आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कर्णाली पारी’ : एक युगको कथा/व्यथा !

मङ्गलबार, १८ माघ २०७८, ११ : २९
मङ्गलबार, १८ माघ २०७८

गायक शिशिर योगीले गाएको एउटा चर्चित गीत हो ‘कर्णाली पारी’ । यो गीतले कर्णालीको कथा बोकेको छ । खासगरी माओवादी जनयुद्धका समयमा गाउँघर छाडेर हिँडेका युवा हुन् वा हाल रोजगारीका सिलसिलामा आफ्नो जन्मथलो छाडेर विदेशिएका युवा किन नहुन्, ‘कर्णाली पारी’ गीतमा आफ्नो कथा/व्यथा भेट्छन् ।

कर्णाली पारी छैन खेतबारी
रुखो छ टारी झमतारा झमझम
छ बोक्ने धोको मुठो र डोको
मायाको भारी झमतारा झमझम

सञ्जिवनी विश्वकर्माले लेखेको यो गीतमा बीबी अनुरागीले संगीत भरेका हुन् । २०६३ सालमा ‘आकर्षण’ एल्बममा रेकर्ड गरिएको यो गीत कर्णालीवासीको जिब्रोमा झुण्डिएको छ । यो गीतले तत्कालीन अवस्थाको पश्चिम नेपालको कथा/व्यथा बोलेको छ ।

कर्णालीको पीडा

पञ्चायतकालदेखि नै कर्णाली क्षेत्रका नागरिक रोग, भोक र अशिक्षाबाट ग्रसित छन् । गरिबीको बिम्ब बनेको यो क्षेत्रका नाममा कयौं नेताले राजनीति गरे । माओवादी जनयुद्धको आधार थलो पनि कर्णाली नै हो ।

‘राज्यले यो क्षेत्रलाई अपहेलित गरिरह्यो । यस क्षेत्रका नागरिकहरु वर्षौंदेखि अनागरिक बनाइए । त्यतिबेला काठमाडौंमा बसेको मान्छेले पश्चिम क्षेत्रलाई कर्णाली पारी भन्थे । मानौं कि त्यो ठाउँ/क्षेत्र अर्कै देश हो,’ कर्णाली पारी गीतका बारे प्रकाश पार्दै गायक शिशिर योगी भन्छन्, ‘त्यहाँ राज्यको आँखा परेको छैन । तत्कालीन अवस्थाको कर्णालीका कथा/व्यथा र द्वन्द्वका बेलामा यस क्षेत्रका नागरिकहरुले भागेको भोगाइलाई गीतमा उतार्न खोजिएको होे ।’

घरमा बुढा आमा–बुबा, श्रीमती, छोरा–छोेरी एक्लै भएको र आफू परदेशमा भएको अवस्थालाई गीतमा चित्रण गरिएको उनले बताए ।

‘तर अहिले परिवर्तन भइसक्यो,’ उनले भन्छन्, ‘छैन खेतबारी भनेर गीतमा भनिएको छ तर बारी हुनेले पनि बाँझै राखेका छन् । त्यहाँका युवा–युवती कोही गरिबीले त कोही तत्कालीन राजनीतिक परिस्थितिले विदेशिन बाध्य भए । कोही खेतबारी भएर पनि विदेशिन बाध्य भए, कोही नभइकन विदेशिए ।’

गाएक योगीका विचारमा यो एउटा युगान्तकारी गीत हो, जसले युग बोलेको छ । गीतमा त्यतिबेलाको समयमा मान्छेको आर्थिक, बाध्यात्मक अवस्थालाई उजागर गरेको छ ।

‘झमतारा झमझम’

गीतमा थेगोका रुपमा ‘झमतारा झमझम’ भन्ने शब्दावली प्रयोग गरिएको छ । गायक योगीका अनुसार यो एउटा एकतारे बाजा हो, जो अहिले पूर्ण रुपमा लोप भइरहेको छ ।

त्यही बाजालाई आफूहरुले थेगोमा राखेर ‘झमतारा झमझम’ भनेर राखिएको उनले सुनाए । ‘झमतारा झमझम’ले गीतको माधुर्यतालाई अझ प्रगाढ बनाइदिएको छ ।

स्टेजमा दुई–पटक गाउनुपर्छ

‘कर्णाली पारी’ गीतको म्युजिक भिडियोलाई गायक योगीले १८ महिना अगाडि आफ्नो नामको युट्युव च्यानलमा अपलोड गरेका छन्, जसमा हालसम्म १० लाखभन्दा धेरै पटक हेरिएको छ । त्यसो त गीतको भिडियो बनेको छैन । अपलोड गरिएको भिडियोमा गायक योगीले ‘लिप्सिङ्’ मात्र गरेका हुन् ।

योगी भन्छन्, ‘मेरो युट्युवमा राखेको पहिलो गीत यही हो । बिना प्रचार अत्यधिक रुचाइयो ।’

स्टेज कार्यक्रमहरुमा जाँदा योगी प्रायः यो गीतलाई दर्शक–स्रोताको मागअनुसार दुई पटक गाउने गर्दछन् । केही दिन अघि सुर्खेतको वीरेन्द्रनगरमा गरिएको ‘शिशिर योगी साँझ’ मा उपस्थित सबैले सबैभन्दा पहिला यो गीत सुनाउन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप