बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा व्यापारीलाई गोली हान्न सुपारी, आरोपी पक्राउ गर्न प्रहरीले आनाकानी गरेको आरोप

एसपी भन्छन्–‘मेरो एरियामा आरोपी छैनन्’
शनिबार, १५ माघ २०७८, ११ : ०२
शनिबार, १५ माघ २०७८

सर्लाहीमा व्यवसाय गर्ने अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको खुलेको छ । बागमती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा भारतीय सुटरहरूलाई गोली हान्न सुपारी दिएको दाबी गरेर रायमाझीले प्रहरीमा जाहेरी दिएका छन् ।

हरिवन नगरपालिका–११  घर भएका रायमाझीलाई सो बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले गोली हान्ने प्रयास गरेको तर, संयोगले आफू जोगिएको बताएका छन् । ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको अर्जुन रायमाझीले रातोपाटीलाई बताए ।

२०७८ असोज २४ मा भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह, र अरुण कुमार सिंह हरिवन नगरपालिका–११ मा रहेको हरि बहादुर बस्नेतको होटलमा बसेका थिए । होटलमा बसेर निगरानी गरेपछि असोज २५ मा बिहान ५ देखी साढे ७ बजेसम्ममा गोली हान्ने प्रयास गरेको तर, आफू समूहमा चिया खान गएको हुनाले सुटरहरू फर्केको रायमाझीले बताए ।

हरिवन नगरपालिका–९ घर भएका  विश्वराज पोखरेलको आग्रहमा बलरा नगरपालिकामा वडा नम्बर–१ घर भई नरहरगञ्ज प्राविका शिक्षक ५० वर्षीय सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएका थिए । योजना चुहिएपछि रायमाझीले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका छन् । पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार विश्वराज पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

आरोपीहरू खुलेआम घुमिरहेका छन् । तर, सर्लाही प्रहरीले उनीहरूलाई पक्राउ गर्न आनाकानी गरेको पीडित पक्षको छ । सुटरसँगै आएका एकजना युवाको भिडियो बयान अनुसार पोखरेलले २५ लाखमा व्यवसायी रायमाझीको हत्या गर्न सुपारी दिएका थिए । सो मध्ये १५ लाख नेपाली रुपैयाँ र दुईओटा पल्सर मोटरसाइकल अग्रिम दिइसकेको ती युवाले भिडियो बयानमा बताएका छन् । साक्षीहरूको घटना विवरण कागज र सिसिटिभी फुजेटबाट पनि असोज २४ मा रायमाझीको घर आसपासमा आरोपीहरूको आवतजावत देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

प्रारम्भिक अनुसन्धान सकेर अदालतबाट पक्राउ पुर्जी आए पनि प्रहरीले आरोपीहरूलाई पक्रेर अनुसन्धान गर्न चासो नदेखाएको आरोप छ । आरोपीहरूलाई पक्राउ गर्न अनुमति आएको तर, उनीहरू आफ्नो एरियामा नभएको हुनाले पक्राउ गर्न नसकिएको सर्लाहीका एसपी कृष्ण प्रसाईले बताए । रातोपाटीसँग कुरा गर्दै उनले ‘आरोपीहरू काठमाडौँमा छन्, भन्ने सूचनाको आधारमा काठमाडौँ, भक्तपुर र ललितपुरमा पत्राचार गरेको छु ।’

एसपी प्रसाईले आरोपी आफ्नो एरियामा नभएको जिकिर गरेपनि  बागमती नगरपालिकामा कार्यरत लेखापाल विश्वराज पोखरेलले चेक काटिरहेको थाहा भएको छ । घटना शङ्कास्पद भएको तर, चेक काटेको बारेमा आफूलाई थाहा भएको एसपी प्रसाईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप