बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो र हुस्सुका कारण उदयपुरको जनजीवन कष्टकर, कोरोना सङ्क्रमण पनि बढ्दो

शुक्रबार, १४ माघ २०७८, १५ : ५८
शुक्रबार, १४ माघ २०७८

केही दिन यतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयवासीको जनजीवन कष्टकर बन्दै गएको छ । केही दिनयता बढेको अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका अति गरिब तथा विपन्न समुदायको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

चिसो बढेपछि धेरैजसो ठाउँमा आगो बाल्न थालिएको छ । न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ । केही दिन यतादेखि जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहलसमेत घटेको छ ।

चिसो हुस्सुका कारण जनजीवन प्रभावित भइरहेकै बेला उदयपुरमा कोरोना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार एक हप्ताभित्र मात्र जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।

एक हप्ताअगाडि  जिल्लामा सङ्क्रमितको सङ्ख्या २३७ जना थियो भने बिहीबारसम्ममा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाको आठवटा पालिकामा समुदायस्तरमा नै कोरोना भाइरस सङ्क्रमण वृद्धि हुँदै गइरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताए ।

दैनिक चिसो र हुस्सु बढेपछि जिल्लाको ग्रामीण भेगका जनताको जनजीवन पनि निकै कष्टकर हुँदै गइरहेको बेला कोराना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गइरहेको सरोकारवाला बताउँछन् । चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण यहाँको जनजीवन प्रभावित भइरहेको बेला चिसो र हुस्सुका कारण गाउँलेहरु घरभित्र आगो बालेर न्यानो लुगामा बस्न बाध्य हुने गरेका छन् ।

यस क्षेत्रमा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण गाउँघर सबै अन्धकारमय जस्तै देखिने गरेको बताइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डी गढी नगरपालिकासहित कटारी नगरपालिका र बेलका नगरपालिकाका क्षेत्रका तराईका भू–भागहरुमा चिसो र हुस्सुका कारण एक हप्तायतादेखि जनजीवन नराम्ररी प्रभावित भएको त्यस क्षेत्रका स्थानीयवासी बताउँछन् ।

त्रियुगा नगरपालिका–१ जोगिदहका स्थानीयवासी श्रीकान्त चौधरीले भने, “एक हप्तादेखि अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तुहरु जङ्गल चराउन लान समस्या भइरहेको छ, दिनको १ बजेसम्म चिसोले जनजीवन प्रभावित बनाउने गरेको छ, बेलुकी ५ बजेदेखि नै हुस्सु सुरु हुँदा हिँड्डुल र आवतजावतमा समेत समस्या छ ।”

अस्पतालमा समेत चिसोका बिरामीहरु आउन थालेका छन् । कोभिडका कारण मास्कको प्रयोग र घरबाहिर ननिस्कने बानीले विगतमा जस्तो दम, निमोनिया, पखालाका बिरामीहरुमा केही कमी आएको भएपनि विगत केही दिनयतादेखि चिसोका बिरामी उपचारका लागि अस्पताल आउने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुकाअनुसार चिसो एकदमै बढेको छ । यस्तो अवस्थामा एकदमै सजग हुनुपर्छ । चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, बृद्धबृद्धा, महिला तथा बालबालिकालाई न्यानोमा राख्न आवश्यक छ ।

एकातिर अत्यधिक चिसो बढेर गइरहेको छ भने अर्कातिर कोरोना भाइरस सङ्क्रमण पनि दिनानुदिन तीव्र रुपमा वृद्धि हुँदै गएका कारण अहिले यस क्षेत्रका जनताको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप