शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?

आइतबार, १६ माघ २०७८, १६ : ४३
आइतबार, १६ माघ २०७८

काठमाडौं । सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचन आगामी जेठमा गराउन राजनीतिक सहमति भएको छ । यद्यपि निर्वाचनका सन्दर्भमा देखिएको कानुनी जटिलता अन्त्य गरेर निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी सरकारको हो । यसबारे सरकारले आवश्यक छलफल गरिरहेको छ ।

स्थानीय तह अन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको निर्वाचनको तयारी भइरहेको हो । यीमध्ये पनि ६ महानगरपालिकामा स्वाभाविक रुपमा धेरैको चासो देखिन्छ । किनकि, जनसंख्याको हिसाबले यी ६ महागरपालिकामा २५ लाखभन्दा बढी नागरिकको बसोबास छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ६ महानगरमध्ये दुई महानगरमा नेपाली काँग्रेस, दुई महानगरमा नेकपा एमाले, एक महानगरपालिकामा नेकपा माओवादी केन्द्र र एक महानगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमले महानगर प्रमुखमा जित हासिल गरेको थियो ।

यस्तै, पाँच उपमहानगरपालिकामा नेपाली काँग्रेसले उपप्रमुख पदमा जित हासिल गरेको थियो । एउटा उपमहानगरपालिकामा भने एमालेले उपप्रमुख पदमा जित हासिल गरेको थियो ।

यद्यपि, २०७४ सालको तुलनामा अहिले राजनीतिक दलहरूको अवस्था र समीकरण केही फेरिएको अवस्था छ । यसबीचमा नेकपा एमाले विभाजन भइसकेको छ । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर यसबीचमा जसपा नेपाल गठन भए पनि हाल जसपा नेपालसमेत विभाजित भएर जसपा नेपाल र लोसपा नेपाल बनेका छन् ।

२०७४ मा कुन महानगरमा कसको अवस्था कस्तो ?

ललितपुर महानगरपालिका

हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार ललितपुर महानगरपालिकामा २ लाख ९९ हजार ८४३ जनसंख्या छ । २०७४ को स्थानीय तहको निर्वाचनमा यो महानगरमा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसले जित हासिल गरेको हो ।

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका चिरीबाबु महर्जन २४ हजार ६४२ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३१६ मत ल्याएका थिए ।

यस्तै, स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याए ।

उपप्रमुखतर्फ काँग्रेसकै गिता सत्याल १९ हजार ८१९ ले मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी शोभा शाक्य (स्वतन्त्र) ले १४ हजार २४० मत ल्याएकी थिइन् भने नेकपा माओवादी केन्द्रका हसिना शाक्यले १२ हजार ९७९, राप्रपाका बाबुकाजी प्रधानले १० हजार ५४०, नयाँ शक्ति पार्टीका सजनी महर्जनले एक हजार ३८० मत हासिल गरेका थिए ।

पोखरा महानगरपालिका

हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार पोखरा महानगरपालिकामा ५ लाख १८ हजार ४५२ जनसंख्या छ । २०७४ सालको निर्वाचनमा यो महानगरमा प्रमुख र उपप्रमुख दुवै पद एमालेले जितेको हो ।

पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका मानबहादुर जीसी ६० हजार ११८ ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६, संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङ तीन हजार १७० र राप्रपाका गीता गुरुङले २ हजार २७२ मत हासिल गरे ।

उपप्रमुखतर्फ नेकपा एमालेकै मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ ल्याएर विजयी हुँदा काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ ल्याइन् भने नेकपा माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७९६, राप्रपाका रमेश बहादुर खत्रीले २ हजार ८४०, स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले दुई हजार १९९, संघीय समाजवादी फोरमकी लक्ष्मी परियारले एक हजार ३०३ मत हासिल गरिन् ।

काठमाडौं महानगरपालिका

हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार काठमाडौं महानगरपालिकामा ८ लाख ४५ हजार ७६७ जनसंख्या छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यो महानगरको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली काँग्रेसले जित हासिल गरेको हो ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर विजयी हुँदा काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९, विवेकशील नेपालीकी रञ्जु न्यौपानेले २३ हजार ४३९, स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६, नेकपा माओवादी केन्द्रका सर्वोत्तम दास डंगोलले ७ हजार ९०६ र नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत हासिल गरेका थिए ।

उपप्रमुखमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत हासिल गरेका थिए । राप्रपा र एमालेबीच तालमेल भएका कारण यो महानगरपालिकामा राप्रपाले मेयरमा र एमालेले उपमेयरमा उम्मेदवारी दिएको थिएन ।

यस्तै, काठमाडौं महानगरपालिकाकै उपप्रमुखमा स्वतन्त्र उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३, नेकपा माओवादी केन्द्रकी सुशिला कुमारी पौडेलले १० हजार ४४८, नयाँ शक्ति पार्टीका सविना अर्याल दवाडीले ३ हजार ९३ मत हासिल गरेका थिए ।

भरतपुर महानगरपालिका

हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ । यो महानगरमा २०७४ सालको निर्वाचनमा प्रमुख पदमा नेकपा माओवादी केन्द्र र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएका हुन् ।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याए भने राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाए ।

उपप्रमुखमा नेपाली काँग्रेसका पार्वती शाह ठकुरी ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् । भरतपुर महानगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएका कारण यहाँ प्रमुखमा काँग्रेसले र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन ।

यो उपमहानगरमा उपमेयरतर्फ नेकपा एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ र राप्रपाका रिना गुरुङले ७ हजार २५२ मत ल्याइन् ।

वीरगञ्ज महानगरपालिका

हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार वीरगञ्ज महानगरपालिकामा २ लाख ६८ हजार २७३ जनसंख्या बसोबास गर्दछ । २०७४ को निर्वाचनमा यो महानगरको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका  विजयकुमार सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७, राजपा नेपालका राजेशमान सिंहले १२ हजार १६५, नेपाल लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले ८ हजार ७०१, नेकपा एमालेका महम्मद बसरुद्दीन अन्सारीले ८ हजार ६९९ र नेकपा माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३०५ मत हासिल गरेका थिए ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत ल्याएर विजयी हुँदा संघीय समाजवादी फोरमकी पिंकी देवी यादवले १८ हजार ५३०, राजपा नेपालकी रम्भा मिश्रले १० हजार ६६३, नेकपा एमालेकी सोफिया आचार्यले १० हजार ३४१, नेपाल लोकतान्त्रिक फोरमकी रिंकु यादवले ७ हजार ५८६, नेकपा माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ५ हजार २८ मत हासिल गरिन् ।

विराटनगर महानगरपालिका

हालै सार्वजनिक राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार विराटनगर महानगरपालिकामा २ लाख ४४ हजार ७५० जनसंख्या बसोबास गर्दछ । २०७४ सालको निर्वाचनमा यो महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसले जित हासिल गरेको हो ।

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका भिम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए । यस्तै, संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ र राप्रपाका प्रह्लादप्रसाद साह हलुवाइले ५ हजार ५२४ मत हासिल गरेका थिए ।

उपप्रमुखतर्फ नेपाली काँग्रेसकी इन्दिरा कार्कीले २० हजार १४६ मत हासिल गरेर विजयी हुँदा नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४, मधेसी जनअधिकार फोरमकी सुची चौधरीले १० हजार ५३६, राप्रपाकी शोभा श्रेष्ठले ४ हजार १०२ मत हासिल गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप