
मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैन : कप्तान किरण

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) ले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने बताएका छन् । खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै ३२ वर्षीय कप्तान किरणले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने र यसबाट धेरै सिक्नुपर्ने प्रतिक्रिया दिए ।
‘मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिनुहुँदैन । नतिजा पनि चाहिन्छ । यसबाट हामीले सिक्नुपर्नेछ । हामी तयारी छौं,’ नेपालका सर्वाधिक क्याप जित्ने खेलाडी समेत रहेका किरणले भने । नेपालले भोलि (शनिबार) दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दोस्रो खेल मंगलबार हुनेछ । दुवै खेल झास पौने ५ बजे सुरु हुनेछ ।
यसअघि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलका लागि फरक टोली घोषणा गर्दै ३४ खेलाडी नै अवसर दिएका छन् । उनले दुवै टोलीमा १२ खेलाडीलाई मात्रै मौका दिएका छन् ।
कप्तान किरण भने दुई दिन अघिमात्रै माल्दिभ्सबाट टोलीमा जोडिएका थिए । माल्दिभ्स क्लब माजिया एससीमा आबद्ध किरणले दुई दिनको प्रशिक्षण हेर्दा खेलाडी फिट रहेको र लिग खेलिरहेका कारण पनि खेलाडी शारीरिक र मानसिक रूपमा फिट भएको प्रतिक्रिया दिए ।
‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु । सबैले लिग खेलिरहेका छन् । त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ किरणले भने ।
यस्तै कप्तान किरणले मौरिसस पहिलो अफ्रिकन प्रतिद्वन्द्वी भएको र जितका लागि खेल्ने बताए । ‘इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं । फरक अनुभव हुनेछ । हाम्रो टिम तयार छ । हामी जित्नकै लागि खेल्छौं,’ उनले भने ।
यता, प्रशिक्षक अब्दुल्लाह भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनको स्थान सहायक प्रशिक्षक किरण श्रेष्ठले लिएका थिए ।
उनले मौसिससँग टोली तयारी रहेको र पुराना गल्ती सुधार गर्दै जितका लागि खेल्ने बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