शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारको आरोपमा  विप्लव कार्यकर्ताद्वारा सब–इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

सोमबार, १७ माघ २०७८, १९ : २८
सोमबार, १७ माघ २०७८

शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सब इन्जिनियर पवन कुमार यादवमाथि कालोमोसो र जुत्ताको मालासहित हातपात भएको छ ।  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताले उनलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । 

सब इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । 

दिउँसो करिब १ बजे मास्क लगाएर कार्यालयमा आएका १० जना युवाहरूले नाराबाजीसहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए । कालोमोसो लगाइदिएपछि क्रान्तिकारीले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्ति टाँस गरेको छ । 

क्रान्तिकारीका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा शिक्षा समन्वय इकाईका सबइन्जिनियरुहरु पवन कुमार यादव र नविन कुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरू निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । आफूहरूले सो रकम विद्यालयलाई फिर्ता गर्न पटक/पटक आग्रह गरे पनि बेवास्ता गरेका कारण साङ्केतिक रूपमा कारबाही गरेको विज्ञप्तिमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही समेत गर्ने समेत चेतावनी दिइएको छ ।

सवइन्जिनियरद्वयले महाकुलुङको कैलाश आधारभूत विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ आधारभूत विद्यालयमा ५० हजार, बाखोर र चेपेल आधारभूत विद्यालयमा ३५/३५ हजार र खिरौले आधारभूत विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 

यस अघि पनि विप्लव निकटका कार्यकर्ताले आफूलाई हातपात गरेको पीडित सब इन्जिनियर यादवले बताए । यादवले आफ्नो कुनै कमजोरी नरहेको र  कानुनी कारबाहीमा जान आग्रह गरेको भए पनि आफूमाथि भौतिक आक्रमण भएको भन्दै दुःख व्यक्त गरे ।  घटनापछि फरार भएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप