेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल नयाँ पार्टी खाेल्ने वा कुनै विचार मिल्ने पार्टीमा जाने भन्ने कुनै निर्णयमा पुगेका छैनन् । साविक नेकपा विभाजनपछि पार्टी एकता अभियानमा लागेका उनी हाल एमाले उपाध्यक्षबाट राजीनामा दिएर बसेका छन् । तर, अहिले नयाँ पार्टी खोल्न लागेको चर्चा चलेपछि गौतमको लामो समयदेखि प्रेस सहयोगी रहेका विश्वमणि सुवेदीले गौतमले नयाँ पार्टी नखोल्ने जिकिर गरेका छन् । 

विचार मिल्ने पार्टीमा आबद्ध हुने अवस्था नरहेको अवस्थामा नयाँ पार्टी खोल्न सकिने गौतमको बुझाई रहे पनि अहिले नै यसबारे निर्णयमा पुगिनसकेका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले यसबारे जानकारी दिँदै सकभर विचार मिल्नेसँग आबद्ध हुने प्रयास गरिने बताए । 

दुई विकल्पमध्ये पहिलो विचार मिल्नेसँग आबद्ध हुने र दोस्रो विकल्पमा नयाँ पार्टी खोल्ने गौतमको तयारी छ । तर, पहिलो विकल्पमा गौतम रहेकाे सुवेदीले जानकारी दिए । यसर्थ गौतमले तत्काल नयाँ पार्टी खोल्ने तयारीमा छैनन् । 

यसबारे सुवेदीले प्रष्टाएका छन्, ‘पहिलो विकल्प, कुरा मिल्ने पार्टीसँग कुरा मिलाउन अधिकतम प्रयास गर्ने । दोस्रो विकल्प, कतै कुरा मिलेन भनेमात्रै अर्को पार्टी गठन गर्ने । यीमध्ये अहिले उहाँ पहिलो विकल्पमै हुनुहुन्छ ।’

गौतम माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (समाजवादी एकीकृत)मा आबद्ध हुने देखिन्छ । यसका लागि नेकपा (एस)ले औपचारिक रूपमा निर्णय गरेर जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार गर्नुपर्ने र यसबारे निर्वाचन आयोगमा अभिलेख राख्नुपर्ने गौतमले सर्त राखेका छन् । 

गौतम पक्षधर भनिने केशवलाल श्रेष्ठ नेकपा (एस)को उपाध्यक्ष छन् । यसले पनि गौतमलाई नेकपा (एस) आबद्ध हुन सहयोग हुनेछ । 

‘वामदेव समूहका भनिने केशवलाल श्रेष्ठ पार्टी (नेकपा एस)को उपाध्यक्ष हुनुहुन्छ । बलराम बाँस्कोटा किसान महासंघको अध्यक्ष र पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्छ । हरि पराजुली स्थायी कमिटी सदस्य हुनुहुन्छ । सावित्रा भुसाल पोलिटब्युरो सदस्य र बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ । र, हामी वामदेवका थुप्रै साथीहरू यो पार्टी (नेकपा एस)मा छौँ । उहाँमात्र आउन बाँकी हो,’ सुवेदीले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप