बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–लोसपा चुनावी गठबन्धन : के ओली र महतोको दोस्तीले सार्थकता पाउला ?

बिहीबार, १३ माघ २०७८, १९ : १४
बिहीबार, १३ माघ २०७८

पाँच दलीय गठबन्धनले राष्ट्रिय सभामा राम्रो नतिजा ल्याएको छ । त्यसले गठबन्धनमा रहेका दलहरु उत्साहित भएका छन् । यससँगै आगामी चुनावमा समेत यही गठबन्धनलाई निरन्तरता दिने बहस पनि सुरु भएको छ । तर विपक्षी एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी के गर्ने भन्ने अन्यौलमै छन् ।

यद्यपी राष्ट्रिय सभा चुनावमा एमाले र लोसपाको गठबन्धन बनेको थियो । सो गठबन्धनबाट प्रदेश १ मात्र एकजना जित्न सफल पनि भए । समग्रमा गठबन्धनले उत्साहजनक नतिजा ल्याएन । अब अगामी चुनावमा यही गठबन्धनलाई कायम राख्ने कि नयाँ ढंगबाट अगाडि बढ्ने, यस विषयमा  ती दलहरुमा विचार विमर्श सुरु भएको छ ।

लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका सांसद जितेन्द्र सोनल नेपालको निर्वाचन प्रणाली जुन खालको छ, त्यो हेर्दा चुनावी गठबन्धन अपरिहार्य जस्तो भएको बताउँछन् । तर गठबन्धन कुन दलसँग, कसरी गर्ने त्यसलाई परिस्थितिका आधारमा तय गर्ने उनको जिकिर छ । ‘एमालेसँग एउटा परिस्थितिमा राष्ट्रियसभा चुनावमा गठबन्धन बन्यो । आउने दिनमा कस्तो गठबन्धन बन्छ, त्यो पाँच दलीय सत्ता गठबन्धनमा पनि भर पर्छ,’ उनले भने । चुनावको मिति टुंगो नलागेको परिस्थितिमा अहिलेदेखि नै गठबन्धनका लागि गन्थन गर्नु आवश्यक नरहेको तर एउटा मनस्थिति बनाउन आवश्यक रहेको नेता सोनलको बुझाइ छ ।

उता आगामी चुनावसम्म सत्ता गठबन्धनमा यही अवस्था नरहन सक्छ भन्ने बुझाइ एमाले र लोसपाको रहेको छ । गठबन्धनको विषयमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी जति स्पष्ट छन्, त्यति स्पष्ट काँग्रेस छैन । गठबन्धनको विषयमा काँग्रेस भित्रबाट फरक फरक कुरा आइरहेका छन् । विमलेन्द्र निधि, गगन थापालगायत धेरैले तीनै तहको चुनाव काँग्रेसले एक्लै लड्नुपर्छ भनिरहेका छन् ।

यसरी गठबन्धनका प्रमुख घटक दल काँग्रेसमा फरक फरक कुरा आएको कारण चुनावसम्म पाँच दलको गठबन्धन यसरी कायम रहन्छ भने कुरामा एमाले र लोसपा विश्वस्त छैनन् । जसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका नेता सोनलले भने, ‘चुनावसम्म गठबन्धन यस्तै रहन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।’ त्यसैले फलानैसँग गठबन्धन बन्छ भनी अहिले नै भन्न नसकिने बताउँदै उनले सम्भावना हरेक दलसँग रहेको बताए ।

तर एमालेका मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको धारणा सोनलभन्दा अलि फरक छ । उनले भने, ‘पाँच दलीय गठबन्धन बनिसकेको छ, सायद यो अगामी चुनावसम्मै जान्छ । त्यसैले बाँकी रहेका दलहरुको बीचमा एउटा गठबन्धन बनाउने र त्यसको नेतृत्व एमालेले गर्छ ।’ एमाले र लोसपाबीच गठबन्धन बन्ने लगभग निश्चित नै छ । तर, कुन मोडेलमा, कहाँ कसरी गर्ने छलफल हुन बाँकी छ । त्यसबाहेक राप्रपा र सीके राउत नेतृत्वको जनमत पार्टीसँग पनि गठबन्धन बन्न सक्ने उनले बताए । अध्यक्ष यादवका अनुसार गठबन्धन देशैभरिका लागि बन्छ । तर, जनमतसँग ठाउँ विशेषका आधारमा बन्न सक्छ ।

तराई मधेशमा एमालेको छवि नराम्रो भएपनि लोसपा सो पार्टीप्रति सकारात्मक देखिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारले लोसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले उठाएका केही मुद्दालाई सम्बोधन गरेदेखि सो पार्टी सकारात्मक देखिएको छ । पछिल्लो समय लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले एमाले तथा त्यसका अध्यक्ष ओलीलाई खुलेर प्रशंसा गरिरहेका छन् ।

महतो–ओली कनेक्सन

स्मरण रहोस्, अघिल्लो प्रतिनिधिसभाको चुनावदेखि नै अध्यक्ष ओलीसँग लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको अघोषित गठबन्धन थियो । धनुषामा चुनाव लड्दा अध्यक्ष ओलीले नेता महतोलाई सघाएका थिए । त्यही बेलादेखि नेता महतोले गठबन्धन बनाउने मेहनत गरेका हुन् । लोसपालाई ओली नेतृत्वको सरकारमा सहभागी गराउने प्रस्ताव नेता महतोको नै थियो ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल दुई बुँदे सम्झौता गरेर ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । त्यसबेला सरकारमा सहभागी हुने प्रस्ताव तत्कालीन राजपाको पनि थियो । नेता महतोले अध्यक्ष ओलीसँग सबै कुरा मिलाइसकेका थिए । तर मन्त्रीमा को को जाने कुरामा  छ जना अध्यक्ष मण्डलबीच कुरा नमिलेपछि अन्त्यमा समर्थन मात्रै गरेका थिए । सरकारमा सहभागी गराउन फोरम भन्दा राजपाप्रति ओली सकारात्मक थिए ।

त्यसपछि पनि नेता महतो ओली सरकारमा जाने प्रयास गरेका थिए । पार्टीमा ठाकुरले निर्णय नगर्दा ढिलाइ भइरहेको थियो । उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारबाट बाहिरिएपछि पनि नेता महतोको पक्षबाट सरकारमा सहभागी हुने प्रयास भएको थियो । उता उपेन्द्र यादवले पार्टी एकीकरणको जाल फ्यालेपछि महन्थ ठाकुर र राजेन्द्र महतो त्यसैमा अल्झेका थिए । त्यसपछि आफूहरुको माग पुरा भएपछि मात्र सरकारमा सहभागी हुने महन्थ ठाकुर पक्षका नेताहरुको अडान रह्यो । महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउने उद्देश्यले ओलीले केही माग धमाधम पुरा गरेका थिए ।

पछि समाजवादी पार्टी र राजपाबीच पार्टी एकीकरण भयो । एकीकरणपछि पनि पार्टीमा सरकारमा सहभागी गराउनुपर्छ भनी नेता महतोको प्रयास भयो । त्यसका लागि पार्टीमा विवाद पनि भएको थियो । तर अन्तिम समयमा भएपनि नेता महतोको नेतृत्वमा ओली सरकारमा सहभागी भयो ।  सोही कारण जसपामा विभाजन पनि भयो । अहिले प्रतिपक्ष रहेका एमाले र लोसपा दुवै दलको गठबन्धन बन्ने सम्भावना छ । अहिले अध्यक्ष ओली र नेता महतोको पृष्ठभूमिमा हिन्दी गीत गुन्जिरहेको छ,‘ए दोस्ती, हम कभी न छोडेंगे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप