शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावबारे सहमति जुटाउन सत्ता गठबन्धनको दोस्रो बैठक जारी

शनिबार, १५ माघ २०७८, १६ : ३९
शनिबार, १५ माघ २०७८

स्थानीय निर्वाचनबारे ठोस निर्णय गर्न सत्ता गठबन्धनको दोस्रो बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

बैठकमा नेताहरूबीच सहमति जुटाएर आगामी वैशाख या जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने तयारी भएको बुझिएको छ । यसअघि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनु उपयुक्त हुने बारेमा छलफल भए पनि ठोस सहमति जुटेको थिएन । 

सहमति जुटे स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समय पछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा व्यापक विरोध भएपछि नेताहरू पछि हट्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा पुगेका हुन् । गठबन्धनमा नेपाली काँग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद् लगायतले असहमति जनाएपछि खास गरी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र वैशाख या जेठ महिनाभित्र चुनाव गर्न सकारात्मक भएका हुन् ।

बैठकमा काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी छन् । स्रोतका अनुसार आजको बैठकले स्थानीय तहको मितिका बारेमा टुङ्गो लगाएर सरकारलाई तोक्न सुझाव दिनेछ । त्यसपछि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति टुङ्गो लगाउने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप