शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

शुक्रबार, १४ माघ २०७८, १६ : २९
शुक्रबार, १४ माघ २०७८

 नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन् । उनले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताए । 

शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए । प्रतिक्रियावादीहरुले यस्तो भ्रामक खबर फैलाएको उनको भनाइ छ । 

‘६ महिनामा गर्नुपर्ने उपचुनाव पद सकिएको एक वर्ष भइसक्दा समेत गराउन नसक्नु भनेको गठबन्धनभित्र हारको डर नै प्रमुख कारण हो,’ उनले भने । राष्ट्रियसभाको निर्वाचनले पनि सत्तारुढ गठबन्धन एमालेसँग झस्किएको बताउँदै साहले समयमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिए । 

उनले ओलीको सरकारका पालामा सुरु भएका विकास निर्माणका योजनाहरु देउवा सरकारले रोकेर विकास विरोधी काम गरेको टिप्पणीसमेत गरे । 

कार्यक्रममा प्रभु साहसँगै एमाले केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, जिल्ला अध्यक्ष त्रिभुवन साह, उद्वव घिमिरेलगायतले आउँदो निर्वाचनमा गठबन्धनले जति षड्यन्त्र गरे पनि जनताको विश्वास एमालेमाथि नै रहेकाले सबैभन्दा ठुलो दल एमाले नै हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप