शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

आइतबार, १६ माघ २०७८, ११ : २७
आइतबार, १६ माघ २०७८

विकास ऋणपत्र मार्फत नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न लागेको हो । 
एक सूचना जारी गर्दै ऋणपत्रका लागि आह्वान गरेको बैंकले ऋणपत्र २०७८ माग १७ गते जारी भएर २०८२ माघ १७ गते परिपक्‍व हुने जनाएको छ । यद्यपि, ऋणपत्रको ब्याज भने लगानीकर्ताहरूले छ÷छ महिना अर्थात् अर्धवार्षिक रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले आइतबार अर्थात् आज दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । 
तथापि, खुल्ला प्रतिस्पर्धाबाट ऋणपत्रमा वितरण गरिने भएपनि कुल ऋणपत्रको १५ प्रतिशत विना प्रतिस्पर्धाका आधारमा वितरण गरिने बैंकले बताएको छ । अर्थात् कुल १० अर्बको विकास ऋणपत्रमा ८ अर्ब ५० करोड खुल्ला प्रतिस्पर्धाबाट र बाँकी १ अर्ब ५० करोड विना प्रतिस्पर्धाबाट वितरण गरिनेछ ।

लगानीकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्रका लागि माग आवेदन दिन सक्नेछन् । ऋणपत्र बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँड गरिने रकमसम्ममा कायम ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप