शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मल निवासप्रति आक्रोश पोख्दै कमल थापाले फेरि लेखे पार्टी अध्यक्षलाई पत्र

आइतबार, १६ माघ २०७८, १८ : १७
आइतबार, १६ माघ २०७८

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी नेतृत्वले आफुलाई योजनावद्ध रूपमा अलग्याएको आरोप लगाएका छन् । थापाले महाधिवेशनपछि पार्टीका कुनैपनि कार्यक्रममा आफुलाई संलग्न नगराएको र पार्टीका गतिविधिबारे कुनै सूचना नदिएको बताउँदै नेतृत्वले अलग्याएको आरोप लगाएका हुन् । आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पुनः​ ध्यानाकर्षणपत्र लेख्दै नेता थापाले आफुले २०७८ मंसिर २७ गते लेखेको पत्रलाई नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको बताएका छन् । 

थापाले ध्यानाकर्षण पत्रमा पूर्वराजा ज्ञानेन्द्रप्रति पनि आक्रोश पोखेका छन् । राप्रपालाई निर्मल निवासले खेलाउन खोजेको आरोप लगाउँदै भनेका छन् : ‘राप्रपा निर्मल निवासले खोलेको पार्टी होइन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविर्सौँ राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यही रूपमा कायम राख्नुपर्छ ।’

उनले पूर्व अध्यक्षहरुले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास स्खलित हुन नहुनेमा समेत जोड दिएका छन् । थापाले यसअघि मंसिर २७ गते पनि पार्टी अध्यक्षलाई पत्र लेखेका थिए ।

यस्तो छ थापाले अध्यक्ष लिङ्देनलाई लेखेको पत्र 

श्रीमान् अध्यक्षज्यु
राष्ट्रिय प्रजातन्त्र पार्टी 
केन्द्रिय कार्यसमिति, काठमाण्डौ
 
विषय : ध्यानाकर्षण वारे

 
मैले तपाईंलाई मिति २०७८ मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै यो ध्यानाकर्षण पत्र प्रेषित गरेको छु ।  मंसिर २७ को उक्त पत्रमा मैले पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना बगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छू भनि उल्लेख गरेको थिएँ । उक्त धारणा प्रति म अहिले पनि प्रतिवद्ध छु । 

पार्टीको ऐतिहासिक एकता महाधिवेशन पछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो, तर अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ ।  पार्टीको वृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ । महाधिवेशन पछि पार्टीका कुनैपनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन, पार्टीका कार्यक्रम र गतिविधि वारे मलाई कुनै सूचना र जानकारी समेत दिईएको छैन । योजनावद्ध रूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु ।

यसबीच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरित केन्द्रिय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीय तहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य वारे थप चिन्ता बढेर गएको छ । 
पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्विकार गर्नु तथा पार्टीलाई भजन मण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होईन । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्त रूपमा प्रस्तुत हुन त्यो अनिवार्य शर्त हो । राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाति खोलेर भन्न हिचकिच्याउनु हुँदैन । राजसंस्था प्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो । राजसंस्था पार्टी राजनीति भन्दा माथी सबैको साझा भएर रहन सक्नुपर्छ । 

राप्रपा निर्मल निवासले खोलेको पार्टी होईन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविर्सौँ राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यही रूपमा कायम राख्नुपर्छ । पुर्व अध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपती शमसेर राणा र कमल थापाले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास तपाईंको पालामा स्खलित नहोस् भन्ने म चाहन्छु ।
 
तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भैसक्नुभयो । मैले निर्वाचन परिणामलाई चुनौति दिएको छैन । आउँदो पाँच वर्ष तपाईंले नै पार्टीलाई हाँक्ने हो । सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो ।
 
त्यसर्थ, मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।  धन्यवाद
 
 कमल थापा
निवर्तमान अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप