ad
x

लघुकथा : मेहनत

person explore access_timeमाघ १५, २०७८ chat_bubble_outline0

आज साथीको छोराको बिहेको भोजमा जानु छ । भोज भन्दा पनि सँगै पढेको साथीको छोराको बिहेमा अरु साथीहरुसँग पनि भेट हुन्छ कि भनेर जानै मन लाग्यो । धन्न आफूले काम गर्ने अफिस र भोज खाने पार्टी प्यालेस नजिकै परेछ । नेपाल सरकारले खाजा खान तोकेको समय सिमाभित्र आइ पुग्नुपर्छ । मेरा पाईला छिटो छिटो चल्न थाल्यो । 


घुम्तीमा पुग्दा विपरित दिशाबाट एउटा शानदार रातो कार बेजोडले हुँईकिदै किचिदेला जस्तै गरी नजिकै आयो । अनि आफ्नो गति कम गर्दै चिनेजस्तै गरी हात उठायो । दायाँ बायाँ हेरेँ, म मात्रै छु । मलाई विश्वास भयो, मलाई नै हो। मैले पनि जवाफमा हात त उठाएँ तर कालो सिसाभित्र मानिसको आकृति मात्रै चिनियो तर मान्छे चिनिएन ।



भोजमा पुग्दा बाल्यकालका सबै साथीहरु आइसकेका रहेछन् । सबैजना गफमा मस्त थिए । हरिले राकेशको कुरा निकाल्यो । म पनि उत्सुकतापूर्वक सोधें, “राकेशको खबर के छ आजभोलि ? कता छ, के गर्दै छ ?” 



सबैले मतिर हेरे अनि रमेशले भन्यो, “पाँच मिनेट अघि यहीँ थियो, हतार भयो भनेर दुई मिनेट पनि बसेन । धन्न आयो ।” 



“जे होस्, साथीको प्रगति मान्नै पर्छ । हेर त कति शानदार कार थियो,” गोपालले थप्यो । 



अघिको कार राकेशको रहेछ भन्ने अनुमान लगाउन मलाई कठिन भएन । बसेको ठाउँबाट जुरुक्क उठ्दै रामचन्द्रले भन्यो, “प्रगति गर्न उ जस्तै हुनु पर्यो नि, कम्ती मेहनती छ । सबै ठाउँमा आफै खट्छ । दुईवटा मोबाईल ननस्ट्प हो । लगानी के मा छैन भन न । प्रदेशदेखि संघीय मन्त्री, सचिवदेखि सिडियो सबै आफ्नै बनाइसक्यो ।”



मलाई पनि पहिलो पटक खरिदारमा नाम निकाल्दा सबै जनाले मेहनती भन्थे । जम्माजम्मी जागिर खाएको १६ बर्षमा एक तह बढुवा भई नासु भइएको छ । कोसिस गरेकै हो, के गर्ने दुई पटक शाखा अधिकृतमा लिखितमा नाम निकाले पनि पास हुन सकिएन । 



ज्ञानेश्वर भटराईको सामान्य ज्ञानको पाना पाना घोकियो । महिनाको तलब बुझेको अर्को दिन पुतलीसडक र बागबजारको पुस्तक पसलमा पैसा सकिन्थ्यो । “कामद”देखि “सोपान” सम्म आवधिक योजनादेखि “निजामती सेवाको पन्ध्र बर्षिय गुरुयोजना” सम्म पढेकै हो । भातको सीतादेखि अचारको पित्कोसम्म, पिङ्गपोङ्ग डिप्लोमेसीदेखि पन्चशीलका सिद्धान्तसम्म, ब्ल्याक होलदेखि अणुसम्म घोकेकै हो । मेहनत त मैले पनि गरेकै हो के गर्ने । 



उता भोजमा चर्को स्वरमा गीत बज्दै थियो । तर मेरो मनको भित्री कुनाबाट भने ओमविक्रम विष्टको “म मौनतामा अल्झिरहेको यौटा जीवन” गुन्जिरहेको थियो ।

पोखरा–७, मासबार, कास्की                                                 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।