शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै महासङ्घको आपत्ति

शनिबार, १५ माघ २०७८, १२ : ५९
शनिबार, १५ माघ २०७८

सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैँडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ ।
 
एकसिङ्गे गैँडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैरकानुनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्माण कम्पनी इन्डो-सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासङ्घले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुर अन्तर्गतको आयोजनाको निर्माण क्षेत्रमा गैँडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुःखद् मृत्युको तथ्यलाई तोडमोड गरिएको महासङ्घका महासचिव रोशन दाहालले बताए । “तथ्य तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानुनविपरीत हुनेगरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख, हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माणमा अहोरात्र खटिएका व्यवसायीको मनोबल गिराउने र निर्माण क्षेत्रलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासङ्घको ठहर छ”, उनले भने ।

निर्माणस्थलमा क्रंक्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकाले नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपाय अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेका अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जग जाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रुपमा आरोपित गरी झुठा लाञ्छना लगाई व्यवसायीलाई मुछेर मानमर्दन गरिएकोप्रति महासङ्घले आपत्ति जनाएको हो । 

घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानका नाममा झुठा लाञ्छना लगाई पक्राउ गर्नेलगायतका काम कारबाही रोक्न महासङ्घले माग गरेको छ । भविष्यमा समेत पूर्वाधार विकास निर्माण हुने क्षेत्रमा प्राकृतिक रूपमा हुने यस्ता घटनामा निर्माण व्यवसायीलाई आरोपित गर्ने कार्य नगर्नसमेत महासङ्घले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ । 

विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको मृत्युबाट महासङ्घसमेत दुःखी भएको विज्ञप्तिमा उल्लेख छ । घटनाको छानविन गर्न वन मन्त्रालयले गठन गरेको छानविन समितिमा महासङ्घका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुनेगरी एक निष्पक्ष एवं स्वतन्त्र छानविन समिति गठन गरी घटनाको विना कुनै पूर्वाग्रह सत्यतथ्य सार्वजनिक गर्न महासङ्घले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप