बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कविता :द्वारिकादेवी

शनिबार, १५ माघ २०७८, ०७ : १९
शनिबार, १५ माघ २०७८

एक दिन एकाबिहानै द्वारिकादेवी ठकुरानी
मेरो घरमा आउनु भयो
हिजो मात्रै स्मृति दिवसमा
श्रद्धाको फूल चढाएको थिएँ
केही गल्ती भयो, कमजोरी रह्यो कि
झसंग भए, कुशलता सोधें
कुरा गर्दै जाँदा
त्यति बेलाको समाज 
महिलाका प्रति अति क्रुर थियो
देउतामा चढाइन्थे देउकी 
सात विहा, नौ बिहा प्रशंसनीय चर्चा हुन्थे
बहुविवाह सामान्य जस्तै थियों
महिलाले पिता र पतिको घरबाहेक
तेस्रो घरमा बस्न पाउँथेन
बसे भने किन बसी प्रश्न उठाइन्थो
मोलतोल हुन्थ्यो 
बस्तुभाउ जस्तै सुक्रीबिक्री हुन्थ्यो
मेलापात र घरधन्दामा सीमित थिए
तर अहिले केही त फेरियो
समय फेरियो, धेरै परिवर्तन भयो 
गहिरिएर हेर्दा
महिलाको अवस्था अहिले पनि दयनीय नै छ
हिंसाका स्वरुप फेरिएका मात्र छन्
घण्टाघर चोकमा दिनदहाडै 
अस्मिता लुटिन्छ
पहरा बसेको घण्टा
नियमित बज्न बाहेक बोल्न सक्दैन
न्याय, अन्याय छुट्याउने 
स्वयम्भुका दुई आँखाले देख्नै छाड्यो
घर–घरमा बुहारी कुटिदै छिन्
सासू वृद्धाश्रम बस्दैछन्
पढेलेखेकाले विद्वता छाँटेर
हिंसा गर्दैछन्
अधिकारका नाममा बलात्कृत हुँदैछन्
कहीं पनि सुरक्षित छैनन्
चाहे निर्मला पन्त हुन् या अस्मिता धामी
चाहे भागरथी भट्ट
इहलीला त्यागेर पनि न्याय खोज्दैछन्
अधिकारका लागि
शान्ता चौधरी, उमा बादीले मात्र लडे पुग्दैन
हरेकले समविकासका लागि बोल्नु पर्छ
चुलोचौका मात्र होइन 
राज्य पनि चलाउन 
तयार हुनु जरुरी छ महिलाले
भनेको सुने मात्र 
न त्यहा द्वारिकादेवी ठकुरानी
न कुनै अन्य महिला 
यो त आममहिलाको बुलन्द स्वर रहेछ
आम महिलाको सजीव शरीर रहेछ
समयको सचित्र वर्णन रहेछ
उतिबेलाको असहज चिरेर
रुढीग्रस्त समाज बीचबाट माथि उठी 
विश्वमा परिचय प्रस्तुत गर्ने
साहासी महिला द्वारिकादेवी
सिङ्गो नारी जातिको गौरवको बिषय हो
निष्ठाको इतिहास पनि हो
जे देखे सत्य देखे 
सत्य सत्य धरोधर्म
घामझै छर्लङ्ग देखे
द्वारिकादेवी ठकुरानी देखे ।
 
परशुराम–१२, डडेल्धुरा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप