शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किसानका खसी ठग्ने नक्कली ‘क्याप्टेन’

सैनिक जवानबाट बर्खास्त भएपछि ठग्ने धन्दा
बिहीबार, १३ माघ २०७८, २२ : १३
बिहीबार, १३ माघ २०७८

कालिकोटका भीमबहादुर बोहरा किसान हुन् । बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबाट कृषिसँग सम्बन्धित सामानहरु राहत दिन लागेको थाहा पाएर काठमाडौं आएका बोहोरालाई मंसिर २ मा एकजना अपरिचित युवकले टेलिफोन गरे । फोनमा ती युवाले भने–‘म सेनाको क्याप्टेन हुँ, तपाई खसीको व्यापार गर्नु हुँदो रहेछ, हामीलाई ब्यारेकमा हिमाली खसी चाहिएको छ तपाईंसँग भेटेर कुरा गर्छु ।’ 

मंसिर ९ गते बोहराले ती युवालाई भृकुटीमण्डपमा भेटे । उनी थिए सोलुखुम्बुको लिखु पिके गाउँपालिका–२ घर भएर अहिले थानकोट बस्ने दिपेश बस्नेत । बस्नेतले सैनिक व्यारेकमा भोजका लागि मंसिर १३ भित्र २५ वटा खसी चाहिएको र तत्काल मगाउन आग्रह गरे । 

सैनिक जस्तै देखिने बस्नेतको कुरा पत्याएर बोहराले कालिकोटबाट खसी मगाइदिए । बाफल चोकमा खसी आइपुगेको खबर गरे । खसीबोका बोक्न प्रयोग गरिने गाडी लिएर बस्नेत खसी लिन गए । खसीको हिसाब भएको थियो, १२ लाख ६७ हजार । बस्नेतले ‘मेरो अफिसको लेखापालको बैंक खाता हो’ भनेर विश्वास तामाङको नामको ६ लाख ८६ हजारको चेक दिए अनि, अरु पैसा एक–दुई दिनमा फोन गरेर लिन आउनु भनेर हतार हतार हिँडे ।  
चेक साटिएन । ‘क्याप्टेन’ बताउने युवा सम्पर्कविहिन भए । त्यसपछि भीमबहादुर उजुरी लिएर महानगरीय अपराध महाशाखामा गए । सैनिक ‘क्याप्टेन’ बताउने दिपेश बस्नेलाई महानगरीय अपराध महाशाखाले कलंकीबाट पक्राउ गरेको छ । उनलाई बालाजु प्रहरीको हिरासतमा राखेर बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

जवानबाट बर्खास्त भएपछि ठग्ने धन्दा
सैनिक ‘क्याप्टेन’ बताउने दिपेश बस्नेत नेपाली सेनाका पूर्व जवान रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सैनिक भर्ना छनौट गर्दा घुस लिएको आरोपमा जंगी अड्डाले उनलाई बर्खास्त गरेको थियो । महाशाखाका एसपी कोइराला भन्छन्–‘सेनाको जागिर गुमाएपछि उनी ठग्ने धन्दामा लागेको देखिन्छ ।’ 

बस्नेतबिरुद्ध अहिलेसम्म २० जना किसानले उजुरी गरेका छन् । बीसजना किसानसँग ६ देखि २५ वटाको दरले खसीबोका ठगेर उनी सम्पर्कविहिन भएका थिए । अहिलेसम्म उनले १०५ वटा खसीबोका ठगेको उजुरी परेको छ । 
किसानहरुलाई उनले दिएको अधिकांश चेक बाउन्स भएका छन् । शुरुमा महानगरीय प्रहरी वृत बानेश्वरको हिरासतमा राखेर मुद्दा चलाइएका बस्नेत त्यहाँबाट धरौटीमा छुटेका हुन् । उनलाई फेरि पक्राउ गरेर महानगरीय प्रहरी वृत बालाजुमा बैंकिङ कसुर मुद्दामा थुनामा राखिएको छ ।  

खसीबोका पाएपछि गफमा भुलाएर उनले कसैलाई आफ्नै र कसैलाई अर्काको नामको चेक दिने गरेका थिए । थोरै रकमको चेक दिएर किसानलाई ‘दुईचार दिनमा पैसा आउँछ’ भनेर उनी उम्किन्थे । 

खोरमै पुग्थे 

दिपेश बस्नेत खसीबोका खोज्न धादिङ र नुवाकोटका बाख्रा पालन केन्द्रसम्म पुग्ने गरेका थिए । धादिङमा खसीबोका पालन गर्ने किसानको फर्ममा गएर उनले ‘व्यारेकमा भोज गर्न खसी चाहिएको छ, पठाइदिनुस् पैसा आउँछ’ भनेर ठग्ने गरेको उनीबारे अनुसन्धान गरेका महाशाखाका डिएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए । 

कलंकीस्थित खसी बजारमा गएर उनले खसीबोका पालन गर्ने किसानहरुको नम्बर लिने गरेका थिए । नम्बर लिएपछि उनी फोन गरेर भन्थे–‘म सेनाको क्याप्टेन हुँ, ब्यारेकमा खसी चाहिएको छ ।’  खसीबोका हात पारेपछि थोरै रकमको चेक दिने र त्यसपछि ‘ब्यारेकबाट निकासा गरेर बाँकी पैसा दिउँला’ भनेर बस्नेत मोवाइल अफ गर्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप