बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘चुनाव जितेँ भने संसद् भवनमा हमला गर्ने अभियुक्तलाई माफी गरिदिन्छु’

सोमबार, १७ माघ २०७८, १० : ३४
सोमबार, १७ माघ २०७८

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सन् २०२४ मा सत्तामा फिर्ता आए संसद् भवन हमलामा समावेश आफ्ना समर्थकलाई माफी गरिदिने बताएका छन् ।

अघिल्लो वर्ष अमेरिकाको संसद् भवनमा ट्रम्प समर्थकले हमला गरेका थिए र यो हिंस्रक झडपमा पाँचजनाको मृत्यु भएको थियो ।

शनिबार टेक्ससको एक र्यालीमा ट्रम्पले भने, ‘यदि मैले चुनाव लडेँ र जितेँ भने हामीले ६ जनवरीको घटनामा समावेश मानिससँग निष्पक्ष व्यवहार गर्नेछौँ । यदि यसका लागि माफीको आवश्यकता भए पनि हामी उनीहरुलाई माफी गरिदिनेछौँ किनभने उनीमाथि अन्याय गरिँदैछ ।’

६ जनवरी सन् २०२१ मा ट्रम्प समर्थकले संसद् भवनमा घुसेर हिंसा र तोडफोड गरेका थिए जसमा सयभन्दा बढी प्रहरी अधिकारी घाइते भएका थिए । उक्त हिंस्रक भीडले अमेरिकी चुनावमा धाँधली भएको दाबी गरेका थिए ।

हिंसाभन्दा एकदिन अघि ट्रम्पले एक र्यालीमा ‘फाइट लाइक हेल’ भनेका थिए जसका कारण ट्रम्पमाथि अव्यवस्था फैलाउने र हिंसालाई प्रश्रय दिएको आरोप लागिरहन्छ ।

संसद् भवन हिंसाको मामिलामा सात सयभन्दा बढी जनालाई पक्रउा गरियो । यीमध्ये १५० व्यक्तिमाथि प्रहरी अधिकारीमाथि हमला गर्ने आरोप छ र ५० भन्दा बढी व्यक्तिमाथि षड्यन्त्र रचेको आरोप लगाइएको छ ।

अमेरिकाको न्याय विभागको इतिहासमा यो सबैभन्दा ठूलो जाँचमध्ये एक मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप