सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीहरूको समस्या एकैचोटी समाधान हुँदैन : शर्मा

सोमबार, १७ माघ २०७८, २० : ०८
सोमबार, १७ माघ २०७८

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भइरहेको बताएका छन् । महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताए । 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उनले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताए । नेविसंघका पूर्वअध्यक्ष समेत रहनु भएका उनले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताए । महामन्त्री शर्माले भने, ‘भातृ संस्थाका समस्याहरु छन् । नयाँ आएका महामन्त्री कहाँ छन् ? के छ ? हाम्रो बारेमा के सोचिरहेका छन् ? भन्ने कुराहरू सामाजिक सञ्जालमा समेत आइरहेका छन् । तर के बिर्सनु हुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीहरूको समस्या एकैचोटी समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन । मेरो नेचरको बारेमा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ताहरू दिएको मान्छे हुँ । अहिले पनि म महामन्त्री भए पनि धेरै बोलेको छैन । बोल्ने वाला पनि छैन । त्यसकारण तपाईँहरूको ईस्यूको बारेमा अहिले हामी छलफल गरिराखेका छौँ । खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ । भातृ संस्थाहरूको बारेमा किन पनि जोड छ भने यो संगठनहरु बलियो बन्नु भनेको तपाईंहरूको लागि होईन् । यो त नेशनको कष्टको कुरा हो । मुख्यकुरा सोसाईटीको डमोक्राईजेशन गर्न सकियो, व्यूरोक्रेसीको सकियो । मान्छेलाई लोकतान्त्रीकरण बनाउन सकियो भने नेपालको डेभलपमेन्टको प्रोसेसलाई बल पुग्छ । र त्यसका लागि नेविसंघ नमूना संगठन बन्नुपर्छ ।’

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहोर्‍याए । उनले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टी भित्र देखिएको समस्याहरूलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए । त्यस अवसरमा विद्यार्थी नेताहरूले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप