बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राफिक्समा हेर्नुहोस् २०७४ सालको स्थानीय निर्वाचन

सोमबार, १७ माघ २०७८, १८ : ४८
सोमबार, १७ माघ २०७८

सत्तारुढ गठबन्धनमा जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेसँगै देशमा चुनावको चर्चा सुरु भएको छ । शनिबार सत्तारुढ गठबन्धनका शीर्ष नेतासहित विज्ञहरुको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत् सरकारलाई जेठ मसान्तभित्र चुनावको मिति तय गर्न सुझाव दिएको हो । 

गठबन्धनको ‘ग्रिन सिग्नल’ सँगै अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तय गर्नेछ । मिति घोषणा गर्ने विषयमा निर्वाचनसम्बन्धी ऐन संशोधनबारे लफडा कायम नै रहे पनि यो प्राविधिक विषय भएकाले ढिलो–चाँडो यसबारे पनि सहमति जुटेर देश निर्वाचनको दिशातिर अघि बढ्ने अपेक्षा गर्न सकिन्छ ।

देशमा चुनावको माहौल तातिँदै गर्दा एकपटक पछिल्लो स्थानीय निर्वाचनलाई फर्केर हेरौँ–

यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन सम्पन्न गरिएको थियो । पहिलो चरणमा वैशाख ३१ गते, दोस्रो चरणमा असार १४ र तेस्रो चरणमा असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । पहिलो चरणमा बागमती, गण्डकी र कर्णाली प्रदेशमा निर्वाचन भएको थियो भने दोस्रो चरणमा प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएको थियो । तेस्रो चरणमा एक्लो मधेस प्रदेशमा निर्वाचन गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पहिलो चरणको निर्वाचन गराएको थियो भने बाँकी निर्वाचन नेपाली काँग्रेसका सभापति शेरबहादुर नेतृत्वको सरकारले गराएको थियो ।

निर्वाचनमा भरतपुर महानगरपालिका लगायत केही स्थानमा सत्तामा रहेका काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पनि केही स्थानमा गठबन्धन भएको थियो ।

देशभरिका ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिकामा भएको तीन चरणको निर्वाचनपछि नेकपा एमाले पहिलो दल बनेको थियो भने नेपाली काँग्रेस दोस्रो तथा नेकपा (माओवादी केन्द्र) तेस्रो दल बनेको थियो । 

देशभर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा सदस्यहरु गरी नेकपा एमालेका कुल १४ हजार १ सय जनप्रतिनिधि निर्वाचित भएका थिए । त्यस्तै, नेपाली काँग्रेसका ११ हजार ४५६ जना जनप्रतिनिधिले जितेका थिए । ०७४ को चुनावमा माओवादीका ५ हजार ४४० जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रमुख/उपप्रमुख पदमा भएको निर्वाचनको परिणाम

६ महानगरपालिका, ११ उप–महानगरपालिका र २७६ नगरपालिका गरी कूल २९३ प्रमुख पदमा भएको निर्वाचनमा नेकपा एमालेबाट सर्वाधिक १२३ जना निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसका १०५ जना निर्वाचित भए भने माओवादी केन्द्रबाट ३४ जना प्रमुखहरु निर्वाचित भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । यता, मधेसवादी पार्टी राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले क्रमशः १४ र १० जना प्रमुख पद जितेको थियो ।

हेर्नुहोस् तालिका

पालिकाका उपप्रमुख पदमा पनि एमालेकै वर्चश्व रह्यो । नेकपा एमालेका १२३ जना उपप्रमुख विजयी हुँदा नेपाली काँग्रेसबाट १०५ तथा नेकपा माओवादी केन्द्रबाट ३४ जना उप्रमुखहरु निर्वाचित भए । राजपाबाट १४ जना उपप्रमुख विजयी भएका थिए भने फोरम नेपालका १० जनाले जितेका थिए ।

हेर्नुहोस् तालिका

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष पदमा भएको निर्वाचनको परिणाम

देशभर ४६० वटा गाउँपालिका छन् । तीन चरणको निर्वाचनपछि नेकपा एमाले नै सर्वाधिक १७१ जना गाउँपालिका अध्यक्ष पद जित्न सफल भएको थियो । दोस्रो स्थानमा नेपाली काँग्रेसले १६१ पद जित्यो भने माओवादीबाट ७२ जना गाउँपालिका अध्यक्ष निर्वाचित भए ।

मधेसवादी दलमध्ये फोरम नेपालले सर्वाधिक २४ वटा गाउँपालिका अध्यक्षको पद जित्यो भने राजापा नेपालले ११ तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका ५ जना विजयी भए । अन्य पार्टीका १२ तथा स्वतन्त्रबाट ३ जना अध्यक्ष पनि विजयी बनेका थिए ।

हेर्नुहोस् तालिका

त्यस्तै, एमालेबाट देशभर १९४ जना गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए । काँग्रेसबाट १३९ जना उपाध्यक्षहरुले चुनाव जित्दा माओवादीको हातमा ६८ सिट हात परेको थियो । फोरम नेपालबाट २६ जनाले जीत हासिल गरेका थिए भने भने राजपा नेपालले १३ तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका ४ जना विजयी भएका थिए । 

हेर्नुहोस् तालिका

वडाअध्यक्षको निर्वाचन परिणाम

तीन चरणको निर्वाचनपछि ६ हजार ७४२ वटा वडाहरुको परिणाम सार्वजनिक भएको थियो । यसमध्ये एमालेबाट सर्वाधिक २ हजार ५६० जनाले निर्वाचन जितेका थिए भने नेपाली काँग्रेसका २ हजार २८७ जना विजयी भएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रबाट १ हजार १०२ जना वडाअध्यक्ष निर्वाचित भएका थिए । 

उता, फोरम नेपालबाट २६२ जना वडा अध्यक्षहरु निर्वाचित भएका थिए भने राजपा नेपालबाट १९४ तथा लोकतान्त्रिक फोरमबाट ५४ जनाले जीत हात पारेका थिए । आयोगका अनुसार अन्य दलबाट पनि २३१ जना वडा अध्यक्षहरु निर्वाचित भएका थिए भने स्वतन्त्रबाट २८ जनाले चुनाव जितेका थिए ।

हेर्नुहोस् तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप