‘गुरु’ बनेर आएको कोरोना र यसले सिकाएका पाठहरू

person explore access_timeमाघ १५, २०७८ chat_bubble_outline0

कोराना कहरको कठिन कालरात्रिमा हर क्षेत्रको स्थिति प्रायः नकारात्मक बन्यो । जताततै नकार तत्वको बाढी आयो । हरेक काला बादलमा चाँदीको सुन्दर घेरा हुन्छ भनेझैँ यस कालमा केही सकार विम्बका अत्यन्त आल्हादकारी दृश्यहरू पनि उम्रिए, देखिए, जताततै फिँजिए । ज्ञानीजनले भनेको कुरा ठिकै रहेछ । हरेक विपतले मानव सुमदायमा ध्वंसमात्र गराउँदैन, त्यसले सृजनका फूल पनि फुलाउँछ । विपत्तिले विनाशको बाढीमात्र चलाउँदैन, उन्नयन र विकासको नयाँ क्षितिजपनि उघार्दछ । बेलाबेलामा अनेकन महामारीका दुर्भिक्ष कष्टहरू खप्तै, मृत्युका ताण्डव आक्रमणबाटै बँच्तै मान्छेले समृद्धिको यात्रा ऊध्र्वतलतिरै अगाडि बढाइरहेको छ । आविष्कार र विकासका, नवप्रवर्तन र रुपान्तरणका स्वर्णिम द्वारहरू खोल्दै हरेक संकटलाई सिँढी बनाउन, त्यसमै टेकेर समाधानको सूत्र पहिल्याउन खप्पिस छ मान्छे ।


सन् २०१९ को आखिरी महिना डिसेम्वरतिर चीनको वुहानमा देखा परेको यो विषाणु आकारमा अत्यन्तै सूक्ष्म छ । जसलाई नाङ्गो आँखाले मूर्त रुपमा त देख्न सकिन्न । अत्यन्त शक्तिशाली अणुविक्षण यन्त्रमा राखेर हेर्दा पनि यसलाई देख्न गाह्रो छ । अपितु यसले विश्वको पौने आठ अरब मान्छेको दिलदिमाग हल्लाउने गरी आतङ्क र त्रासद्रीको पराकम्पन सिर्जना गर्यो । त्यस्तै विभत्स मृत्युको ताण्डव लीला देखाइदियो ।



विश्वका विभिन्न भूभागमा बेलाबेलामा आउने र देखा पर्ने रोग प्लेग, विफर, हैजा, बर्डफ्लू, स्वाइनफ्लू, इबोला लगायतका रोगहरूले विज्ञानको घोडा चढ्न जानेका थिएनन् । त्यसैले यी रोग पृथ्वीको कुनै एक निश्चित भूगोलको कुनामा, कुनै एक समयमा देखा पर्थे, हराउँथे या उन्मूलन हुन्थे । स्वास्थ्य विज्ञानको चमत्कारले केही समयको अन्तरालमै यस्ता रोगलाई नियन्त्रणमा लिइन्थ्यो । तर, कोरोनाले भने मानिसले आविष्कार गरेको यन्त्र, उपकरण र प्रविधिकै लगाम समातेर विश्वभरि तहल्का मच्चाइदियो । अर्थात् सर्वप्रथम चीनको वुहानमा देखा परेको यो सूक्ष्मकीट मानव निर्मित विमान चढेरै देश देशावर घुम्यो । रेल, मोटर र पानीजहाज चढेरै संसारभरि फिँजियो, त्यही पनि केही महिनाको अन्तरालभित्र । अनि त मान्छे कहालियो । उडिरहेका विमान उड्न निषेधित गरियो । गुडिरहेका रेल, मोटर र अन्य दुई पाङ्ग्रे चार पाङग्रे सवारी साधनलाई गुड्न प्रतिबन्ध लायो । तुफानी वेगमा समुद्रमा कुदिरहेका पानीजहाजलाई बन्दरगाहमा थन्क्यायो । मानव आविष्कारकै बुई चढेर संसारभरि फिँजिने र मान्छेकै फोक्सो खाइदिने पापी कोरोनाको चाल–चरित्र बुझेर सम्पर्क विच्छेदनको नीति अपनायो मान्छेले । महिनौँ महिना गाडी ग्यारेज र पार्किङस्थलमा थन्किए । हेलिकप्टर हवाईजहाज विमान स्थल र धावनमार्गमै रोकिए । गुड्दा गुड्दैका रेल स्टेशनमै रोकिए । तिनका कलपूर्जामा खिया उठ्यो । चक्का कामै नलाग्ने गरी पङ्चर भए । आवागमनको बन्दाबन्दीले अरबौँ खरबौँ रुपियाँको आर्थिक क्षति भयो । 



मानिसले बरु क्षति व्यहोर्यो । तर, कोरोनालाई विज्ञानको रथ–सवार हुनबाट रोक लगायो । छिटै नै यसलाई निष्क्रिय पार्ने सूई र औषधि झिक्यो मान्छेले र अहिले यो मानव नियन्त्रणको घेराभित्र साँघुरिदै छ । पूरा उन्मूलन भने भएको छैन । यो कीटको शक्तिलाई त्यसै नजरअन्दाज गर्न पनि सकिएको छैन । यसले समय क्रममा आफ्नो रुप र कलेवर फेर्दै पुनः मानव जातिलाई ध्वंश पार्ने स्वभाव परित्याग गरेको छैन । त्यसैले त यसका भेरियन्ट र वेभहरू अद्यापि जारी छन् विश्वमा ।

मान्छे त्यति सजिलै के हार्थ्र्याे ? यसलाई निस्तेज गर्न र यसका दुष्परिणामहरूलाई घटाउन नयाँ नयाँ तौरतरिका झिकिरहेको छ । कोरोनाले आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक क्षेत्रमा पुर्याएको क्षति कहालीलाग्दो छ । विश्वका मै हुँ भन्ने देशका अर्थतन्त्र थला परेका छन् । यसले जीवनका सबै क्षेत्रलाई अस्तव्यस्त पार्यो । धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि एक खालको संकुचन ल्याइदियो । मान्छेका पेसा व्यवसायलाई चौपट पारिदियो । आर्थिक गतिविधिको रोकावट र बन्दाबन्दीले जीवनको मेरुदण्डलाई नै लल्याक लुलुक पारिदियो । 

सकारात्मक प्रभाव

     यहाँ म अब कोरोनाले जनजीवनमा ल्याएको सकारात्मक प्रभावको चर्चा गर्दैछु । म यतिखेर मानव बुद्धिको चमत्कारलाई हेरर मखलेल छु । संकट र विपत्तिसित हाकाहाकी जुझ्ने उसको अजेय चेतना देखेर त्यसै त्यसै उत्साहित छु । कोरोना महामारीले विध्वंसको शोकधुन मात्र सुनाएन । यसले त नवसृजनका मंगलधून पनि गुन्जित गरेको छ । प्रतिभा प्रस्फूटनका अनन्त तरेली यही कोरोनाकालमा देखा परे । कोरोना कीटको फैलावटलाई रोक्न संसारभरि नै लकडाउन गरियो । संक्रमित, आशंका भएका र संभावित विमारीलाई आइसोलेशनमा राखियो । अर्थात् एकान्त वासमा रहनुपर्ने नियम ल्याइयो । क्वारेन्टाइनका अनेक बस्दोवस्त गरियो । सद्दे सारसौँदो मानिस पनि अन्य व्यक्तिको सम्पर्क र घुलमिलबाट टाढा रहनुपर्ने सन्देश प्रवाह गरियो । यसले गर्दा मानिसहरू आफ्नो स्वास्थ्य रक्षाप्रति सचेत र सावधान बने । सुरक्षाका प्रभावकारी उपाय अप्नाए । आफ्ना पुख्र्यौली रैथाने ज्ञानको खोजी गरे । आफ्ना पुरातन मूल्य भित्रका अनमोल खजाना फेला पारे । आफ्ना संस्कार संस्कृतिभित्र लुकी बसेका सूक्ष्म विज्ञानका लाभकारी पहलूलाई खोतल्न भ्याए ।

यसले पारिवारिक घुलमिल र समूहको चकाचौँध चहलपहलमा झुम्नु रम्नुमा भन्दा आइसोलेशन अर्थात् ऐकान्तिक जीवनतिर मान्छेलाई अभिमुख हुन प्रेरित गर्यो । यसले वहिर्मुखतामा जीवन बिताएको मान्छेलाई अन्तर्मुखी बन्न, आत्मनिरीक्षण गरी आत्मवोधतर्फको यात्रामा थेरै भएपनि अभिमुख हुन बाध्य गरायो । यो कोरोना कहरको एक सकारात्मक उपलब्धि हो ।

उहिले हाम्रा ऋषिमुनिहरू, कवि स्रष्टाहरू परम एकान्तवासमा रहेर सृजनका महागाथा रचेका थिए । संसारमा अनेकन जाग्रत पुरुषहरू एकान्तवासमा रहेरै आफ्नो आत्म–उन्नयन र सम्वोधी हासिल गरेका अनेकौँ दृष्टान्त छन् हामीसित । सिद्धार्थ गौतमले दरबारी चहलपहल र रङ–रमितामा आत्मोन्नतिको कुनै उपाय देखेनन् । निर्जन वनको ऐकान्तिक परिवेशमा छ वर्ष झोक्रिएपछि सम्बोधीको सूत्र फेला पारे । जरथ्रुस्तको जीवन पढ्दा पन्ध्र वर्षको उमेरमा निर्जन पहाडी जंगल उक्लेका उनी पन्ध्र वर्षसम्मै एकान्तवासमा रहेर ज्ञानी बने । अनि त्यो ज्ञान बाँड्न मानव बस्तीमा ओर्लेको घटना कम्ती लोमहर्षकारी छैन ।

पूर्वीय वाङ्मयका एक तत्वदर्शी ज्ञानीपुरुष वेदव्यास, जसले वेदको रचना गरे । अठार पुराण र महाभारतको रचना गरे । उनी त्यो समयका विख्यात कवि लेखक पनि रहेछन्  । उनी त झन् जन्मिने वित्तिकै जस्तो घोर अरण्यको एकान्तवासमा रहेर सृजनका महागाथाहरू रचे । संस्कृत वाङ्मयका यी ग्रन्थहरूको स्थान अति उच्च छ ।

जिससको प्रारम्भिक तीस वर्ष सम्मको जीवनलाई गुमनाम जीवन मानिन्छ । उनको त्यो गुमनाम जीवनको इतिहास खोज अनुसन्धान गर्ने अन्वेषकहरूले लेखेका छन् । उनी अठार वर्षसम्म काश्मिर लद्दाख उडिसामा आएर ऐकान्तिक साधनामा लीन रहे । आत्मसाक्षात्कारको परम चैतन्य हासिल गरेपछि ज्ञान बाँड्न पुनः उनी आफ्नै थलोमा फर्के अरे ।

लाओत्सुले एकान्तवासमै पसेर ताओ दर्शन झिके । वाल्मिकीले एकान्तवासमै रहेर रामायण लेखे । महावीर बाह्र वर्ष एकान्तवासमा रहेर जीनसूत्र रचे । चाहे पतन्जलीको एकान्तवास होस् या पिङ्गलमुनिको, न्यूटनको एकान्तवास होस् या आइन्स्टाइनको । यी सवै एकान्तवासले मानव जातिलाई केही न केही अनमोल खजाना टक्र्याएका छन् ।

अझ सर आइज्याक न्यूटनले गुरुत्व वलको सिद्धान्त पत्ता लगाएको घटना त महामारीको घटनासितै जोडिएको रहेछ । त्यतिखेर बेलायतमा प्लेगको ठूलो महामारी आएछ । गाउँवस्ती सहर सबैतिर प्लेगको संक्रमणले मानिस आकुल व्याकुल बने । सो समयमा न्यूटन कलेज पढ्दैथे । सरकारले सर्वसाधारण जनताको जीवन रक्षाको लागि अहिलेको जस्तै बन्दाबन्दीको घोषणा गर्यो । स्कुल, कलेज र विश्वविद्यालयहरू बन्द भए । न्यूटन गाउँ फर्के । आमाको खेतीघरमा रहन थाले । त्यही एकान्तवासमा रहँदा नै बगैँचामा एक दिन भूइँमा खसेको स्याउको दानाले उनमा एक अजनवी चोट सिर्जना गर्यो । स्याउ भूँइमा किन खस्यो ? यही सवालको जवाफ खोज्दाखोज्दै विज्ञान संसारमा तहल्का मच्चाउने गरी गुरुत्व वलको सिद्धान्त प्रतिपादन गरे ।

सन्देह गर्न सकिन्छ, वेलायतमा प्लेगको महामारी नआएको भए, बन्दाबन्दीको घोषणा गरी स्कुल कलेज बन्द नगरी दिएको भए, न्यूटन महोदय खेतीघरको एकान्तवासमा नगएको भए सायद गुरुत्ववलको सिद्धान्त यति चाँडै पत्ता पो लाग्दैनथ्यो कि ? हुन त हरेक स्रष्टाका, वैज्ञानिक खोजकर्ता र आविष्कारका सिर्जना परम एकान्तवासमा आविष्कृत हुने गर्छन् । समूह र भीडमा सृजन–समाधिको पट्टल कस्न सक्तैन स्रष्टा ।

कोरोना कालको वरदान स्वरुप अनेकन गुमनाम कवि कलाकारहरू आ–आफ्नो सिर्जनामार्फत् अनावृत भएको दृश्य देखियो । अनेकन गजल गोका मिस्रा ए उला, मिस्रा ए सानी, रदिफ, काफिया, मक्ता, मतला र तखुल्लसमा नाम चढाउने अवस्थामा पुगे । अनाम गर्तमा छोपिएको कलाचेत यसरी ब्यूँझियो; एक ७० वर्षे आमा टिकटकमा छमछमी नाचेको पनि देखियो । मानिसको गलामा सुती बसेको गायन फुट्यो । गोडामा लुकी बसेको नर्तन उठ्यो । हृदयमा लुकी बसेको काव्य बुँझ्यो । खाँडो, संगिनी र हाक्पारेका धुनहरू झङ्कृत भई उठे । मान्छेको हृदयको कला र काव्य–चेत यसरी ब्यूँझियो; मानौँ यस अघि उसलाई कला–साधनाका लागि समयको अवकाशै थिएन । 

बन्दाबन्दीको कोठरी–बासमा कविता सृजनको नयाँ धारा उद्भव भयो । नयाँ नयाँ उन्मेषका कविहरू जन्मिए । नूतन स्वर झिक्तै गीतकार, गायकहरू थपिए । गीतका नयाँ सरगमसँगै स्वरका नवीन मूच्र्छनाहरू खुले । वाद्यवादनका अनेकन धुनहरू सुनिए । रङ र रेखासँग नव भावलहरी बोकेर क्यानभासमा पोखिए चित्रकारहरू । हस्तकलाका अनन्त  सीपहरू यही कालमा देखिए । नाटकमा नव–नव नटनटीहरू अभिनय लिएर झुल्किए । क्यारिकेचर र कमेडीका अनेकन कलाहरू छताछुल्ल पोखिए, पन्पिए । नृत्यको थिरकनले मान्छेलाई नर्तकी बनायो । यसरी चौँसठ्ठी कलाको मौसम मधुरिमा जुराइदिने कोरोना कीटलाई धन्यवाद दिनैपर्छ ।

हिजोसम्म हात धुन लटरपटर गर्ने मानिस कोरोनाले गर्दा मिहिन रुपमा मिचिमिची हात धुने भयो । ठीकसित मास्क लाउने भयो । सामाजिक दूरी भौतिक दूरी कायम गरी व्यवहार गर्न सक्ने भयो । निरर्थक र अनावश्यक कुरामा छुईंछुर्इं हिँड्नेहरूको डुल्ने बानी घटौती भयो । बाहिरलाई समय दिने आदत कटौती गर्यो । र, घरलाई परिवारलाई समय दिन थाल्यो ।

शिक्षालयहरूमा कहिले नसोचिएका अनलाइन कक्षा चालू भए । रेडियो सुनेर सिक्ने परिपाटी आयो । टिभी र भिडियोमा देखेर सिक्ने पद्धतिको विकास भयो । दूर शिक्षाका अनेकन द्वारहरू खुले । पढाइ अनलाइन चल्यो । परीक्षा अनलाइन चल्यो । प्रयोग र अन्तरवार्ता अनलाइनमै भयो । प्रविधिको पछौटेपनमा बाँचेको नेपालले पनि गर्दा के हुँदोरहेनछ त ? भन्ने आशावादको झलमल्ल ज्योति देखायो । हुन त यी सबै प्रयोग र प्रविधि सकल जनगणको पहुँच योग्य भएन । अर्थात् भूगोलको सबै भूखण्डमा समान रुपमा सुविधा अवतरण गर्न सकिएको छैन । तापनि यसले एउटा उज्यालो भविष्यलाई रेखाङ्कित गरेको छ ।

शिक्षण सिकाइको हाम्रो जड परम्परालाई कोरोनाले भित्तो चर्मराउने गरी हथौडी होइन, हम्मर बजार्यो । हर समस्याका विकल्पमा सोच्नुपर्ने, विकल्पमा गुन्नुपर्ने, विकल्पको खोजी र तयारी गर्नुपर्ने पाठ पढायो । अबको संसारलाई पुरानो सूत्रले मात्रै धान्न सक्तैन । पुस्तक र पाटीको भरमा उभिएको पढाइ र सिकाइको संसार अव प्रविधि–मैत्री हुनैपर्छ भन्ने भाष्य स्थापित भयो । यो भाष्य धेरै पहिले स्थापित हुनुपर्ने हो । तर, नेपालमा कोरोना–कहरले यो भाष्य स्थापित गरिदिएको छ ।

विजुली बत्ती र इन्टरनेट मार्फत् चल्ने अनलाइन, अफलाइन, भर्चुअल कक्षामात्र होइन, घरबाट सिक्ने, आँगनबाट सिक्ने, खेतखलिहान र कोठेवारीमा पसेर सिक्ने, गाई गुवालीमा बसेर सिक्ने आदि आदि परिपाटीको प्रयोग हुन थाल्यो । ज्ञान भनेको किताब पढेर मात्र होइन, घरायसी कामबाट पनि आर्जन गर्न सकिन्छ भन्ने सत्य स्थापित भयो । जीवन उपयोगी शिक्षा त शिक्षालयमा भन्दा परिवार, घर, भान्साघर, टोल, गाउँ, खेतवारी, बनपाखा, खरवन, गोठ, खोलानाला, जंगलमा पसेर साह्रै मार्मिक तवरले ग्रहण गर्न सकिने रहेछ, व्यवहारमा प्रयोग गर्न जनिने रहेछ भन्ने कुरा जान्यो ।

हिजोसम्म ज्ञानको कुरा गुरु–शिक्षकबाट मात्र सिक्न सकिन्छ भन्ने मान्यता थियो । कोरोना कहरले त्यो मान्यता भत्काइदियो । स्वअध्ययन सिकायो । आमालाई गुरु थापेर भान्सामा पसेर पाककलाको ज्ञान र सीप सिके नानीहरूले । बाजेबजैका लोरी भाकामा, उनीहरूले हाल्ने लोककथा, गाउँखाने कथामा प्रेरणादायी शिक्षामा अनमोल अंशहरू जाने नातिनातिनाले । कोरोनाले बच्चालाई घरपरिवारको जीवनमूल्य सिकायो । श्रमसित जोडिएको व्यवहारिक ज्ञान सिकायो । आफ्नो संस्कृति भित्रको जीवनदायी पक्ष चिनायो । 

      हाम्रो आफ्नै अँगेनामा उम्लेको तातोपानी, आफ्नै कोठेबारीको कागती र बेसार, अदुवा र अलैँचीमा भारीभरकम औषधीय तत्व रहेछ भन्ने चिनायो कोरोनाले । सिमली र घोडताप्रे, असुरो र अम्बकको गुण गरिमा थाहा पायो मानिसले । यसको नियमित सेवन गर्न जान्यो । घाम ताप्नुका फाइदा सिक्यो । गुर्जाेको शक्ति चिन्यो । आफ्ना रैथाने जडीबुटीमा निहित आरोग्य अमृत तत्व चिन्यो । आफ्नै पुर्खाले आविष्कार गरेको उपचार पद्धतिमा विशाल विज्ञान लुकेको तथ्य थाहा पायो । संसारिक भागदौडमा कुदेको मान्छेलाई शान्ति दियो । परम विश्रान्ति दियो । अलिकति ध्यानको तरङ्गले छोयो । अलिकति योग जान्यो । अलिकति प्राणयाम सिक्यो । पूर्वीय दर्शनले सिकाएको जीवनको गुण–गरिमा थाहा पायो ।

यसले विखण्डन विच्छेदमा गएको पारिवारिक संरचनालाई जोड्ने काम गर्यो । परिवारमा आपसी प्रेम, प्रणय र सद्भावको नयाँ भाका सिकायो । बच्चालाई समय दिन कन्जुसी गर्ने मातापिताले नानीहरूलाई पर्याप्त समय दिए । वात्सल्य र स्नेहको आलोकमा बच्चाहरूको खुशीको ग्राफ ह्वातै उकालो चढ्यो । उनीहरूको उत्साह र अभिप्रेरणाले एक उचाइ लियो । लकडाउनले तोडिन लागेका पारिवारिक शृङखलालाई जोड्यो ।

कौसीमा काँक्रो करेला फलाउन जान्यो । । बार्दलीमा बन्दा उमार्न सिक्यो । गमलामा गुलाफ होइन, हरियो खुर्सानी र भण्टा फलाउन सिक्यो । लकडाउनको फुर्सदमा बाँझिएका बारीमा कोदालो चलाउने कला जान्यो । पासै पालुङ्गो फलाउन सिक्यो । बन्दाबन्दीको निस्सास लाग्दो बन्दी जीवन तोड्न करेसामा खोर बारे । टर्की र हाँसका बच्चा हाले । गिरिराज कुखुरा र बट्टाइ पालन गरे । बोका पाले, ब्रोइलर पाले, कडकनाथ पाले ।  मासु र अण्डामा बाहिरिने पैसा घरमै सञ्चिती गरे । बिहान रिमरिम उज्यालो खसेदेखि मध्यरातसम्म पैसाको पछि कुद्ने मनुवाहरू परिवारलाई समय दिन थाले । 

प्रविधिको नाममा एसएमएस पठाउन नजान्ने स्कुल अध्यापकहरू हेर्दाहेर्दै फेसबुक चलाउन जान्ने भए । म्यासेन्जरमार्फत् विद्यार्थीको गु्रप बनाएर पढाउन सक्ने भए । जुम आइडी बनाएर अनलाइन कक्षा हाँक्ने भए । यो सबै कोरोनाको प्रतापले हो भन्ने ठानेको छु । विश्वविद्यालयका एकजना तन्नेरी प्राध्यापकले त फेसबुकमा टिप्पणी गरेका छन्– कोरोनाले बूढा प्राध्यापकहरूलाई थोत्रा नोट र डायरीबाट पावर प्वाइन्ट र पीडीएफमा प्रवेश गरायो । बास्तवमा समयको बाध्यता र आवश्यकताले प्रविधि चलाउन मठ्ठुरामहरू पनि त्यससित अभ्यस्त हुन थाले । वाईफाई नपुगेका घरमा वाइपाई पुग्यो । विजुली नपुगेको ठाउँमा विजुली पुग्यो । के केमा डिजिटल प्रणाली भित्र्याउन सकिन्छ ? त्यसको उपाय र प्रवन्धन गर्यो । डेस्कटप, ल्याप्टप, पाल्मटप ट्याव र एन्ड्रोइड मोवाइलको प्रयोगमा आनको तान फरक आयो ।

बूढोदेखि बच्चासम्म, शिक्षितदेखि अशिक्षितसम्म, पठितदेखि अपठितसम्म, साक्षरदेखि निरक्षरसम्मले भिडियो कल गर्न जाने । भाइवर चलाउन जाने । इन्स्टाग्राम र ह्वाट्सअप चलाउन जाने । 

घरबाटै विजुलीको बिल तिर्न सक्यो । घरमै बसी बसी वैंकको ब्याज हाल्न र साहुको उधारो तिर्न जान्यो । च्याट बक्समा संवाद गर्न सिक्यो । टिकटक बनाउन, फेसवुकमा लाइक, कमेन्ट, शेयरिङ र आफ्ना सामाग्री फोटो पोष्ट गर्न जान्यो ।

कोरोना प्रकोपको मुकविला गर्न राष्ट्र राष्ट्रले लकडाउन गरेपछि यसको सबैभन्दा ठूलो असर स्वास्थ्य र आर्थिक क्षेत्रमा परेको कुरा सर्वविदित छ । तर, सुखद पक्ष यो छ कि बन्दाबन्दीको कारण आकाश स्वच्छ भयो । धर्ती स्वच्छ भयो । चराहरू निर्वन्ध रुपमा आकाशमा उडे । कहिले नदेखिएका चराहरू देखिए । जन्तु जनावर निर्वाध र स्वच्छन्द रुपमा जल, जमिन र सडकमा विहार गर्न थाले ।

वायुमण्डलमा धुवा, धुलो र ध्वनिको अति चर्काे प्रकोप ह्वात्तै घट्यो । यो स्वच्छता, यो पवित्रता आकाशमा यस अघि कहिल्यै देखिएको थिएन ।  प्रकृतिमाथि मानव दुव्र्यवहार असह्य तवरले बढिरहेको छ । प्रकृतिको एक सुललित तारतम्य मानवीय क्रियाकलापले नै भत्काइरहेको छ । कोरोनाकालमा प्रकृतिले शान्तिको सास फेर्यो । यसले आफ्नै लयमा फर्किने चेष्टा गर्यो । यो सबै सजीव संसारको लागि सुखद कुरा हो ।

चेतनाको खेतीपाती गर्ने सचेत स्रष्टाहरूको निम्ति कोरोनाकाल सृजन–साधनाको निम्ति सहकाल बन्यो । सृजनाले नव–नव उन्मेष हासिल ग¥यो । अत्यन्त त्वरित गतिमा स्रष्टाहरू सल्बलाए । विज्ञान र प्रविधिको फेरो समातेर देश देशावरका सर्जकहरू जुम मिटिङमा जुट्ने, रचना वाचन गर्ने, समीक्षा गर्ने, अन्र्तक्रिया र भलाकुसारी गर्ने, सद्भाव दर्साउने काम अभूतपूर्व रुपमा अगाडि बढ्यो । मुलुकभित्र पनि कुना कुनाका स्रष्टासर्जकहरू भर्चुअल माध्यमबाट जोडिए । कोरोनाले स्रष्टालाई देशदेशावरबाट जोडिदियो । कोरोना नआएको भए यति चाँडै स्रष्टाहरू जोडिन बाध्य बन्ने थिएनन् ।

कोरोनाले शक्ति राष्ट्रको पुरानो मानक भत्काइदियो । अर्थात् हतियार र सैन्यवलमा अग्रणी राष्ट्र नै शाक्तिशाली हुन्छ भन्ने भाष्यलाई नकाम बनाइदियो । जुन राष्ट्रले जनस्वास्थ्यको प्रवद्र्धन र रक्षामा आफ्नो व्यवस्थापकीय कौशल देखाउन सक्छ, जसले संकट र महामारीको बीचमा पनि आफ्नो अर्थतन्त्र डाँवाडोल हुन दिएन, जसले जनताको जीउधन रक्षा गर्न सक्यो; त्यही राष्ट्र समृद्ध राष्ट्रको सूचीमा दर्ज भयो ।

