बालबालिकालाई मोबाइलको लतः अभिभावक नै दोषी !
केही अभिभावकको चिन्ताको विषय छ, मेरो छोरो ५ वर्ष भइसक्यो पटक्कै जिब्रो फट्काएर बोल्दैन । मेरो छोरी २ वर्षकी भई अझै राम्रोसँग हिँड्न सक्दैन । उमेर अनुसार छोराछोरी बोल्न, हिँड्न नसक्दा अभिभावक चिन्तित हुनु स्वाभाविक हो । तर कमजोरी अभिभावकमा पनि छ । जब बालबालिकाहरू बामे सर्न खोज्छन्, उनीहरूलाई त्यसो गर्न दिइँदैन । हिँड्ने वेला लड्छौ भनेर हिँड्न दिइँदैन । तोतेबोलीमा बोल्न खोजिरहेको हुन्छ, उसले साथी पाउँदैन । दोहोरो माध्यममा कुरा गर्ने साथी नपाएपछि बोल्न सक्ने भाषाको विकास पनि हुँदैन । चिकित्सक तथा यस विषयमा अध्ययन गरिरहेका मनोवैज्ञानिकहरू प्रकृतिको नियम विपरीत मान्छेले आफ्नो दैनिक गतिविधि अगाडी बढाउँदै जाँदा त्यसको नकारात्मक प्रभाव र परिणाम देखा पर्दै गएको बताउँछन् ।
आजभोलि हाम्रो दैनिकी यति व्यस्त हुँदैछ कि कसैसँग कुरा गर्ने फुर्सद छैन । हाम्रो व्यवहारको विकास कस्तो हुँदै गयो भने बालबालिकाहरू धुलोमा खेल्न गए कपडा मैलो हुन्छ, हामीलाई धुने फुर्सद छैन । बालबालिकाहरूसँग घर नजिकैको चौरसम्म घुम्न जाने फुर्सद छैन । त्यसैले बन्द कोठामा बच्चाहरूलाई थुनेर राख्ने अनि मोबाइल खेल्न दिने अथवा टिभी हेर्न दिने, आनन्दै । कोठाभित्र पनि सिकाइका विभिन्न क्रियाकलाप अगाडी बढाउन त सकिन्छ । तर पनि बाबुआमा नै मोबाइलमा व्यस्त हुने भएकोले तिनको कुराकानी, छलफल नै सुन्न पाउँदैन भने कसरी भाषाको विकास हुन्छ ? एउटा दुधे सानो बालकलाई पनि आमाले स्तनपान गराउँदा बच्चासँग कुराकानी नगरी आमाले समेत मोबाइलमा गीत, भिडियो, टिकटक हेरेर समय व्यतीत गर्छिन् भने बालकले के सिक्छ ? त्यस्तो दुधे बच्चासँग आमाले आँखामा आँखा जुधाई खुसी मुद्रामा स्तनपान गराउनु पर्छ । बच्चासँग कुराकानी गर्दै बाबा, मामा, चाचा, नानु, सानु भन्दै सुमसुम्याउँदै स्तनपान गराउने वातावरण हराउँदै गएको छ ।
पहिले संयुक्त परिवारको अवधारणा थियो । परिवारमा बाजे–बज्यै, आमा–बुबा, काका, काकी, फुपू लगायतका सदस्य हुन्थे । आजभोलि परिवारको आकार सानो हुँदै गएको छ । सानो परिवारको चार जना सदस्यमा पनि बाबु–आमा नै जागिरे हुनेले दुधे बालकको स्याहारको लागि पैसा दिएर धाई महिला राख्नाले पनि बालबालिकाहरूको पर्याप्त सिकाई भएको छैन । बालबालिकाहरूले जसरी सिक्यो त्यस्तै जान्ने हो, सिकाइमा बालबालिकाको दोष हुँदैन । बालबालिकालाई कस्तो बनाउने ? भन्ने कुरामा सर्वप्रथम बाबु–आमा, परिवार, समुदाय र विद्यालयको ठुलो भूमिका हुन्छ, त्यो वातावरण हराउँदै गएको छ । भाषाको चार सीप सुनाई, बोलाई, पढाई र लेखाई नै ब्रेकडाउन गरिएको छ । परिणामस्वरुप कतिपय बच्चाहरू तीन वर्ष पुग्दासमेत प्रष्ट बोल्न सक्दैनन् । र, अभिभावकको चिन्ताको विषय बन्न पुग्छ ।
बालबालिकाहरूलाई समुदायमा घुलमिल हुन नदिनु बाबु–आमाकाको दोष देखिन्छ । हाम्रा आजभोलिका घर पनि प्रायः ढलानवाला बनाउने र चारैतिरबाट पर्खाल लगाई मूल गेटमा ठुलो चेनगेट लगाउने प्रचलन छ । यसबाट बच्चाहरू घरभित्रको साँघुरो घेरामा नै बस्नुपर्ने बाध्यता भएको छ । एउटा सानो बच्चाले न बाहिर गएर खेल्ने, न भित्र कोही साथीहरूसँग खेल्ने मौका पाउँछ । खेल्दै सिक्दै जाने बालबालिकाहरूको उमेरमा हाम्रो ठाडो हस्तक्षेप र बन्देज भएकाले उनीहरूको स्वभाव र व्यवहार मा परिवर्तन देखा पर्दै जानु स्वाभाविक हो । हामीलाई मान्छेमाथि नै विश्वास लाग्न छाडिसक्यो । घर घरमा एउटा भोटे कुकुर पाल्ने र अपरिचित व्यक्ति घरमा आयो भने कुकुर भुक्ने भएकोले त्यो अपरिचित व्यक्तिसँग कसरी चिनजान होस् ? छिमेक, परिवार र समुदायको सम्बन्ध कसरी अगाडी बढोस् ? “रुख अनुसारको छाया, साइनो अनुसारको माया” भन्ने उखान आजभोलि हराउँदै गएको छ ।
बालबालिकाहरूका लागि पहिले र अहिलेका खेलहरू तुलना गर्ने हो भने आकाश पाताल फरक छ । गाउँघरमा, पहिले पहिलेका खेलमा रुमाल लुकाउने, आँगनमा दश कोठाको धर्को कोरेर खेलिने राज्य खेल, परालको थुप्रोमा लुकामारी खेलिने खेल, ओरो–डोरो खेल, मुलाबारीको खलामा खेलिने खेल, मुसा–बिरालो खेल, लक्कु ढाल, पौडी खेल, गोबर मन्टी खेल, दसैँमा चङ्गा उडाउने खेल, भुरुङ्ग नचाउने खेल, डण्डीबियो, ढुङ्गाको कट्टा खेल लगायतका थुप्रै खेल लोप भइसकेका छन् । पुराना खेलको बारेमा अचेलका बालबालिका अनभिज्ञ छन् । यी सबै खेललाई मोबाइल कम्प्युटर, इमेल–इन्टरनेट, टिकटक, फेसबुक युट्यूव भिडियोले विस्थापित गरिसकेको छ । केटाकेटीदेखि बूढाबूढी सम्मको रोजाई मोबाइल भइसकेको छ । बालबालिकाहरू मोबाइलबाटै विभिन्न गेम खेल्न रुचाउँछन् । मोबाइलमा नै अधिक लत भएको बालबालिकाहरू आजभोलि झर्किने, जिद्धि गर्ने, रिसाउने, पढ्न रहर नगर्ने, आफन्तसँग भेटघाट र भलाकुसारी गर्न मन नलाग्ने, एकोहोरो हुने जस्ता स्वभाव देखाउँछन् । परिवार के हो ?, आफन्तसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको नैतिक शिक्षा छैन ।
नेपालमा मात्र नभएर विश्वका अधिकांश देशमा मोबाइलको बढ्दो प्रयोगले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा ठूलै समस्या पैदा भएको छ । नेपालको शिक्षा क्षेत्र खस्किदै जानुमा पछिल्लो कारणको रुपमा मोबाइलको दुरुपयोग नै हो । मोबाइलकै गलत प्रयोगको कारणले दिनप्रतिदिन हत्या हिंसा, बलात्कार, अपहरण जस्ता सामाजिक समस्या तथा दुर्घटना भइरहेका छन् । यसप्रति राज्यको कुनै चासो छैन । स्पष्ट नीति नियमकै अभाव र कानुनको पालना नगर्नाले नेपालको सामाजिक सञ्जाल त्यति विश्वसनीय र भरपर्दो छैन । बालबालिकाको मानसिक, शारीरिक, संवेगात्मक र सामाजिक विकासको लागि सबै अभिभावकले आफ्नो बालबालिकाको सुन्दर भविष्यको लागि मोबाइलको लतबाट छुटाउन जरुरी छ । मोबाइलको गलत प्रयोगले बालबालिकाहरू बिग्रन दिनु हुँदैन । किनभने आजका बालबालिका भविष्यका कर्णधार हुन् ।