बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दा प्रकरण : बोल्यो सिमेन्ट उत्पादक संघ, ७ बुँदे धारणा सार्वजनिक

आइतबार, १६ माघ २०७८, २० : ५३
आइतबार, १६ माघ २०७८

नेपाल सिमेन्ट उत्पादक संघ एक अर्ब २४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार मुद्धा लागेका ९ सिमेन्ट उद्योगीको पक्षमा उभिएको छ । संघले ७ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै उद्योगीले तोकिएभन्दा बढी चुनढुंगा खानी उत्खनन् नगरेको उल्लेख गरेको हो ।

संघले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘उद्योगीले वार्षिक तोकिएभन्दा बढी चुनढुंगा उत्खनन् गरेपनि कुल तोकिएको समयमा तोकिएभन्दा बढी उत्खनन् गरेका छैनन् ।’ यद्यपि, वार्षिक तोकिए क्षमताभन्दा बढी उत्खनन् गरेपनि त्यसबापतको रोयल्टी तिरेको संघको भनाई छ ।

यस्तै, एक महिना उत्खनन् गरेको चुनढुंगाको रोयल्टी अर्को महिनाको ७ गते भित्रै बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेको संघले जनाएको छ । यसका साथै, स्थानीय तहमा बुझाउनुपर्ने शूल्क समेत बुझाइसकेको संघले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

वि.स. २०७२ सालको विनाशकारी महाभूकम्प तथा नाकाबन्दीको समयमा पुननिर्माण तथा अन्य विकास निर्माणका काममा गति दिन सरकारले नै बढी उत्पादन गर्न प्रोत्साहन गरेको उद्योगीको भनाई छ । ‘भूकम्प र नाकाबन्दीको समयमा पुनर्निर्माण तथा विकास निर्माणका काममा गति दिन थप सिमेन्टको आवश्यकता रहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाटसमेत पटक–पटक बोलाई यथासक्दो बढी उत्पादन गर्न अनुरोध भएको थियो’, संघले उल्लेख गरेको छ ।

उद्योगीहरुले खानी तथा भू–गर्भ विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच थप जरिवाना लगाउने सम्वन्धमा भएको आन्तरिक छलफलको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको र संलग्नसमेत नगराइएको संघले स्पष्ट पारेको छ । यस्तो अवस्थामा बढी उत्पादनलाई क्षति भएको भन्न सकिने व्यवस्था नै नरहेको अवस्थामा अख्तियारबाट उद्योगीहरुलाई दोषी ठहराई भष्ट्राचार मुद्दा दायर गर्नु कानुनसम्मत न्यायोचित नभएको संघको जिकिर छ । 

देशमा हाल करिब ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा छन् । तीमध्ये क्लिङ्करमा आधारित २१ वटा उद्योग छन् । यी सबै उद्योगहरुमा कुल करिब २ खर्ब रुपैयाँ स्वदेशी लगानी रहेको छ । सिमेन्ट उद्योग र यससँग सम्बन्धित रहेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाखले रोजगारीसमेत प्राप्त गरिरहेका छन् ।

हाल स्वदेशमा स्थापित सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता २ करोड ५० टन रहेको र कोभिड महामारीका कारण उद्योगहरुले आफ्नो उत्पादन क्षमताको करिब ३० प्रतिशतको हाराहारीमा मात्र उत्पादन गरिरहेको संघले जानकारी गराएको छ । वार्षिक २ खर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्नसमेत स्वदेशी उद्योगहरु सक्षम रहेका संघले जनाएको छ ।

यस्तो छ संघको धारणा :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप