ad
x
फिचर

साइकल सवारी, काँधमा मीठो खानाको भारी

चौरासी व्यञ्जन पुर्‍याउनेको खान्की सुख्खा चाउचाउ

person explore access_timeमाघ १५, २०७८ chat_bubble_outline0

काठमाडौँको व्यस्त सडकको उकाली ओरालीमा साइकल कुदाइ रहन्छन् उनी । काँधमा बडेमानको झोला हुन्छ । अनि झोलाभित्र चौरासी व्यञ्जनयुक्त खाना । आफूले बोकेको खानाको बास्ना आउँदा, ‘पैसा भएको भए म पनि त यस्तै खान्थेँ नि’ भन्ने लाग्छ उनलाई । तर मजबुरीको नाम महात्मा गान्धी भनेझैँ, आज खाए, भोलिका लागि जोहो हुँदैन भन्ने सोच्छन् र रोकिन्छन् । अरूको अर्डरको खानाले आफ्नो झोला भरिरहँदा कहिलेकाहीँ उनको पेट भोको हुन्छ । ‘ग्राहकलाई कहिले खाना पुर्‍याऊँ र खाजा खान जाऔँ’ भन्ने सधैँको हतारो हुन्छ उनलाई । त्यसैले छिटोछिटो साइकलको पेडल मार्छन् र गन्तव्यमा अर्डरको खाना पुर्‍याउने यात्रामा निस्कन्छन् । 


मोटरसाइकलमा खाना बोकेर घर–घर पुर्‍याउनेहरू आजकाल सडकमा राम्रै सङ्ख्यामा देखिने गर्छन् । त्यही हुलमा साइकलमा पनि खाना पुर्‍याउनेहरू एकाध हुन्छन्, त्यही मध्ये एक युवकलाई कार्यालयबाट घर फर्किने बेला मैले सानेपामा देखेँ । फुडमान्डु लेखेको कालो झोला बोकेर उनी साइकलको पेडल चलाउँदै अघि बढिरहेका थिए । स्कुटरको हर्न लगातार बजाएर उनको ध्यान आफूतर्फ आकर्षित गरेँ र उनीसँग कुरा गर्न चाहेको मनसाय व्यक्त गरेँ ।



 

उनीसँग परिचय गरेँ । उनको नाम पुष्कर भण्डारी रहेछ । उनले मलाई पातलो खुल्दुली र गाढा शंका भरिएका नजरले हेरे । एकछिनको कुराकानीपश्चात् उनको शंका र खुल्दुली मेटाउँदै भोलिपल्ट भेट्ने निश्चित भयो । ‘अरू कोही साथी छन् भने पनि ल्याउनु है’ भन्दै म उनको फोन नम्बर लिएर छुट्टिएँ । भोलिपल्ट उनीसँगै आए अर्का युवक सुन्दर हुमागाईँ । निकै फुर्तिलो, जोशिलो अनि बोलक्कड । माथिका भावुक बनाउने वाक्य तिनै सुन्दर हुमागाईँका हुन् जसलाई पैसा भएको भए आफूले ब्यागमा बोक्नेजस्तै ठूल्ठूला र चर्चित रेष्टुरेन्टका मीठो मीठो खानेकुरा खान्थेँ भन्ने लाग्छ । तर पैसा अभावमा एउटा सस्तो खाजा घरमा गएर भोक मेट्छन् । यसबारे उनी थप्छन्, ‘मूल्य देख्दा नै यो त नखाऊँ भन्ने हुन्छ । मूल्य असाध्यै चर्को हुन्छ नि हामीजस्तो मान्छेले खाने चिजै होइन नि त्यो त,’ लेग्रो तान्दै उनले भने । ‘पैसा हुनेले पो त खाने हो त्यस्तो । हामी त कहाँ सस्तो पाइन्छ भनेर खोज्दै हिँड्ने हो नि ।’

यता लजालु स्वभावका पुष्कर भण्डारी भन्छन्, ‘चाँडो भोक लाग्छ के । आफूले बोकेको खानाको बास्ना मीठो हुन्छ नि । त्यसैले हो कि, नलागेको भोक पनि जागेर आउँछ ।’

‘भोक लागिरहेको बेलामा खाना छिटो पुर्‍याएर कहिले खाजा खाऊँ भन्ने हुन्छ । तर यही नै निकालेर खान पाए नि हुन्थ्यो जस्तो चाहिँ कहिले पनि लाग्दैन,’ उनले मनको कुरा पोखे । तर एकपटक खानाको स्वाद कस्तो हुन्छ त भनेर खुल्दुली मेटाउन आफूले खाना ल्याउने रेष्टुरेन्टमा बसेर बर्गर भने खाएको उनले स्मरण गरे । 

जति मिहिनेत, त्यति नै कमाई

यी दुई युवाको काम बिहान ११ बजेदेखि सुरु हुन्छ र बेलुका ८ बजे सकिन्छ । कति हुन्छ त कमाई ? प्रश्नको जवाफमा सुन्दरले भने, ‘ मिहिनेत जति गर्‍यो, त्यति नै कमाई हुन्छ । आफ्नो मिहिनेतमा भर पर्छ ।’ 

यी दुबैले खानाको अर्डरको आधारमा मासिक १८ देखि २० हजार तलब थाप्ने गर्छन् । उनीहरूलाई कम्पनीले न्यूनतम तलब १५ हजार दिन्छ । प्रत्येक अर्डरको १५ रुपैयाँ आउँछ, थप पाँच रुपैयाँ फोन गर्नका लागि र १० रुपैयाँ साइकल बनाउन भनी ३० रुपैयाँ आउँछ । उनीहरूले  कहिलेकाहीँ टिप्स पनि पाउँछन् । यसले चिया खर्च टर्छ ।  

‘चाँडो भोक लाग्छ के । आफूले बोकेको खानाको बास्ना मीठो हुन्छ नि । त्यसैले हो कि, नलागेको भोक पनि जागेर आउँछ ।’ लजालु स्वभावका पुष्कर भण्डारी भन्छन्, ‘भोक लागिरहेको बेलामा खाना छिटो पुर्‍याएर कहिले खाजा खाऊँ भन्ने हुन्छ । तर यही नै निकालेर खान पाए नि हुन्थ्यो जस्तो चाहिँ कहिले पनि लाग्दैन ।’ 

तर कहिलेकाहीँ दुई तीन घण्टा नै खाली बस्नु पर्दा भने पुष्करलाई दुःख लाग्छ । ‘थोरै अर्डर आउँदा कस्तो थोरै भएको होला, मलाई किन नहालिदिएको होला भन्ने हुन्छ । ६, ७ वटा अर्डरभन्दा माथि पुगेपछि भने मलाई निकै रमाइलो लाग्छ ।’ उनले एकदिनमा १० वटासम्म अर्डर पुर्याएको स्मरण गर्दा उनको ओठमा आनन्दी हाँसो छल्किएको थियो । 

यता सुन्दर पनि धेरै काम गर्न पाएको दिन मख्ख पर्छन् । धेरै पैसा जो आउँछ । उनले चाहिँ सबैभन्दा धेरै आठ वटासम्म अर्डर पुर्याएका छन् । कहिलेकाहीँ ती अर्डर चार वटामै सीमित हुन्छ । साधारणतया उनले पनि ६–७ अर्डर नै पुर्‍याउने हो । 

हुन त सुन्दरको काम ८ बजेसम्म हो तर साढे सात बजेदेखि अर्डर आउन छोड्छ, त्यसपछि उनी घरतिर लाग्छन् । तर घर हिँडेपछि पनि उनी छिनछिनमा मोबाइल हेर्छन् ‘कतै अर्डर आइहाल्यो कि ? आयो भने त जान पाइयो नि त ।’ पौने ८ बजेपछि भने उनी अर्डर आउँदैन भन्नेमा ढुक्क हुन्छन् । अनि, डेराको गन्तव्य धापाखेलतिर साइकल मोड्छन् । 

पुष्करको स्थायी घर सिन्धुपाल्चोक हो । उनी मामासँग सुन्धारामा बस्छन् । उनी घर फर्किँदा बेलुका ८ देखि साढे ८ बज्छ ।

कहिलेकाहीँ चाउचाउ खाएर सुत्छु

दिनभरी आफ्नो झोलामा नाम चलेका रेष्टुरेन्टको मःम, चाउमिन, बर्गर, पिज्जा, मिठाईलगायतका परिकार बोकेर हिँड्ने पुष्कर बेलुका घर फर्किँदा मामा नभएका बेला चाउचाउ खाएर सुत्छन् । मामा भएका बेला खाना पाकेको हुन्छ, त्यही दुई गाँस टिप्छन् र सुत्छन् । साइकल तान्दा यति थकाई लागेको हुन्छ कि उनले निद्रालाई निम्तो दिनै पर्दैन, आँखा आफ्सेआफ लोलाउँछ । 

हेडौँडाका स्थायी बासिन्दा सुन्दर भने धापाखेलमा आफ्ना हजुरआमा, आमा–बुवा, दाइ र दिदीसँगै बस्छन् । त्यसैले उनको बेलुकाको खाना सुखकै मानो हुन्छ । 

पुष्कर पनि साइकलबाटै बाइक किन्ने सोचमा छन् । तर उनलाई साइकलबाट भन्दा बाइकबाट धेरै कमाउँछु भन्ने सोच छैन । उनी भन्छन्, ‘त्यसमा पनि पेट्रोल हाल्नुपर्छ, पैसा त जान्छ नि । साइकल चलाउँदा दुःख छ । उकालोमा साह्रै गाह्रो हुन्छ । नत्र भने त राम्रो पनि त छ नि, एक्सरसाइज पनि हुन्छ । खुट्टा अझ दरो हुन्छ ।’

साइकल ठेलेपछि जाडो  छु मन्तर

सुन्दर र पुष्कर दुवैको साइकल साढे १२ हजारको हो । यी दुवै यसअघि मार्केटिङमा काम गर्थे, त्यहीँबाट जोगाएको अलिअलि पैसा र घरको सहयोगमा उनीहरूले हालका सारथि किनेका हुन् । सुरु सुरुमा काम गर्दा तिघ्रा साह्रै नै दुखेको पुष्करलाई सम्झना छ । उता सुन्दर भने साइकल ठेल्दा जाडो नहुने बरु पसिना आउने र गर्मी हुने बताउँछन् । 

तर सुन्दरलाई यो काम रमाइलो पनि लाग्छ । उनी भन्छन्, ‘आफूले नदेखेको ठाउँ जान पाइन्छ । दुःख कहाँ हुनु, साइकल चलाउने हो । रमाइलो छ, हिँडेको जस्तो पनि भयो, डुलेको जस्तो पनि भयो अनि काम गरेको जस्तो पनि भयो । कहिलेकाहीँ टिप्सको आशाले हिँडिन्छ ।’

साइकलः रहर कि बाध्यता ?

पुष्करले साइकल रहर र बाध्यता दुवै भएको बताए । उनको विवशता बोल्यो, ‘साइकल मेरो रहर पनि हो र बाध्यता पनि । रहर पैसा कमाउने हो र बाध्यता चाहिँ साइकलभन्दा त बाइक नै राम्रो नि । बाइक सरर आफैँ गुड्छ, पेडल चलाउनु पर्दैन ।’ तर बाइक किन्ने पैसा छैन उनीसँग ।

सुन्दरको भने कहानी भिन्न छ । उनले सुरुमा मोटरसाइकलमै काम गर्ने सोच राखेका थिए तर बिडम्बना के भइदियो भने उनको लाइसेन्स आएन । उनले भने, ‘ट्रायलमा पास नै हुन नसकेपछि दिक्क लाग्यो, यस्तै रहेछ भन्ने लाग्यो । साइकलबाट सुरु गर्ने अनि बिस्तारै बाइक किन्ने भन्ने लागेको छ ।’

पुष्कर पनि साइकलबाटै बाइक किन्ने सोचमा छन् । तर उनलाई साइकलबाट भन्दा बाइकबाट धेरै कमाउँछु भन्ने सोच छैन । उनी भन्छन्, ‘त्यसमा पनि पेट्रोल हाल्नुपर्छ, पैसा त जान्छ नि । साइकल चलाउँदा दुःख छ । उकालोमा साह्रै गाह्रो हुन्छ । नत्र भने त राम्रो पनि त छ नि, एक्सरसाइज पनि हुन्छ । खुट्टा अझ दरो हुन्छ । ’

बाहिरी संसार बुझ्ने रुचि

गाउँमा सुन्दरका आमाबुवाको गाई फार्म छ । तर उनलाई त्यो पेशाले आकर्षित गरेन । किन त ? उनले भने, ‘पहिलेदेखि नै त्यही कुरामा झुण्डिएर, अहिले हामीले पनि त्यहि गर्यौँ भने, उँभो लाग्ने बाटो भएन नि त । आमाबुवाले पनि गाईवस्तु पाल्नुभयो, हामीले पनि त्यही पाल्ने र हाम्रा छोराछोरीले पनि त्यही पाल्ने हो भने त्यो दिनचर्याबाट बाहिर निस्कन पाइएन नि त । ’

आफू बाहिरी संसार बुझ्न आमाबुवाले गरेको पेसामा नपसेको बताउँछन् । यहाँ पनि आफूले केही गर्न सक्ने कुरामा आशावादी छन् उनी ।

विदेश जाने सपना

भविष्यका योजनाबारे प्रश्न सोध्दा पुष्करले आफू सङ्गीत सिर्जनामा लाग्न चाहेको बताए भने सुन्दर विदेश जान चाहन्छन् । 

सङ्गीतमा लगाव राख्ने पुष्करले ४५ सय पर्ने एउटा गितार पनि किनेका छन् । मोबाइलमा एउटा एपको सहारामा गितारका केही कर्ड सिकेका छन् । यसैमार्फत् आफ्नै एक दुईवटा ट्यून पनि निकालेका छन् । हुन त उनले युट्युबर हुने सोच पनि बनाएका थिए । कमेडीको एक दुईवटा भिडियो पनि बनाए तर खासै भ्यूज नहुने भएर जाँगर नै मर्यो । पुष्करका बुवा विदेश छन् तर उनी स्वदेशमै बसेर केही गर्ने सोचमा छन् । 

सुन्दरले सुरुमै ठूलो सपना देख्न नहुने भएकोले यो कामबाट अलिकति आफू उठ्न सकूँ भन्ने सोच राखेका छन् । उनले भने, ‘अलिकति राम्रो गर्न सके नयाँ सोच आइहाल्छन् नि । अहिले थोरै कमाए पनि पछि ठूलो सोचौँला । सपना त परिवर्तन भइरहन्छ ।’

हालक आफ्नो काममा निकै सन्तुष्ट सुन्दरले यहाँबाट केही कमाउने र विदेश जाने सोच बनाएका छन् । नेपालमै केही गर्ने सोच छैन भन्ने प्रश्नमा उनले भने, ‘नेपालमा बसेर प्रगति गर्न गाह्रो छ । कि दुई नम्बरी गर्नुपर्यो, कि त नेता बन्नुपर्यो । ’

उनको अन्तिम वाक्यको ध्वनि धेरै बेरसम्म मेरो मस्तिष्कमा गुञ्जिरह्यो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।