शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडा मर्दा पक्राउ पुर्जी जारी गर्नु कानुनविपरीत : निर्माण व्यवसायी महासंघ

शनिबार, १५ माघ २०७८, ०६ : ०८
शनिबार, १५ माघ २०७८

सडक विस्तारको क्रममा खनेको खाल्डोमा परेर एक सिंगे गैँडा मरेको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जले निर्माण व्यवसायीलाई पक्राउ पुर्जी जारी गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ। निर्माण व्यवसायी महासंघ महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेका छन् । 

सडक विस्तारको काम भइरहेको महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको खण्डमा आइतबार खाल्डोमा परेर गैँडा मरेको थियो । सो खण्डको काम गरिरहेको इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध चितवन निकुञ्ज कार्यालयले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएको भए पनि अझै कोही पक्राउ परेका छैनन् ।

सडक विस्तार गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीतका कुनै पनि कामकारबाही नभएको महासंघको विज्ञप्तिमा उल्लेख छ । निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको पनि महासंघले दाबी गरेको छ ।

 

गैँडा मरेको घटना प्राकृतिक भएको विज्ञप्तिमा उल्लेख गर्दै तथ्यहरू तोडमरोड गरेको महासंघको आरोप छ । निर्माणस्थलमा कंक्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको र सम्झौताबमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपायहरू पालना गरेको पनि महासंघले दाबी गरेको छ ।

 

'गैँडाको निधन भएको पाइएको विषयलाई लिएर निर्माण व्यवसायीको तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरीत हुने कुनै पनि कामकारबाही नभएको र निर्माण सम्झौता बमोजिम निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड, उपायहरू सूचना र जानकारी समेतको प्रबन्ध र अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य भइरहेकोमा उक्त गैँडाको निधनको विषयलाई लिएर निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैर कानुनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडी बढाइरहको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ ।  

निर्माण व्यवसायीलाई नियोजित रूपमा सो घटनामा आरोपित गरी झुटा लाञ्छना लगाई व्यवसायीहरूलाई मुछेर मानमर्दन गरिएको कार्य प्रति महासंघको गम्भीर आपत्ती रहेको जनाइएको छ । ‘वन मन्त्रालयले गठन गरेको छानबिन समितिमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुने गरी एक निष्पक्ष एवं स्वतन्त्र छानबिन समिति गठन गरी यस घटनाको बिना कुनै पूर्वाग्रह सत्य-तथ्य सार्वजनिक गर्न महासंघले जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप