गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार : व्यावसायिक उडान कहिलेबाट ?
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध विमानस्थल’ निर्माण सम्पन्न भएको छ । सन् २०१५ बाट निर्माण थालिएको विमानस्थल तोकिएको समयभन्दा करिब तीन वर्ष ढिला गरी हालै सम्पन्न भएको हो । विमानस्थल नेपालको राष्ट्रिय गौरवको आयोजना हो । भौतिक तथा प्राविधिक पक्षका सबै काम सकिएपछि अहिले विमानस्थल परीक्षण उडानको पर्खाइमा रहेको आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन् ।
तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइ ‘रन वे’ भएको विमानस्थलको आइसीबी–१ र आइसीबी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएको छ । आइसीबी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चारवटा लिङ्क ट्याक्सी वे, पाँचवटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारबार, नाला, ५०० कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल बिल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायत सबै काम सकिएको हो ।
तयार संरचनामा प्राविधिक त्रुटिहरू भए/नभएको परीक्षण हुँदै गरेको भैरहवा–गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले रातोपाटीलाई जानकारी दिए । ‘जतिसक्दो चाँडो हामी परीक्षण उडानमा जान चाहन्छौँ । एरो थाइको टोलीले अहिले विमानस्थलको सम्भावित त्रुटिहरू हेर्दैछ । विमानस्थलमा भौतिक तथा प्राविधिक त्रुटिहरू नभए ढिलोमा अबको १५–२० दिनभित्रै परीक्षण उडान हुन्छ,’ दाहालले भने ।
दाहालका अनुसार अहिले विमानस्थलको परीक्षण एरो थाइको प्राविधिक टोलीले गरिरहेको छ । उक्त टोलीले विमानस्थलको सम्पूर्ण परीक्षण पूरा गरी प्रतिवेदन बुझाएलगत्तै परीक्षण उडान हुनेछ ।
सार्वजनिक लेखा समिति सभापतिसहित सरकारी अधिकारीहरू लिएर विमानस्थल निरीक्षण निम्ति भैरहवा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलको क्यालिब्रेसन फ्लाइट फागुन दोस्रो साताभित्र भइसक्ने घोषणा गरेका थिए । आलेले बुद्धजयन्ती अघि नै भैरहवामा कुनै पनि हालतमा ठूला जहाजको उडान हुने बताएका थिए ।
पहिलो चरणमा गौतम बुद्ध विमानस्थलको हवाई परीक्षण अर्थात् ‘ल्यान्डिङ तथा टेक वे’ नेपाल वायुसेवा निगमको न्यारो बडी जहाजबाट हुनेछ ।
व्यावसायिक उडान कहिलेबाट ?
परीक्षण सफल भएलगत्तै नियमित व्यावसायिक उडान/अवतरण गर्ने योजना विमानस्थलको छ । यसका लागि अहिले अन्तर्राष्ट्रिय हवाई कम्पनी तथा सरोकारवाला निकायहरूसँग छलफल चलिरहेको महाप्रबन्धक दाहालले बताए ।
‘परीक्षण उडानलगत्तै गौतमबुद्ध विमानस्थललाई नियमित व्यावसायिक उडानमा लैजानेछौँ, यसका लागि अहिले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूसँग छलफल चलिरहेको छ । ७–८ वटा कम्पनीहरूबाट मौखिक सहमति समेत आइसकेको छ । तर, औपचारिक रूपमै जानुपर्ने हुँदा हामीले परीक्षण उडान भएको ३५ देखि ४५ दिनभित्र अन्तर्राष्ट्रिय उडान कम्पनीहरूलाई नियमित उडानका लागि दरखास्त आह्वान गर्छौं । ढिलोमा वैशाख महिनाभित्र गौतमबुद्ध विमानस्थलबाट नियमित उडान हुनेमा हामी विश्वस्त छौँ,’ दाहालले भने ।
गौतम बुद्ध विमानस्थलबाट दैनिक कम्तीमा ५ देखि १० वटा अन्तर्राष्ट्रिय उडान गराउने लक्ष्य रहेको महाप्रबन्धक दाहाल बताउँछन् ।
व्यावसायिक तथा सामरिक महत्त्व के ?
विशेषतः पश्चिम तराइ क्षेत्रलाई निकै महत्त्व दिएर निर्माण गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थललाई मुलुकको आर्थिक, सामाजिक तथा सामरिक रूपान्तरण निम्ति निकै महत्त्वपूर्ण हिस्सा ठानिएको छ ।
पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, बौद्धमार्गीलाई लक्षित गर्दै बुद्ध सर्किटको प्रवर्द्धन, अन्तरप्रदेशसँगै अन्तर्राष्ट्रिय सम्बन्धको विकासको कडीको रूपमा समेत यो विमानस्थललाई लिइएको छ । यो विमानस्थल वैदेशिक रोजगारी क्रममा आवागमन गर्नेहरूका लागिसमेत उचित विकल्प हुने सरकारको बुझाइ छ ।
गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ देखि २० प्रतिशत यात्रु चाप घट्ने अनुमान छ । यो विमानस्थल सञ्चालनमा आइसकेपछि पनि त्रिभुवन विमानस्थलको व्यावसायिकतामा भने खासै असर नपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाबी गरेको छ ।
गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै थप अन्तर्राष्ट्रिय सम्बन्धहरू विस्तार हुने र स्थानीय होटल, पर्यटन तथा व्यापार प्रवर्द्धनसँगै प्रत्यक्ष परोक्ष २० हजारभन्दा बढीले रोजगारी पाउने अनुमान छ । साथै, विमानस्थलको चेकजाँच, ग्राउन्ड ह्यान्डिलिङ प्राविधिकसँगै विविध पद तथा दरबन्दीमा एक हजारभन्दा बढी नागरिकले प्रत्यक्ष रोजगारी पाउने महाप्रबन्धक दाहाल बताउँछन् ।
दाहालका अनुसार गौतमबुद्ध विमानस्थलमा हाल ३४ जनाको दरबन्दी रहेकोमा विमानस्थलले पूर्णता पाएपछि १५१ जना कर्मचारीको दरबन्दी सिर्जना हुनेछ । यसबाहेक, सेवा प्रदायकले आपूर्ति गर्ने १०३ जना, प्रहरी १ ६७ जना, मेट्रोलोजिष्ट १७ देखि २० जना, अध्यागमन, भन्सार, क्वारेन्टाइन लगायतमा कर्मचारी आवश्यक पर्नेछ ।
सन् २०१५ मा चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले चार वर्षमा सक्ने गरी गौतमबुद्ध विमानस्थल निर्माण ठेक्का लिएको थियो । तर, कोभिड–१९ महामारीसँगै विविध कारणले प्रभावित हुन पुगेको सो आयोजना तीन वर्ष ढिला गरी हालै सम्पन्न भएको हो । तीन चरणमा सम्पन्न भएको आयोजनाको पहिलो आइसीबी–१ अन्तर्गत ६ अर्ब ८२ करोड, दोस्रो अन्तर्राष्ट्रिय आइसीबी–२ अन्तर्गत ५० करोड र तेस्रो मुआब्जा तथा जग्गा अधिग्रहणमा २२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । कार्गोका लागि आवश्यक संरचना निर्माणमा ९० करोड रुपैयाँ लागेको छ ।
कुल ३० अर्ब रुपैयाँभन्दा बढी लागत लागेको विमानस्थल निर्माणमा नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंक (एडीबी) को ६२.६ प्रतिशत लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री