कोरोनाले कुन देश कति पानीमा छ, त्यो पनि चिनाइदियो । धन सम्पत्ति र पद प्रतिष्ठाको अहङ्कार गर्नेका खोक्रा अहम्हरू धुलिसात गरिदियो । व्यक्तिको अहम् पनि गिराइदियो । राष्ट्रको अहम् पनि गिराइदियो र सबैलाई यथार्थको धरातलमा उभ्याइदियो । पृथ्वीलाई पचासौँ खेप ध्वस्त गर्न सक्ने आणविक बम बारुद थुपार्ने राष्ट्रहरूले यति सूक्ष्म भाइरस मार्न नसकेको बेहाल अवस्था पनि देखियो । अबको दुनियाँमा आधुनिक बम र वंकर होइन, अस्पताल, औषधि, भेन्टिलेटर, आइसियू बेड महत्वका विषय रहेछन् भन्ने चिनायो । जनस्वास्थ्य रक्षाको दिशातर्फ अभिमुख हुन प्रेरित गर्यो । यो कम्ति ठूलो सकारात्मक उपलब्धि होइन ।

यसरी कोरोनाले पृथ्वीवासीलाई धेरै ठूल्ठूला पाठ सिकायो । धेरै गहिरा गहिरा गृहकार्य दियो । कोरोनाले दिएका गृहकार्य आउने शताब्दीहरूमा पनि हामीलाई काम लाग्नेछ । त्यतिखेर पनि यसको शिक्षा त्यति नै ताजा र जीवन्त रहिरहनेछ ।

कोरोनाले ल्याएको क्षति, पीडा र अवर्णनीय त्रासदी आफ्नो ठाउँमा अवश्य नै कहाली लाग्दो छ । परन्तु मानव जातिको जीवेषणाको इतिहास यतिमै विराम लाग्नेवाला छैन । जति चोटि चिताङ्ग खाएपनि मान्छे धुलो टक्टक्याउँदै उठेर कुद्ने प्राणी हो । हरेक महामारीबाट मान्छेले केही न केही सिक्दै अघि बढेको छ । हरेक संकटमा समाधानका सूत्र पहिल्याउँदै यहाँसम्म आएको छ मानिस ।

कोरोनाले एकतर्फी रुपमा नराम्रो परिणाम मात्र ल्याएन । केही सकारात्मक तरङ्ग पनि ल्यायो । रोग आएको वर्षदिन नभई योसंग लड्ने रामवाण सरहका खोप र इन्जेक्सनको आविष्कार गर्न सक्यो । अहिले विश्व मानुष जगत् धमाधम पाखुरामा खोप ठोकेर सुरक्षित हुने अभियानमा छ । यति तीव्र त्वरित गतिमा सायद कुनै पनि रोगको खोप बनेको थिएन होला । औषधि विज्ञानको क्षेत्रमा यो पनि सानो उपलब्धि होइन ।

कोरोनाका दुष्परिणाम केलाएर हामी कहिल्यै थाकेनाँै । तर, कोरोनाकै कारण मानव सभ्यताका पछिल्लो समय के के नवीन आयाम थपिए, त्यसको लेखाजोखा भएन । त्यसकारण कोरोना–कालमा सिर्जित जीवनका सकारात्मक उपलब्धिको सानो खेस्रा हो यो । महामारीले मृत्युमात्र ल्याउँदैन । यसले जीवनदायिनी नव अङ्कुर पनि थप्ने गर्छ । यहाँ विनासले ध्वंशमात्र गर्दैन । यसले रचनाको नूतन युग पनि खडा गर्छ । सिर्जनाको नवीन सूत्र पनि सिकाउँछ । मेरो साना आँखाले पर्गेल्न नसकेका अझ अरु कति सकारात्मक विम्ब होलान् । टिप्नुस् त तपाईंको आँखामा परेको कोरोनाका थप सकार–विम्ब के के होलान् ? 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।